s

यात्रु आउँछन्, लगेज आउँदैनन्

दोलखाका कृष्णबहादुर श्रेष्ठ आइतबार बिहान १० बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। अध्यागमनको फारम भरेर सामान लिने बेल्टमा आइपुगे। तर सामान आएकै थिएन। कुर्दाकुर्दै साँझ पर्‍यो । सामान फेला नपरेको जानकारी दिने ठाउँमा खबर गरे। उनलाई भनियो, राति आठ बजेको एयर अरेबियाकै उडानबाट आउँदैछ। उनी भित्र सामान कुर्दै थिए। श्रीमती, दुई वर्षे छोरा र आठ वर्षीया छोरी बाहिर उनलाई कुरिरहेका थिए।

सामान लिन समय लाग्ने भएपछि उनले श्रीमती, छोरा र छोरीलाई फिर्ता पठाए। सामान आउने आसमा रातभर बसे। तर त्यो ८ बजेको उडानमा पनि आएन। त्यसपछि भनियो, राति ११ बजे आउँछ। कुर्नुको विकल्प थिएन। तर सामान त्यसमा पनि आएन। विमानस्थलकै ट्रलीमा उनेको रात बित्यो। सोमबार बिहान ७ बजे आउनेमा सामान आउँछ भनियो। तर त्यसका चारवटै जहाज आउँदा पनि उनको सामान आएन। 'हुँदाहुँदा अब त विमानस्थलका कर्मचारीले एयर अरेबियाकै कार्यालयमा गएर सामान खोज भनेका छन्,' उनले कान्तिपुरसँग भने, 'उसको कार्यालयमा जाँदा प्रहरीले भित्र छिर्न दिँदैनन्।'

दुई वर्ष विदेश बसेर ६ महिने छुट्टीमा आएका श्रेष्ठले आफू आफ्नै देशमा बिचल्लीमा परेको बताए। श्रेष्ठसँगै वर्षौंपछि स्वदेश फर्केका ९० जनाभन्दा बढीको हालत उनकै जस्तो भएको छ। उनीहरू सबैको सामान आएको छैन। 'भोलि काठमाडौं बन्द रे, अहिलेसम्म सामान आएको छैन, घर कसरी जानु?' एयर अरेबियाबाट चार दिनअघि काठमाडौं आइपुगेका झापाका रामप्रसाद अधिकारीले भने, 'छुट्टी त यहाँ सामान कुर्दाकुर्दै बित्ला जस्तो छ।' चार दिनयता एयर अरेबियाबाट काठमाडौं आएका अधिकांश यात्रुको सामान आइपुगेकै छैन। 'यात्रु आकषिर्त गर्न एयर अरेबियाले केहीअघिदेखि ४० किलो सामान ल्याउने सुविधा दिन थालेको थियो। तर यात्रुको चाप पनि मनग्गे हुँदा उक्त विमान सेवाले सँगै लगेज ल्याउन सकेन,' विमानस्थलका एक सुरक्षा अधिकारीले भने ।

'अधिकांश यात्रुले धेरै सामान ल्याउन मिल्ने जहाज रोजे। तर सामान भने सँगै आइपुगेन,' उनले भने ।  

तर एयर अरेबियाका प्रमुख सान्तनु सेनले भने काठमाडौंको मौसमका कारण जहाजले यात्रुको सामान समयमै ल्याउन नसकेको दाबी गरे। 'मौसमका कारण जहाज समयमा अवतरण हुन सकेन भने भारत, बगंलादेशलगायतका विमानस्थलमा पुर्‍याउनुपर्छ,' सेनले भने, 'त्यही भएर सामानको सट्टा जहाजको फ्युल ल्याउनुपर्दा यस्तो भएको हो।'

विमानस्थलको सामान कुर्ने बेल्टमा राखिएको खोजतलासी गर्ने स्थानमा चार दिनयता एकदमै घुइँचो छ। कर्मचारीले लाइनमा मिलेर आउन अनुरोध गर्दा पनि यात्रुहरू ठेलमठेल गरिरहेका हुन्छन्। 'चार दिन भयो सामान खोजेको,' सोमबार दिउँसो त्यहीं भेटिएकी एक महिलाले भनिन्, 'कुकुरले नपाएको दु:ख पाइयो। अमेरिकाबाट छोरा आएको चौथो दिन मात्र बल्ल उसले ल्याएको सामान पाएको उनले बताइन्।

यसरी सामान नल्याउनेमा एयर अरेबिया मुख्य भए पनि अन्य एयरलाइन्सले समेत यात्रुका सामान साथै ल्याइदिन सकेका छैनन्। तीन दिनअघि काठमाडौं आएको जेट एयरवेजका ४० यात्रुले सोमबार दिउँसो मात्र आफ्ना लगेज पाएका छन्। कतार एयरवेज, एयर इन्डिया, फ्लाई दुबईलगायत यात्रुको पनि यस्तै गुनासो छ। 'एयर अरेबियाका यात्रुको जति बिजोग अन्त छैन,' विमानस्थलका कर्मचारीले भने, 'बाँकी एयरलाइन्सले बिहानका यात्रुको सामान दिउँसो र दिउँसोको राति गरेर ल्याइदिएका छन्।'

'सामान बुझ्ने ठाउँमा डे्रसमा त कोही जानै नहुने भइसक्यो,' विमानस्थल सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) विजयलाल कायस्थले भने, 'वरिपरि आएर झुम्मिएर सामान किन नआएको भन्दै हैरान लगाउँछन्।' यात्रुले सामान नआएको विषयमा जानकारीका लागि जुनियर प्रहरी अधिकृतको कमान्डमा हेल्पडेस्क राखिदिएको छ।

सोही डेस्कमा सिरहाका महेश्वर साउतेली सोमबार दिउँसो सोध्दै थिए, 'सामान लिन अरूलाई नै पठाउँदा हुन्छ कि हुन्न?' तीन दिनअघि काठमाडौं आएका उनले भाइलाई सामान लिने जिम्मा दिएर घर जान लागेको बताए। 'कतिबेला घर पुगौं झै भएको छ, छुट्टी पनि धेरै छैन,' एक महिने छुट्टीमा नेपाल आएका उनले भने, 'सामानको चक्करमा छुट्टी सकिन लाग्यो।'

भद्रगोल व्यवस्थापन

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु र सरसामानको व्यवस्थापन भद्रगोल छ। एयरलाइन्सहरूले सामान नल्याएकाले कुर्न बाध्य यात्रुका भीडका कारण जहाजबाट ओर्लिएर आएको सामान लिन अरूलाई समेत झन्डै दुई घन्टा लागेको थियो। जहाजबाट सामान ओरालेपछि भन्सारको एक्स-रे मेसिनमा राखिन्छ। मेसिनबाट सामान गुडेर आउने तीनवटामध्ये एउटा ठूलो बेल्ट बिगि्रएको धेरै समय भइसक्यो। सामान कुर्न बसेका यात्रुलाई शौचालय र पिउने पानीको समेत व्यवस्था छैन। ट्रली ब्यवस्थापन नगर्दा सामान निकाल्न उत्तिकै मुस्किल छ।

Published on: 13 January 2015 | Kantipur

 

Back to list

;