s

यार्सागुम्बा टिप्न गएकाहरू रित्तो हात फर्के, ऋण तिर्न रोजगारीका लागि भारत जाँदै

हेमन्त केसी

नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्सागुम्बा खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ ।

नलगाड नगरपालिकाका मोती ध्यारको हालत पनि उस्तै छ । यार्सागुम्बा खोज्न डोल्पा गएका उनी पनि रितो हात फर्केको बताउँछन् । तीन वर्षअघि दुई सय १० वटा यार्सागुम्बा टिपेर दुई लाख १० हजार आम्दानी गरेका मोती यो वर्ष प्रवेश शुल्कबापतको रकमसम्म उठाउने यार्सागुम्बा नपाएपछि घर फर्केका छन् । उनले गाउँमा ऋण काढेर डोल्पाका पाटनमा यार्सागुम्बा खोज्न गएको बताए । उनका अनुसार डोल्पाका केही यार्सा पाटन स्थानीयले कब्जा गरेर बसेका छन् । बाहिरबाट जाने संकलनकर्तालाई प्रवेश गर्न दिइएको छैन । 
 
विगतमा जस्तो यो वर्ष यार्सागुम्बा नपाउँदा संकलनकर्ता निराश बनेका छन् । ऋण काढेर गएकाहरू ऋण नै तिर्ने रकम नउठ्दा निराश बनेको अर्का यार्सा संकलनकर्ता मोतीराम ध्यारले बताए । ज्यानको बाजी लगाएर यार्सा खोज्न गए पनि यार्सा नपाउँदा रित्तो हात फर्कँदा ऋण कसरी तिर्ने चिन्ता लागेको उनको भनाइ छ । काढेको ऋण तिर्न भारत जानुको विकल्प नभएको ध्यारले बताए । उनका अनुसार यार्सागुम्बा टिप्न ऋण लिएर गएका धेरै जाजरकोटवासी रोजगारीका लागि भारत जाने तरखरमा छन् । असारको खेतीबाली नलगाएरै भारत जान लागेको उनीहरूको भनाइ छ । 
 
कसरी बन्छ यार्सागुम्बा ? 
 
हिमाली भेगमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर जीवजस्तो चिज यार्सागुम्बा हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित भएका हुन्छन् । वनस्पतिविद्का अनुसार यो ६ महिना किरा र ६ महिना वनस्पति भएर रहन्छ । त्यसरी हेर्दा वनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जीवित रहे वनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रसस्त बिउ फैलिरहन्छन् । यी बिउहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीउ उम्रेपछि यिनका जरा झुसिल्किराको शरीरमा फैलन्छन्, त्यस समयसम्म झुसिल्किरा हिँड्डुल गरिरहेकै हुन्छ । यसरी वनस्पतिको जराले झुसिल्किरालाई पूरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसकेपछि वनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र वनस्पति विकसित हुन्छ अर्थात् माटोमाथि जीवित रहन्छ माटोमुनि मर्छ ।
 
यार्सागुम्बामा औषधीय गुण
 
यार्सागुम्बामा औषधीय गुण हुन्छ । चीनमा २१, भारतमा सात र नेपालमा दुई प्रजातिका यार्सागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबद्र्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनियाँ औषधि विधिअनुसार सेवन गरिन्छ । विर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अन्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायुसम्बन्धी रोग अनिद्रा, मांशपेसीको दुखाइ श्वासप्रश्वाससम्बन्धी रोगमा कोलेस्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी मानिन्छ ।
 
यार्सागुम्बा टिप्न १५ हजारभन्दा  बढी पुगे, नौको मृत्यु
 
यस वर्ष यार्सागुम्बा खोज्न डोल्पाका पाटनमा १५ हजारभन्दा बढी सर्वसाधारण पुगेका थिए । तर, यार्सागुम्बा नपाउँदा उनीहरू चिन्तामा परेका छन् । यो वर्ष भारी हिमपात भएका कारण यार्सागुम्बा संकलन कार्य ढिला भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए । उनका अनुसार वर्षेनी पाटनमा प्लास्टिकजन्य फोहोर जम्मा भएर प्रतिकूल प्रभाव परेको छ । वर्षेनी हजारौँ सर्वसाधारण यार्सा खोज्न जाने भएकाले निकै फोहोर बढेको उनको भनाइ छ ।  यो वर्ष २६ प्रतिशतले राजस्व वृद्धि भएको छ । अन्य सामुदायिक वनले उठाउने शुल्क नजोडेका कारण अझै रकम बढ्न सक्ने निकुञ्जले जनाएको छ । यार्सागुम्बा संकलन गर्ने क्रममा नौजनाको मृत्यु भइसकेको छ । अक्सिजनको कमी र लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
 
Published on: 17 June 2019 | Naya Patrika

Back to list

;