s

‘विनविन’ नेटवर्किङ्गमा प्रहरीको निगरानी

कमल पन्थी

भारतीय प्रहरीले बनारसस्थित ‘विनविन’ नामक नेटवर्किङ्ग संस्थामा निगरानी बढाएको छ । ‘विनविन’मा काम गर्ने नेटवर्किङ्ग संस्थामा ९० प्रतिशत नेपाली चेली रहेको आशंकामा निगरानी बढाएको बनारसका एसएसपी आनन्द कुलकर्णीले जनाएका छन् ।

१ सय ५० नेपाली चेली दलालले बेपत्ता बनाए पछि ‘विनविन’मा निगरानी बढाएको हो । साेमबार प्रहरीले नेपाली चेली बन्धक बनाएको भनेर छापा मारेको स्थान नटकनियादाईबाट करिब ५ सय मिटर पूर्वमा रहेको गेष्ट हाउसमा ‘विनविन’को मुख्य कार्यालय छ । ‘विनविन’का सञ्चालक नेपाली नागरिक यमराज तामाङ्ग र सहायक सञ्चालक होमबहादुर गुरुङ्ग छन् । नेपाल सरकारले करिब ६ वर्ष अघि 'विनविन' माथि प्रतिबन्ध लगाएपछि बनारसबाट सञ्चालन गर्दै आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । तामाङ्ग र गुरुङ्गको ठेगाना हालसम्म पत्ता नलागेको प्रजिअ कुरुम्बाङ्गले बताए ।
 
एकजनाले ५० हजार रकम बुझाए आर्कषक रकम उपलब्ध हुने, विदेश जान पाउने र तालिम समेत दिने योजना रहेको प्रलोभनमा परेर सोझा नेपाली चेली यसका सदस्य बनेको प्रहरीको अनुमान छ । एक जनाले तीनजनालाई सदस्य बनाएवाफत रकम फिर्ता हुने जस्ता आर्कषक प्रलोभनमा नेपाली फस्ने गरेका छन् । भारतीय प्रहरीले झण्डै १ लाख नेपाली यसका सदस्य रहेको अनुमान गरेको छ । प्रजिअ कुरुम्बाङ्गले विनविन नेटवर्किङ्गबाट नेपालीको पॉच करोड बढी रकम ठगिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।
 
भारतस्थित नेपाली दुतावासका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेल, बर्दिया प्रहरीका डीएसपी युवराज खड्का र प्रशासकीय अधिकृत अर्जुन सुवेदीले विनविनका वारेमा बनारसका एसएसपी कुलकर्णीलाई जानकारी गराएपछि निगरानी बढाएको जनाएको छ।
 
नेपाली चेली अझै सम्पर्कविहीन
 
बनारसमा बन्धक बनाइएका करिब १ सय ५० नेपाली चेली सम्पर्कविहीन छन् । भारतीय प्रहरीका अनुसार दलालले दिल्ली पुर्‍याएको अनुमान गर्दै भारतीय ईन्टिलिजेन्ट ब्यूरो (आईबी) को एक टोली त्यसतर्फ परिचालन गरे पनि दलाल र नेपाली चेलीको पत्तो लागेको छैन ।
 
प्रहरीले सोमबार छापा मार्नु अघि सुराक पाएका कारण नटकनियादाईस्थित उक्त घर छाडेर बेपत्ता भएका हुन । बनारसस्थित शिवपुर थानाका इन्चार्ज प्रहरी निरीक्षक विजय कुमारले नेपाली चेलीको उद्धार हुने सम्भावना बढेको कान्तिपुरलाई बताए ।
 
नेपाली दुतावासका काउन्सिलर एसएसपी क‘डेलले दिल्लीस्थित भारतीय प्रहरीको सहयोगमा नेपाली चेलीको उद्धारका लागि पहल भइसकेको बताए । एसएसपी कँडेलले नेपाल—भारत बीच मानव बेचबिखन सम्बन्धि मुद्दामा सम्झौता भए नेपाली प्रहरीलाई काम गर्न सहज हुने जनाए । दुतावास स्रोतले भारतमा नेपाली राजदुत लामो समय देखि रिक्त भएकोले कुटनैतिक रुपमा काम गर्न असहज भएको जनाएकाे छ।
 
विमानस्थलबाट नेपाली महिलालाई खाडी जान रोक
 
नेपाली महिला बनारसको अन्तराष्ट्रिय विमानस्थल हुँदै खाडी मुलुक जाने गरेकोमा बिहीबार देखि रोक लगाइएको छ । दिल्ली विमानस्थलमा कडाई भएपछि एजेन्टले बनारस विमानस्थल प्रयोग गर्दै आएकाे आशंका गरिएकाे छ । उत्तरप्रदेश राज्य सरकारले खाडी मुलक जाने नेपाली महिलामाथि राेक लगाएको जनाएको छ ।
 
Published on: 26 July 2018 | Kantipur

Back to list

;