s

एक हजार आठ सय मजदुर सुरक्षित

अमृत बास्कुने

म्याग्दी । सरकारले ११ चैत देखि गरेको लकडाउनले गर्दा निर्माण तथा आयोजना लगायतका कम्पनीको काम बन्द हुँदा म्याग्दीमा करीब एक हजार आठ सय मजदुर म्याग्दीमै रोकिएका छन् । 

म्याग्दी जिल्ला भित्र रहेका विभिन्न १० वटा आयोजनामा कार्यरत एक हजार ७८४ जना मजदुरहरु रोकिएका हुन् । दुई हजार चार सय ९२ मजदुर ती १० आयोजनामा कार्यरत रहेको भएपनि ७ सय ८ जनाको बस मार्फत उद्धार भएको थियो । उद्धार गरेर घर पठाउन नसकिएका मजदुरहरु सुरक्षित तबरले आफ्नै क्षेत्रमा रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । 

अहिले म्याग्दीमाम सञ्चालनमा रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनामा काम गर्ने तीन सय ५० मध्ये दुई सय ३० घर फर्केका छन् भने बाँकी १२० जना मजदुरहरु करिडोर आयोजनाले नै सुरक्षित तबरले राखेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । त्यस्तै कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमा कार्यरत एक सय ६५ मध्ये एक् सय सकेका छन् भने ६५ जना म्याग्दीमै रहेका छन् । 

त्यस्तै निलगिरी हाइड्रोमा कार्यरत एक सय १३ मध्ये ३५ जना जिल्लामै रहेका छन् । राहुघाट जलविद्युत आयोजनाका २०७ जना म्याग्दीमै छन् । मिस्त्री खोला जलबिद्युत आयोजनाका चार सय, रघुगंगा हाइड्रो पावरका छ सय ९९, घारखोला हाइड्रोका २४५ र पूर्वाधार विकास कार्यालय अन्तरगत धौलागिरी पुलमा कार्यरत २० जना पनि म्याग्दी मै ठेकेदार कम्पनिले नै सुरक्षित तबरले राखेको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जि.सीले बताउनुभयो । 

त्यसैगरी बेनी–दरवा« सडक आयोजनामा काम गर्ने तीन सय जना र रत्नेचौर बेनी सडकमा काम गर्ने एक सय जना मजदुरहरुको उद्धार गरी घर पठाइएको निर्माण व्यवसायी संघका अध्यक्ष जि.सीले बताउनु भयो । 

त्यस्तै बेनी नगरपालिकाको ७ नम्बर वडामा बस्ने १२५ जना दैनिक ज्याला मजदुरी गर्नेहरुको नामावली संकलन भएको छ । शुक्रबार यो समाचार तयार पार्दा सम्म २५ जनालाई राज्यले तोके बमोजिमको प्रकृया पुरा गरेर राहत वितरण गरिएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनु भयो । त्यस्तै बेनी नगरपालिका वडा नम्बर ८ मा बस्ने ५५ जनाको निवेदन परेको समेत प्रवक्ता बराईलीले बताउनुभयो । प्रवक्ता बराईलीका अनुसार नगरपालिका क्षेत्रमा मजदुरी गर्नेको पहिचान र नामावली संकलन भै रहेको र छिट्टै वितरण गरिने बताउनुभयो ।

Published on: 3 April 2020 | Gorkhapatra

Link

Back to list

;