s

वर्किङ भिसामा पठाइदिन्छु भन्दै एजुकेसन कन्सल्टेन्सीले ५० युवासँग ठग्यो पाँच करोड

वर्किङ भिसामा विदेश पठाइदिने भन्दै औपचारिक कार्यालयसमेत नभएको टप च्वाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकले ५० युवाबाट पाँच करोड रुपैयाँ ठगेको खुलेको छ । सञ्चालकद्वय कृष्णकुमार राई र रूपेशकुमार ठाकुरले युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टा, क्रोएसियालगायत मुलुकमा राम्रो जागिरमा पठाइदिने भन्दै ठगी गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राई र ठाकुरसहित उनीहरूका सहयोगी पर्वराज पाण्डे र जीवन तामाङलाई पक्राउ गरेको छ । करिब आठ महिनाको खोजीपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनीहरूविरुद्ध २२ पीडितको जाहेरी परेपछि पक्राउ गरेको अनुसन्धानमा संलग्न कार्यालयका डिएसपी गोविन्द पन्थीले जानकारी दिए । उनका अनुसार अन्य पीडितहरू पनि जाहेरी दिन कार्यालय आएको, तर आवश्यक कागजात अभाव हुँदा दर्ता हुन सकेको छैन ।

उनीहरूले दलालमार्फत देशका विभिन्न ठाउँका युवा काठमाडौंमा भेला गर्ने, भारतको दिल्ली लैजाने, रकम दिल्लीमै असुल्ने र त्यसपछि सम्पर्कविहीन बन्ने गरेको अनुसन्धानमा खुलेको छ । डिएसपी पन्थीले भने, ‘कन्सल्टेन्सीका रूपमा दर्ता भएको, तर कतै कार्यालय नभेटिएको कम्पनीले युवालाई अवैध ढंगले वैदेशिक रोजगारमा पठाउने गरेको देखियो । सोही क्रममा केही पक्राउ परेका छन् । उनीहरूले ५० भन्दा धेरै युवाबाट पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको देखिन्छ । जसमध्ये २२ जनाको जाहेरी हामीकहाँ परिसकेको छ ।’

प्रहरीका अनुसार उनीहरूले विद्यार्थी भिसामा पठाउने भन्दै युवालाई दलालमार्फत सम्पर्कमा ल्याउँथे । सम्पर्कमा आएका युवालाई वर्किङ भिसामा पनि पठाउन सकिने भन्दै आकर्षक तलब प्रस्ताव गर्थे । प्रस्ताव मान्न तयार भएका युवालाई भारतको दिल्ली पुर्‍याउँथे । गेस्टहाउसमा राख्थे । महिना दिनपछि उनीहरूले युवासँग रकम माग्थे । जालमा फसेका युवाले उनीहरूलाई मागेजति रकम भुक्तानी गरिदिन्थे । जब रकम संकलन भइसक्थ्यो, उनीहरू फरार हुन्थे । उनीहरूले क्यानडाका लागि प्रतिव्यक्ति १० देखि २० लाख, पोल्यान्डका लागि सातदेखि १० लाख, रोमानियाका लागि सात लाख, क्रोएसियाका लागि सातदेखि १० रुपैयाँका दरले रकम उठाएको डिएसपी पन्थीले बताए । प्रहरीले पक्राउ परेका राई र ठाकुरलाई जनही ८० लाख, पाण्डेलाई ६ लाख र तामाङलाई एक लाख ६० हजार जरिवाना तोकेको छ ।

Published on: 2 April 2024 | Naya Patrika

Link

Back to list

;