s

एक सय १९ नेपाली कामदार मात्रै कोरिया जान पाउने

मुना कुँवर

 

१९ महिनापछि पुराना कामदारलाई मात्र कोरिया प्रवेश खुला, पुराना रोजगारदाता कम्पनीले बोलाएमा मात्रै जान पाउने व्यवस्था

बुधबार ४८ जना कामदार कोरिया जाँदै, चार वर्ष काम गरी फर्केका एक सय १९ जना कामदार नेपालमा

कोरियाले नेपालबाट एक सय १९ जना कामदार मात्रै लैजाने भएको छ । यसअघि कोरियामा चार वर्ष काम गरी नेपाल फर्केका कामदारलाई सोही रोजगारदाताले बोलाएमा मात्रै कामदार कोरिया प्रवेश पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार १० कात्तिकमा ४८ जना कामदार कोरिया जाने भएका छन् । कोरियामा चार वर्ष काम गरी फर्केका एक सय १९ जना कामदार रहेको कोरिया शाखाले जनाएको छ ।

कोरोना महामारीका कारण कोरियाले विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो । करिब १९ महिनापछि पुराना कामदारलाई भने कोरिया प्रवेश खुला गरेको हो । पुराना रोजगारदाता कम्पनीले रोजगारीका लागि बोलाएमा मात्रै जान पाउने व्यवस्था गरेको कोरिया शाखा प्रमुख सुरेश राउतले बताए । नयाँ कामदारको हकमा भने कोरियाली सरकार मौन रहेको उनले बताए । 

आर्थिक भार थपिने

कोरियाली सरकारको सर्तअनुसार कोरिया जाने कामदार सीधा उडानमार्फत जानुपर्नेछ । कामदारले अनिवार्य रूपमा बिमा गनुपर्नेछ । कोरिया पुगेपछि १४ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यस्तै, ४८ घन्टाको पिसिआरसमेत गर्नुपर्नेछ ।

यसअघि नेपाली कामदार हङकङ, थाइल्यान्ड, दुबईलगायतका मुलुकलाई ट्रान्जिट बनाएर कोरिया जाने गर्थे । यसरी ट्रान्जिट हुँदै जाँदा जहाज टिकट सस्तो पथ्र्याे । वैदेशिक रोजगार विभागका अनुसार ट्रान्जिटबाट जाँदा कामदारले तीन सय अमेरिकी डलरमा (३६ हजार रुपैयाँ) टिकट पाउँथे । तर, सीधा उडानमार्फत करिब सात सय अमेरिकी डलर (८४ हजार रुपैयाँ) तिर्नुपर्नेछ ।

त्यस्तै, कामदारले पाँच हजार अमेरिकी डलर (६ लाख रुपैयाँ)बराबरको १४ दिने कोरोना जोखिमविरुद्धको बिमा गर्नुपर्नेछ । यसअघि कामदारले वैदेशिक रोजगार म्यादी जीवन बिमा मात्रै गर्नुपथ्र्याे भने कोरोना महामारीका कारण कोरोना जोखिमविरुद्धको बिमा पनि गर्नुपर्ने भएको छ । ६ लाख रुपैयाँ बिमांक रकमबराबरको बिमाका लागि करिब तीन हजार रुपैयाँ कामदारले भुक्तानी गर्नुपर्नेछ । साथै, नेपाली कामदार कोरिया पुगेपछि १४ दिन होटेल क्वारेन्टिन बस्नुपर्नेछ । यसका लागि करिब १४ सय डलर (एक लाख ६८ हजार रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै, कोरिया सरकारले २०१९ मा भएको भाषा परीक्षामा अनियमितता भएको गुनासो आएपछि अब कम्प्युटर प्रणाली (सिबिट) गरिने भएको शाखा प्रमुख राउतले बताए । यसका लागि छुट्टै भवनसमेत निर्माण गरिएको छ । यो प्रणालीमार्फत परीक्षाको नतिजा तत्काल आउनेछ । साथै, कामदारको पूरा परिचयका लागि फिंगर प्रिन्टको व्यवस्थासमेत गरिएको उनले बताए ।

सन् २०१८ र २०१९ मा कोरिया भाषा परीक्षा पास गरेका करिब तीन हजार रोस्टरमा छन् । रोस्टरको अवधि दुई वर्षको मात्रै हुन्छ । सो अवधि पूरा भइसकेको शाखा प्रमुख राउतले बताए । तर, कोरियन सरकारले ६ महिना अवधि थप्ने संकेत गरेको छ ।

यदि कोरियाली सरकारले समय थप गरेमा कामदार लैजान सक्ने उनले बताए । कोरियन सरकारले नेपाललगायत १६ वटा मुलुकबाट इपिएसमार्फत कामदार लैजाने गरेको छ । तर, कोरोना महामारीका कारण सबै मुलुकबाट कामदार लैजान क्रम रोकिएको छ । तर, हाल कोरियन सरकारले कम्बोडिया, श्रीलंका र थाइल्यान्डबाट पनि कामदार लैजान सुरु गरेको छ ।

कोरियन एयरलाइन्सबाट नै कामदार लगिने

कोरिया जाने नेपाली कामदार कोरिया एयरलाइन्समार्फत नै कोरिया जान बाध्य भएका छन् । कोरियन सरकारको सर्तअनुसार कोरिया जाने कामदार सीधा उडानमार्फत कोरिया जानुपर्ने भएको हो । कोरिया सीधा उडानका लागि वैदेशिक रोजगार विभागले ट्राभल तथा एयरलाइन्स कम्पनीलाई बोलपत्र आह्वानसमेत गरेको थियो । तर, बोलपत्रसमेत रद्द भएपछि कामदार कोरियन एयरलाइन्समार्फत नै जान बाध्य भएका हुन् ।

कोरियन सरकारले नेपाल एयरलाइन्सलाई सुरक्षाको कारण देखाउँदै उडान अनुमति दिएको छैन । अन्य एयरलाइन्सले पनि काठमाडौंदेखि कोरिया सीधा उडान गर्दैनन् । तर, कोरियन एयरलाइन्स भने सातामा एकपटक सीधा उडान गर्छ । बोलपत्र प्रक्रिया रद्द भएपछि कामदारसँग अन्य विकल्प नभएको इपिएस शाखाले बताएको छ ।

विभागले गरेको बोलपत्र आह्वानमा कोरियन एयरलाइन्स र नेपाल एयरलाइन्सको मात्रै प्रस्ताव परेको शाखा प्रमुख राउतले बताए । उनका अनुसार कोरियन एयरलाइन्सले टिकट मूल्य धेरै तोकेको थियो भने नेपाल एयरलाइन्सलाई कोरियन सरकारले प्रवेशमा रोक लगाएका कारण प्रस्ताव स्वीकृत हुन सकेन । तसर्थ, गत १९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले कोरिया जाने कामदारसम्बन्धी निर्देशिका नै संशोधन गरी कामदार आफैँले टिकट काटेर जान सक्ने व्यवस्था गरेको उनले बताए ।

Published on: 27 October 2021 | Nayapatrika

Link

Back to list

;