s

यसरी 'सेटिङ' मिलाइन्छ विमानस्थलमा

सुरेन्द्र पौडेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा सक्कली कागजात (भिसा सहितको राहदानी) देखाउँदा अध्यायगमनका कर्मचारीले अनेक प्रश्न गर्छन्। तपाईको सक्कली कागजात माथि शंका गरिन्छ, अनि कागजातको जाँच हुन्छ। अझ रोजगारीका लागि खाडी राष्ट्र जाँदै हुनुहुन्छ भने त उनीहरुको व्यवहारले तपाईलाई लाग्नसक्छ 'कतै अपराध गरेर भाग्न लागि रहेको त छैन'।

तर, तपाई तस्करहरुको सहयोगमा अवैधानिक तरिकाले (बिना भिसा) वा नक्कली कागजातको सहारामा बिदेश जाँदै हुनुहुन्छ भने ढुक्क हुनोस् तपाई सहजै विमान भित्र पुग्नु हुनेछ। तपाईसँग अध्यायगमनका कर्मचारीले कुनै पट्यारलाग्दो प्रश्न गर्ने छैनन्। तपाईको नक्कली कागजात जाँच हुने छैन। तपाइमाथि शंकाको दृष्टिले हेरिने पनि छैन। बरु तपाईले देश छोडेको सूचना टिआईस्थित अध्यायगमनमा रहेका कम्प्युटरमा दाखिला नगरी अवैधानकि तरिकाले जान थप सघाउने छन्।

सुन्दा आश्चर्य लाग्छ, एकै दिन एउटै उडानमा २७/२७ जना मानिस अवैधानकि तरिकाले तस्करहरुको 'सेटिङ' मा टिआईबाट बिदेश उडेका छन्। टिआईएबाट बिदेश जाने र फर्कनेको जाँच तथा रेकर्ड राख्ने जिम्मेवारी पाई खटिएको अध्यायगमनसँग यसरी जानेको कुनै तथ्याङक छैन। अध्यायगमनका कर्मचारीले सेटिङमा जाने सबैको राहदानीमा डिपार्चर छाप लगाइदिन्छन् तर तीनको सुचना कम्प्युटरमा राख्दैन। सेटिङ्मा जानेलाई बिमानस्थल भित्र न 'गमन पत्र' भर्न नै लगाईन्छ न चेक जाँच नै गरिन्छ।

गत जेठ ३१ गते तस्करहरुको सेटिङ्मा एउटै फ्लाईटमा २७ जना कतारको दोहा पुगेका थिए। यसरी अवैधानिक रुपमा जानेहरु अधिकांस दोहाबाट अमेरिका जाने सपना सजाई ब्राजिल तर्फ मोडिए, केही युरोपतिर त कोही कतारमा नै बसे।

ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिकोहुदै अमेरिका जान हिडी ब्राजिलमा अलपत्र पर्नेमध्ये सात जना काठमाडौं फर्केपछि टिआईएमा हुने गरेको सेटिङ बाहिर आएको हो। अमेरिका छिर्ने आशमा तस्करलाई २२ लाखसम्म बुझाएका उनीहरुले टिआईए छोडेको तथ्याङ्क अध्यायगमनसँग छैन।

'हाम्रो तथ्याङ्कमा गत जेठ ३१ गते १ सय २८ जना काठमाडौंबाट दोहा उडेका छन्,' जेठ ३१ गते टिआईबाट दोहा उडेको तथ्याङ देखाउँदै कतार एयरवेज स्रोतले नागरिकसँग भन्यो, 'तर, हाम्रो विमानमा दोहा उडेका २७ जनाको सूचना अध्यायगमनले राखेको तथ्याङ्कमा भेटिदैन।' ब्राजिल पुगी अलपत्र परी भदौ १० गते काठमाडौं फर्केका सात जनाको तथ्याङ अध्यायगमनसँग छैन, जो जेठ ३१ गते नै दोहाहुँदै ब्राजिल पुगेका थिए।

जेठ ३१ गते राती ११ः३५ बजे कतार एयरवेजकको 'क्युआर ३५५' विमान कूल १ सय २८ जना यात्रु बोकी दोहा तर्फ उडेको थियो। कूल यात्रु मध्ये ७८ जना नेपाली र ५० जना बिदेशी यात्रु विमान रहेका थिए। कतार एयरवेजमा दोहा पुगेका ७८ जना नेपालीमध्ये २७ जना सेटिङमा गएका थिए, जसको राहदानीमा अध्यायगमनका कर्मचारीले डिपार्चर छाप लगाई त्यसको तथ्याङ्क राखेका थिएनन्।

