s

एक महिनामा गड्डाचौकी नाकाबाट ३१ हजारभन्दा बढी नेपाली भित्रिए

माेहन विष्ट

 

एक महिनामा गड्डाचौकी नाकाबाट साढे ३१ हजार नेपाली भित्रिएका छन् । यही अवधिमा भारत फर्कनेको संख्या भने साढे चार हजार रहेको छ । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीको उद्धारका लागि गत १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेशका लागि खुला गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १२ जेठदेखि १२ असारसम्म भारतबाट ३१ हजार सात सय ७७ नेपाली स्वदेश आएका छन् । चार हजार चार सय २२ भारतीय नागरिक नेपालबाट फर्केका छन् ।

१२ जेठमा दुई हजार ६ सय ३७ जना नेपाली स्वदेश प्रवेश गरेका थिए । त्यसैदिन तीन सय ५३ जना भारतीय फर्केका थिए । एक महिनापछि १३ असारमा ८८ जना नेपाली भित्रिएका छन् भने ३२ जना भारतीय स्वदेश फर्केका छन् । पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या क्रमिक रूपमा घटिरहेको छ । सबैभन्दा बढी १८ जेठमा तीन हजार सात सय ५२ र सबैभन्दा कम १३ असारमा ८८ जना नेपाल प्रवेश गरेका छन् । लकडाउनका कारण भारतमा रोजगारी गुमेपछि लालाबालासहित नेपाली नागरिक झिटीगुन्टा बोकी स्वदेश फर्किएका छन् । नेपालमा इँटाभट्टा, फर्निचर, चिनी उद्योग एवं व्यावसायिक क्षेत्र बन्द भएपछि भारतीय नागरिक स्वदेश फर्केका हुन् । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भारतमा अलपत्र परेका धेरै नेपाली नागरिक फर्किसकेको बताए ।‘सुरुका दिनभन्दा पछिल्ला दिनमा आउनेको संख्या घट्दै गएको छ,’ उनले भने, ‘तर, पछिल्ला दिन नेपाल प्रवेश गर्नेको संख्या घटिरहेको छ ।’सीमा क्षेत्र आइपुगेका नेपालीको स्वास्थ्य परीक्षण गरेर गन्तव्यसम्म पठाइएको प्रजिअ खतिवडाले बताए । 

भारतीयभन्दा नेपालीलाई सीमा क्षेत्रमा बढी सकस भएको छ । एक महिनाको अवधिमा नेपालबाट भारत जानेभन्दा भारतबाट नेपाल आउनेको संख्या पाँच गुणाले बढी छ । महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पस समाजशास्त्रका प्राध्यापक वीरेन्द्रसिंह साउदले नेपालमा रोजगारीको अवसर नभएकाले भारतमा नेपालीको संख्या बढी रहेको बताए । अब नेपालले आत्मनिर्भर बन्न कृषि उत्पादनमा लगानी वृद्धि गर्नुपर्ने र स्वदेशमै रोजगारीका कार्यक्रम सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

Published on: 28 June 2020 | Nayapatrika

Link

Back to list

;