s

एक दिन स्कुल, दुई दिन मजदुरी

भवानी भट्ट

(कञ्चनपुर) — १६ वर्षीय केशव बोहरा ८ कक्षामा पढ्छन् । घर छेवैको मुक्ति आधारभूत विद्यालय धरमपुरमा अध्ययनरत उनी एक दिन स्कुल गएपछि दुई दिन अनुपस्थित हुन्छन् । फेरि तेस्रो दिन स्कुल पुग्छन् । शुक्रबारका दिन त प्रायः जाँदैनन् ।

स्कुल नगएका दिन उनी गाउँमै ज्याला–मजदुरी गर्छन् । ‘घर ढलानजस्तो काम पाए बढी ज्याला पाइने भएकाले गाउँबाहिर पनि जान्छु । घरमा पिठो, चामलदेखि नुनतेलको खर्च जुटाउनसमेत हप्तामा दुई/तीन दिन मजदुरी गर्नैपर्छ,’ बोहराले भने, ‘कापी–किताब, लुगाकपडा सबै मजदुरी गरेर किन्नुपर्छ ।’ केशवका बुवा लालबहादुर भारत उत्तराखण्डको लोहाघाटमा मजदुरी गर्छन् । उनी एक/डेढ वर्षमा घर फर्किन्छन् । त्यतिन्जेल घर खर्च चलाउने जिम्मा केशवकै काँधमा आउँछ ।

सोही विद्यालयको ७ कक्षामा अध्ययनरत राजु दमाईं पनि सातामा दुई/तीन दिन स्कुलमा अनुपस्थित रहन्छन् । घर खर्च जुटाउन र कापी–किताबको जोहोका लागि स्कुल छाडेर मजदुरी गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘ढलानको काम पाइए दिनको ७/८ सय पाइन्छ, अन्य काममा ४/५ सय,’ दमाईंले भने ।

माथिल्लो कक्षामा अध्ययनरत अधिकांश छात्र सातामा दुई/तीन दिन नआउने गरेको विद्यालयले जनाएको छ । शिक्षक दीपक बोहराले भने, ‘सबै विपन्न समुदायका बालबालिका छन्, उनीहरूलाई खानलाउनसमेत मजदुरी गर्नुपर्ने बाध्यता छ ।’ माथिल्लो कक्षामा विद्यालय छाड्ने विद्यार्थीको संख्या पनि धेरै रहेको उनले बताए । 

यस्ता बालबालिका सुकुम्बासी परिवारका हुन् । स्कुल छेउमै भूमिहीन सुकुम्बासीका लागि घर निर्माण भइरहेको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगमा चरणबद्ध रूपमा घर निर्माण भइरहेको हो । ‘यहाँ बसोबास गर्ने सबैको आम्दानीको स्रोत मजदुरी नै हो,’ बेदकोट–५ का अध्यक्ष गणेश विकले भने ।

Published on: 12 December 2021 | Kantipur

 

Link

Back to list

;