सेटिङमा जेठ ३१ गते राती अमेरिका जान हिडेका तर ब्राजिलमै अलपत्र परी काठमाडौं फर्केका मध्ये पाँच जनाको जहाजको टिकट नम्बर क्रमसः १५७५०६८५९८०७५, १५७५०६८५९८०७६, १५७५०६८५९८०७७, १५७५०६८५९८०७८ र १५७५०६८५९८०८१ रहेको छ। उनीहरु पाँच जनामध्ये एक जनाको राहदानी लगाइएको डिपार्चर स्टिकरको सिरियल नम्बर ५९६९९६० रहेको छ।

फर्कनेहरुको अनुसार अध्यायगमनका दुई वटा काउन्टरबाट चेकजाँच पास भई विमानसम्म पुगेका थिए। ब्राजिलहुँदै अमेरिका जान लागेका बताएपछि अध्यायगमनका कर्मचारीले टेबुल मुनिबाट एउटा कागज झिकी त्यहाँ रहेको नाम र राहदानी उल्लेख नाम जुधाइ हेरेका थिए। नाम मिलेपछि अध्यायगमनका कर्मचारीले उनीलाई भित्र छिराएको ब्राजिल पुगेर फर्कनेले बताए।

अध्यायगमन बिभाग स्रोतका अनुसार जेठ ३१ गते सेटिङमा २७ जना टिआईएबाट दोहा जाँदा अध्यायगमनमा ११ जना वरिष्ठ अध्यायगमन सहायक त्यहाँ कार्यरत थिए। त्यतीबेला वरिष्ठ अध्यायगमन सहायकहरु कृष्णप्रसाद दाहाल, राजेन्द्र शर्मा, धर्मराज काफ्ले, गणेशप्रसाद घिमिरे, लक्ष्मण दूलाल, सूर्यकुमार पोखरेल, नवराज कोइराल, अनिल कुमार शाही, ओमप्रसाद सुवेदी, महेश पोखरेल र रामकुमार ओझाको ड्युटी रहेको स्रोतले बतायो।

सेटिङमा ब्राजिल पुगी फकर्नहरुको अनुसार उनीहरुलाई टिआईमा सघाउने दुई वटा काउन्टरमा रहेका अध्यायगमनका दुई जना कर्मचारी थिए।

विमानस्थल भित्र हुने यस्तै अवैध गतिविधि माथि निगरानी राख्न केही सिसी क्यामरा राखिएका थिए। सिसी क्यामरा सुचना दाखिला गर्ने कम्प्युटर तर्फबाट अन्यत्र मोडिए। पछि त सिसी क्यामरा जर्बजस्ती बिगारियो। बिग्रेका भनिएका सिसी क्यामरा दुई साता अघि बैदेशिक रोजगारका सम्बन्धमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दुई दिन भित्र सञ्चानलमा ल्याई निगारानी राख्न निर्देशन दिएपछि अहिले सञ्चालनमा आएका छन्।

सेटिङमा ब्राजिल जानेको दोहामा ६ घण्टा ट्रान्जिट रहेको थियो। त्यसपछि उनीहरु सेटिङमै दोहाबाट 'कतार एयरवेज - ९२१' विमानमा १४ घण्टा लामो यात्रा गरी जेठ ३२ गते ब्राजिलको साओपाओलो पुगेका थिए। काठमाडौंबाट उड्दा उनीहरुसँग खाली राहदानी र साओपाओलोसम्मको मात्र हवाई टिकट हातमा थियो।

साओपाओलो विमानस्थलमा २२ घण्टा ट्रान्जिटमा बिताएपछि असार १ गते ब्राजिलियन एजेन्टले उनीहरुलाई बोलिभियाको सान्तात्रु्कज र सान्तात्रु्कजबाट लापाजसम्मको हवाई टिकट थमाएका थिए। साओपाओलोबाट दुई घण्टामा सान्तात्रु्कज पुगी उनीहरुले बोलिभियाको भिसा लगाए लगत्तै डेढ घण्टाको हवाइ यात्रापछि उनीहरु लापाज पुगेका थिए। लापाजमा ब्राजिलको भिसा लगाएपछि उनीहरु ५१ घण्टा बस यात्र गरी साउन ७ गते पुनः साओपाओले पुगेका थिए।

साओपाओलोमा अलपत्र छोडी दलाल भागेपछि काठमाडौंमा रहेका आफन्तलाई फोन गरी हवाइ टिकटको व्वस्था मिलाई उनीहरु भदौ १० गते काठमाडौं आइपुगेका हुन्। उनीहरु काठमाडौं आइपुगेपछि अध्यायगमनका कर्मचारी नै सेटिङमा सक्रिय रहेको खुलेको हो। यसरी सेटिङमा अमेरिका जान भनि हिडेका हजारभन्दा बढि नेपालीहरु अहिले ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, बोलिभिया, चिली, कोस्टारिका लगायतका देशमा अलपत्र छन्।

Published on: September 2012 | Nagarik

Back to list

;