s

वडाद्वारा विपन्न मजदुरको बिमा

नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ। वडा कार्यालयले आफ्नो वडामा बसोवास गर्ने विपन्न वर्गका कामदारको एक लाख रुपैयाँसम्मको बिमा गर्न सुरु गरेको हो।

म्यादी लघुजीवनमा एक लाख रुपैयाँसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताए। उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बिमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए।

वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बिमा गरिने छ। वडासचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका थिए।

वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा दुई सय ७९ रुपैयाँ र ५५ वर्षको उमेर भएकाको एक हजार एक सय ३५ रुपैयाँ तिरेर बिमा गरिने जानकारी दिए। बिमाबापतको रकम वडा कार्यालयले दिने छ।

‘बिमा एक वर्षका लागि हुनेछ। अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ’, रिजालले भने। उनका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बिमा गर्न लागिएको हो।

एक लाख रुपैयाँको जीवन बिमामा दुर्घटना भएर विमितको मृत्यु भएमा निजका परिवारले दुई लाख रुपैयाँ र किरिया खर्च २५ हजार रुपैयाँ उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिए। –रासस

Published on: 30 January 2024 | Nagarik

Link

Back to list

;