s

यातायात मजदुरको पीडा : डिप्रेसनमा जाने अवस्था आयो

भाेजराज भण्डारी

कोरोना भाइरसको संक्रमणपछि पूर्णतया प्रभावित बनेको यातायात क्षेत्रमा काम गर्ने मजदुरहरूले आफूहरू निकै कठिन अवस्थाबाट गुज्रन बाध्य भएको बताएका छन् । 

करिब पाँच महिनाको लामो लकडाउनपछि केही जिल्लामा खुला गरिए पनि लामो दूरीको सवारीसाधन चैतको ११ गतेदेखि पूर्णतया ग्यारेजमा थन्किएका छन् । जसका कारण लाखौँ मजदुरहरू प्रभावित बनेका छन् । 

काठमाडौं उपत्यकामा केही हप्ता मात्र सार्वजनिक सवारीसाधन सञ्चालनमा आएको भए पनि निषेधाज्ञापछि सवारीसाधान चलेका छैनन् ।

भदौ महिनाबाट सार्वजनिक सवारीसाधन र लामो दूरीको सवारीसाधन सञ्चालन आउने भनिए पनि कोरोना भाइरसको संक्रमणको दर झनै उकालो लागेपछि सार्वजनिक सवारीसाधन खुल्ने समय दिनप्रतिदिन अनिश्चित बन्दै गएको छ । 

यातायात व्यवसायीहरू सार्वजनिक सवारीसाधन कोमामा राखेकोजस्तो भएको बताउँछन् । 

बैंकको किस्ता, सवारीसाधन बनाउँदा लाग्ने  खर्च दिनप्रतिदन बढ्ने अवस्थामा रहेको उनीहरूले बताएका छन् । 

‘डिप्रेसन’मा पुग्ने अवस्था आयो : यातायात मजदुर

काठमाडौं–धरानको रात्रिकालीन बसका सहचालक लक्ष्मण गिरीको  सवारीसाधन सञ्चालनमा आएको वेला टिपमा १५ सय रुपैयाँ आम्दानी हुन्थ्यो । 

होटेलमा दैनिक मासुभातमा मस्त रमाइरहेका उनी यतिवेला घरमै कहिले सवारीसाधन खुल्ला भनेर सरकारको निर्णय पर्खेर बस्नुपरेको बताउँछन् ।

भन्छन्, ‘डिप्रेसनमा जाने अवस्था आइसक्यो, आम्दानीकाे  ढोका बन्द भएपछि छेउका उधारो चल्ने  पसलको ढोका पनि बन्द हुँदाेरहेछ । अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताइरहन्छ ।’

यस्तै अवस्था सार्वजनिक सवारीसाधनमा काम गर्ने मजदुरहरूको छ । 

त्यस्तै, काठमाडौंबाट दाङ सवारीसाधन चलाउँदै आएका केशव भण्डारी पनि अवस्था  उस्तै रहेको बताउँछन् । दैनिक स्टेरिङमा रमाइरहेका उनी हिजोआज परिवार कसरी पाल्ने भन्ने चिन्ता झनै थपिएको बताउँछन् । 

उनी भन्छन्, ‘सुरुवाती लकडाउनमा ऐँचोपैँचो गरेर चलायौँ, अब त खुल्छ भनेको अझै कुनै आशा छैन, हामी मजदुर यही कुराले तनावमा छौँ ।’

घरपरिवारमा पनि आम्दानी हुँदा खुसीको अवस्था हुने र नहुँदा तनावको अवस्था हुने अनुभव उनको छ । 

छोटाे दूरीको सवारीसाधनलाई यसअघि केही दिन सवारीसाधन सञ्चालन हुँदा थोरै भए पनि राहत महसुस भएको भए पनि लामो दूरीको सवारीसाधनका मजदुरको घरमा आधारभूत आवश्यकतासमेत पुऱ्याउन मुस्किल हुने अवस्था आएको यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई बताउँछन् ।

सुरुवाती लकडाउन हुँदा विभिन्न संघसंस्थाको सहयोगमा राहत पुऱ्याउने काम गरेको भए पनि अहिले त्यो पनि अवस्था छैन । अब राज्यले  मजदुरको मर्कालाई बुझेर सवारीसाधन सञ्चालनको सम्बन्धमा मोडालिटी बनाउनुपर्ने वा मजुरहरूलाई राहत दिनुपर्ने उनको भनाइ छ । 

यातायात व्यवसायीहरू पनि अझै लामो समयसम्म सवारीसाधन थन्क्याउने अवस्था कायम नै रहे अवस्था अझै विकराल आउने बताउँछन् । 

अहिले लामो समय सवारीसाधन थन्किएकाले सञ्चालन हुने अवस्थामा पनि मर्मत खर्च थुप्रो लाग्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 

बैंकको किस्ता, सवारी मर्मत र यातायात मजदुरहरूको प्रेसरले  यातायात क्षेत्र निकै तनावबाट गुज्रेको उनले बताए ।

Published on: 4 September 2020 | Naya Patrika

Link

Back to list

;