s

एक वर्षमै ८ हजार घाइते, क्षतिपूर्ति पाउनै मुस्किल

होम कार्की

काठमाडौँ — ड्युटीका आखिरी दिनमा पनि उनी उस्तै जोसका साथ काम गरिरहेका थिए । किनकि करार अवधि सकिन लाग्दै थियो । अचानक झन्डै १५ सय केजीको प्लास्टिक बनाउने सामानको बन्डल उनीमाथि बज्रियो । त्यसपछि त आकर्षक कमाइ र सुखद जीवनको सपना साँचेर कतार पुगेका डिल्ली उप्रेतीको जीवनको मोड नै बदलियो । न घर आउन पाए न त शरीर सद्दे रह्यो ।

कतारको सनैया–४१ स्थित लेबर क्याम्पमा बस्दै आएका झापाका २५ वर्षीय डिल्ली उप्रेती । दुर्घटनामा परका उनको कम्मरमुनिको भाग चल्दैन ।

टाउको र हातमा चोट छैन तर मेरुदण्ड भाँचिएकाले कम्मरमुनि केही चल्दैन । दायाँबायाँ सर्न ह्वीलचियरको सहारा चाहिन्छ । ‘त्यस दिन फ्याक्ट्रीमा थिएँ । माथिबाट एक्कासि सामान तल झर्‍यो । मेरो मेरुदण्ड त लट्ठी भाँचिएजसरी पिटिक्कै गयो,’ २०७७ असार १९ को उक्त दुर्घटनाबारे सुनाउँदै उनले भने, ‘आफ्नो खुट्टा आफैंलाई मुढा जस्तो लाग्छ । छुँदा पनि थाहा हुँदैन ।’

उनी २०१८ जुलाई १७ मा कतारस्थित न्यु ग्रिन हिल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीमा सामान्य श्रमिकको हैसियतमा गएका थिए । कम्पनीले प्लास्टिक उत्पादन गर्थ्यो । दुर्घटनापछि २५ वर्षीय उप्रेती कामविहीन भएर कोठामा थन्किएका छन् । एक वर्षअगाडि नै उपचार त सकिएको छ, उनी क्षतिपूर्ति पाउने बाटो कुरिरहेका छन् । ‘कम्पनीले मासिक एक हजार रियाल (३२ हजार रुपैयाँ) दिइरहेको छ । कम्पनीकै क्याम्पमा छु । खाना पनि उसकै हो,’ उनले भने, ‘कम्पनीले क्षतिपूर्ति दिन्छ कि दिँदैन, थाहा छैन ।’

उनी आफैं नेपाली दूतावास पुग्न सकेका छैनन् । ‘एक पटक आफन्तलाई बुझ्न त पठाएको थिएँ,’ उनले भने, ‘दूतावासबाट फोन पनि आएको थियो । अहिले के भइरहेको छ भन्ने थाहा छैन ।’ कम्पनीले सामान्य रेखदेखका लागि एक जना नेपालीलाई जिम्मा दिएको छ । ‘९९ प्रतिशत काम त आफैं गर्न सक्छु,’ उनले भने, ‘वासिङ मेसिनमा आफैं लुगा हाल्न सक्छु । शौचालय जान भने एक्लै सक्दिनँ ।’

झापा गौरादह–२ सीतापुरका उप्रेती परिवारका एक्ला छोरा हुन् । घरमा आमा गीता उनैलाई पर्खिरहेकी छन् । ‘बुबा पाँच वर्षअघि नै बित्नुभयो । बहिनीको पनि विवाह भइसक्यो,’ उनले भने, ‘परिवारको आर्थिक दायित्व मेरो नै काँधमा सरेको थियो । यस्तो दुर्गति भइदियो ।’

