s

वुहानमा कोठाभित्रै ‘थुनिएका’ नेपाली

चीनको हुवेई प्रान्तको राजधानी हो-वुहान सहर। एक महिनाअघि सम्म त्यो सहर ग्लोबल सिटी थियो। अध्ययन, व्यवसाय र कामका शिलशिलामा विभिन्न देशका मानिसहरू वुहान पुगेका थिए।

गत जनवरी २२ यता भने वुहानको रौनक सकिएको छ। फराकिला चौडा सडक छन् तर गाडी गुड्दैनन्, विमानस्थलमा जहाज आउँदैनन्, रेलवे स्टेशनबाट ट्रेन चल्दैनन्।

डिसेम्बरदेखि फैलिएको नोवेल कोरोनाभाइरसले वुहानको जनजीवनमात्र प्रभावित पारेको छैन् विश्वलाई आपतकालमा पुर्‍याइदिएको छ।संसारका विभिन्न देशले वुहानमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड जहाज पठाएर फिर्ता ल्याएको छ।

नेपाल सरकारले पनि वुहानमा रहेका नेपाली उद्धार गर्ने भनेको छ तर यहाँ ल्याएर कुन ठाउँमा राख्ने भन्ने टुंगो नलागेकाले जहाज पठाउन सकेको छैन।

वुहानका नेपाली भने दुई सातादेखि आफ्नो कोठाभित्र थुनिएर बसेका छन्।विश्वविद्यालयको छात्रावासमा बस्ने विद्यार्थीले किचनमा पनि जाँदैनन्।

‘हामी अहिले एउटा कोठाभित्र खाना पकाउँछौं, त्यहीँ सुत्छौं, त्यहीँ पढ्छौं, बाथरूम पनि भित्रै छ,’ पिचएडीको थेसिस लेखिरहेका अशोक साहले भने,‘मेरो फ्लोरमा २० कोठा छन्। अहिले म एक्लै यहाँ बसिरहेको छु।’

केशवजसरी नै कोठामा थुनिएका छन् पिएचडीका अर्का विद्यार्थी चन्द्रभूषण साह। उनको कोठाको झ्यालबाट बाहिर सडक देखिन्छ। उनी झ्याल खोल्दैनन्, सिसाबाट बाहिरको दृश्य हेर्छन्।

‘बाहिर हेर्दा अरू देशका साथीहरू घर फर्किएका देखिन्छन्। हामी कहिले जाने होलाजस्तो लाग्छ,’ चन्द्रभूषणले भने,‘दूतावासले भनेको फारम त भरेका छौं तर जहाज कहिले आउने केही भन्नुभएको छैन। अझै कति दिन यसरी बस्नुपर्ने हो भनेर तनाव हुन्छ।’

वुहानमै रहेकी अर्की नेपाली विद्यार्थी प्रमिला देवकोटा विद्यार्थीहरुमाथि मानसिक दबाब बढिरहेको बताउँछिन्। 'विच्याटमा नेपाली विद्यार्थीहरु पशुपतिनाथले रक्षा गरुन् भनेर लेखिरहेका छन्', देवकोटा भन्छिन्, 'हामी बाहिर निस्कन लिफ्टको बटन थिच्दा पनि त्यसबाट कोरोना भाइरस सर्छ भनेर तर्सिनुपर्ने अवस्था छ।'

अन्य मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता बोलाइरहँदा थुनिएर बसेका नेपालीहरु नेपाल फर्कने चाहाना व्यक्त गर्न थालेका छन् ।

सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ। त्यसका लागि आवश्यक तयारी पनि भइरहेको बताएको छ।

अधिकारीहरूका अनुसार वुहान जहाज पठाउन अझै एक-दुई दिन लाग्न सक्छ।

‘अहिले उताबाट डाटाहरू संकलन भइरहेको छ। कति जना आउने टुंगो भएपछि हामी त्यहीअनुसार चार्टर्ड उडानको व्यवस्था गर्छौं,’ नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्,‘त्यसपछिमात्र जहाज कुन विमानस्थलमा जाने, क्रु मेम्बर को-को जाने टुंगो लाग्छ।’

वुहानबाट फिर्ता ल्याइएका नागरिकलाई कम्तिमा १४ दिनसम्म अरूको सम्पर्कसँग दिइँदैन। वुहानबाट नागरिक फिर्ता ल्याएका देशले उनीहरूलाई राख्न छुट्टै क्याम्प बनाएका छन्।

भारतले हरियाणाको मानेशरमा क्याम्प बनाएको छ। उक्त क्याम्प भारतीय सेनाले बनाएको हो।

बंगलादेशले विमानस्थलनजिकै क्याम्प बनाएको छ। वुहानबाट ल्याइएकालाई विज्ञ चिकित्सकहरूको निगरानीमा 'अस्कोना हाजी' क्याम्पमा राखिएको छ।

नेपाल सरकारले भने फर्काएर ल्याइएकालाई कहाँ राख्ने भन्ने टुंगो लगाउन सकेको छैन।

‘कहाँ राख्ने भन्ने हामी छलफल गरिरहेका छौं। निर्णय भएको छैन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने,‘ठाउँ टुंगो भएपछि पनि तयारी गर्न एक/दुई दिन लाग्छ।’

अहिलेसम्म चीनमा रहेका नेपालीलाई कोरोनाभाइरस देखिएको छैन।

नेपाल ल्याउँदा उनीहरूमा संक्रमण देखिए राख्नका लागि टेकुलगायतका अस्पतालमा आइसोलेटेड बेडहरू बनाइएको छ।

‘बिरामी नभएको मान्छेलाई अस्पताल लिएर राख्ने कुरा हुँदैन। उहाँहरूलाई अब्जर्भेसनमात्र राख्ने हो,’ श्रेष्ठले भने।

नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो। ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए।

फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ। भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ।

गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले संसारका विभिन्न देशमा फैलिएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा महामारी फैलिने सक्ने ठानेर विश्व स्वास्थ्य संगठनले गत बिहीबार विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

यता चीनमा उक्त भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसले ३ सय ४ जना चिनियाँको ज्यान लिएको छ। १२ हजारभन्दा बढी चिनियाँमा यसको संक्रमण देखिएको छ।

Published on: 3 February 2020 | Setopati

Link

Back to list

;