नेपालीहरूको वैदेशिक रोजगारीका गन्तव्यमध्ये तुलनात्मक रूपमा सुरक्षित मानिने कतारमा कार्यस्थलको असुरक्षाका कारण गम्भीर घाइते हुने र क्षतिपूर्ति पनि नपाउने उप्रेती एक्लो नेपाली होइनन् । कतारस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा शुक्रबार प्रकाशित कतारको व्यवसायजन्य चोटपटकसम्बन्धी तथ्यांक र विश्लेषणसम्बन्धी प्रतिवेदनअनुसार गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली छन् । सबैभन्दा बढी बंगलादेशी २६.५ प्रतिशत र दोस्रोमा भारतीय १९.६ प्रतिशत रहेका छन् । सन् २०२० मा ५ सय ६ जना गम्भीर घाइते भएका थिए । आईएलओले कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय, सार्वजनिक स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी तथ्यांक र विश्लेषण सार्वजनिक गरेको हो ।

कतारले व्यवसायजन्य चोटपटकको एकीकृत तथ्यांक तयार पारेको छ । जसअनुसार २०२० मा ३७ हजार ६ सय १ जना श्रमिकलाई मध्यमखालको चोटपटक लागेको थियो । जसमा नेपाली श्रमिक ७ हजार ८ सय ९६ जना (२१.३ प्रतिशत) घाइते भएका थिए । यसरी घाइते हुने २५ देखि ३४ वर्षभित्रका ४४.५ प्रतिशत छन् ।

कोरोना महामारीले गत वर्ष कतारमा लकलडाउन हुँदा कार्यक्षेत्रमा भारी श्रमिक कटौती भएकाले घाइते हुने श्रमिकको संख्या कम देखिएको हो । लकडाउनका बेला कार्यक्षेत्रमा २० देखि ८० प्रतिशत श्रमिक कटौती गरिएको थियो । घाइते भएकामध्ये सामानमा ठोकिँदा २५.५९ प्रतिशत, उचाइबाट खसेर १४.४९ प्रतिशत, मेसिनरी सामान चलाउँदा ६.४८ प्रतिशत, सामान खस्दा ५.७१ प्रतिशत, सडक दुर्घटनामा ४.९३ प्रतिशत र अन्य कारणले ३३.६१ प्रतिशत छन् । असुरक्षित कार्यस्थलका कारण नयाँ श्रमिक बढी घाइते हुने गरेको प्रतिवेदनले जनाएको छ । ‘कार्यक्षेत्रमा घुलमिल भइनसक्दा नयाँ आप्रवासी श्रमिक बढी घाइते भइरहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कार्यस्थलमा सुरक्षित हुने मापदण्डको अभाव छ । श्रमिकलाई ज्ञान र तालिमको अभाव पनि देखिएको छ ।’

कतारको श्रम र स्वास्थ्य मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालासँग परामर्श गरी गत वर्ष मात्रै राष्ट्रिय व्यवसायजन्य स्वास्थ्य सुरक्षा नीतिलाई कार्यान्वयनमा ल्याएको हो । व्यवसायजन्य दुर्घटनामा परेका श्रमिक घाइते भएपछि निजी अस्पतालमा उपचार गर्नुपर्दा निकै महँगो पर्न जान्छ । जसले गर्दा सरकारीमा मात्रै भर पर्नुपर्ने बाध्यता छ । यसलाई हटाउन कतारले स्वास्थ्य हेरचाह सेवा (२०२१ को कानुन नम्बर २२) जारी गरेको छ । यो कानुनमा सबै श्रमिकका लागि रोजगारदाताले आउँदो अप्रिलदेखि निजी स्वास्थ्य बिमा गर्नुपर्ने बाध्यकारी नियम राखिएको छ ।

प्रतिवेदनले कार्यक्षेत्रमा हुने दुर्घटनालाई कमी ल्याउन निरन्तर रूपमा श्रम निरीक्षण गर्नुपर्ने सुझाव दिएको छ । ‘श्रम निरीक्षकलाई कार्यक्षेत्र दुर्घटनाको अध्ययन गर्न तालिम पनि दिनुपर्ने देखिन्छ । श्रम निरीक्षण विभागले अन्य मन्त्रालय र विज्ञसँग नजिक भएर काम गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘दुर्घटनामा परेका श्रमिक र श्रमिकका परिवारलाई समयमा नै क्षतिपूर्ति दिने प्रबन्ध गर्नुपर्छ ।’

Published on: 22 November 2021 | Kantipur

Link

Back to list

;