s

विमानस्थलमा लुट : कर्मचारी नै मिलाउँछन् सेटिङ

सुन्दर खनाल

अध्यागमन विभागमा सदैव चल्दै आएको संगठित घूस/ठगी धन्दाको एउटा उदाहरणका रूपमा मात्र भोजपुरकी युवती लुटपाट/बलात्कार प्रकरण संयोगवश सार्वजनिक भएको पाइएको छ । खास गरी विभागको मुद्दा फाँटमा कार्यरत कर्मचारी यो धन्दामा केन्दि्रत हुने एवं त्यहाँ पोस्टिङ पाउन कर्मचारी युनियन र दलहरूको प्रभाव व्यापक प्रयोग गरिने देखिएको छ । 

प्रकरणका मुख्य अभियुक्त नासु सोमनाथ खनाल लामो समय 'आकर्षक पोस्टिङ' मानिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको मुद्दा फाँटमा काम गरेपछि गतवर्ष मात्र विभागको मुद्दा फाँटमा सरुवा भएका हुन् । उनी मुद्दा फाँटको हरेक धन्दामा हाकिम र कारबाहीमा मुछिएका पक्षबीच बिचौलियाको काम गर्थे ।
 
खनालमार्फत भोजपुरकी युवतीबाट लुटिएको पैसा बाँडेर लिएका शाखा अधिकृतद्वय रामप्रसाद कोइराला र टीकाप्रसाद पोखरेल पनि राजनीतिक प्रभावकै आधारमा उक्त फाँटमा बसेको स्रोतहरू बताउँछन् । कोइराला कांग्रेस समर्थित राष्ट्रिय कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार हुन् । उनी यसअघि युनियनको केन्द्रीय निर्वाचनमा दुईपल्ट अध्यक्षका लागि लडेर हारेका थिए । उनले गृह मन्त्रालय र यसअन्तर्गतका अध्यागमन विभाग, त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत 'आकर्षक ठाउँ' मा मात्र विगत एक दशकदेखि पोस्टिङ लिँदै आएका छन् । 
 
पोखरेल गत वर्षमात्र विभाग आएका हुन् । विभागमा सरुवा हुनेबित्तिकै उनी माओवादी समर्थित कर्मचारी संगठनका विभागीय इकाई अध्यक्षमा निर्वाचित भएका थिए । उनी अध्यक्ष, इकाई समितिका सचिव नासु खनाल हुन् । गत मंसिर ३ गते भोजपुरकी युवती विमानस्थलमा अर्कैको पासपोर्टसहित समातिएपछि सीधै विभागको मुद्दा फाँटमा ल्याइएको थियो । उनीसँग ८० हजार रुपैयाँ बराबरको साउदी रियाल भएको पाइएपछि खनालले कोइराला र पोखरेलसँग मिली उनलाई भोलिपल्टै २० हजार रुपैयाँ धरौटीमा रिहा गरी बाँकी रकम हत्याएका थिए । युवतीलाई धम्काउन, फकाउनका लागि उनीहरूले प्रहरी जवान पर्शुराम बस्नेतलाई समेत प्रयोग गरेका थिए ।
 
प्रचलित अध्यागमन कानुनअनुसार अर्काको पासपोर्ट लिएर विदेश गएकाको घटनामा सम्बद्ध व्यक्तिलाई मुद्दा चलाएर अनुसन्धान गरी सरकारी कागजात किर्तेमा संलग्न सबैको खोजी गर्न प्रहरीको सहयोग लिनुपर्ने हुन्छ । तर यो घटनामा मुद्दालाई कमजोर बनाएर तुरुन्तै रिहा गरी धम्काउँदै पैसा लुटिएको देखिन्छ । त्यस्तो पासपोर्ट जारी गराउने गिरोहको खोजी गर्नुको सट्टा यसैलाई पैसा असुल्ने मेलो बनाएको देखिन्छ । 
 
विभागको मुद्दा फाँटमा यस्तो अभ्यास एकदमै सामान्य भएको एक कर्मचारीले कान्तिपुरलाई बताए । 'त्यही व्यक्तिलाई विदेश पठाउन पैसा खाने र फकर्ंदा पनि पैसा असुल्ने धन्दै चल्ने गरेको छ,' उनले भने ।  मंसिर ३ गते भोजपुरकी युवतीसँगै जाली पासपोर्टसहितका १५ जनालाई पक्राउ गरी विभाग ल्याइएको थियो । तीमध्ये अधिकांशको त्यसै गरी मुद्दा मिलाइएको स्रोतले बतायो । 'पैसा हुनेसँग पैसा नै लिने, नहुनेसँग आफन्त बोलाएर लिने गरिन्छ । तर्साएर पैसा असुल्नैका लागि या सामान्य मुद्दालाई ठूलो र गम्भीर भनिन्छ या ठूला मुद्दालाई सानो बनाएर धरौटीमा रिहा गरिन्छ,' ती कर्मचारीले भने । हाल खनाल प्रहरी हिरासतमा छन् भने कोइराला र पोखरेल दुवै फरार छन् । तीनै जनालाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । विभागका उपसचिव लेखनाथ पोखरेललाई पनि गृहले स्पष्टिकरण सोधेको स्रोतले बतायो । 'म भर्खर मात्र सरुवा भएर आएको हुँ । म यहाँ आउँदा यो प्रकरणमाथि अनुसन्धान सुरु भइसकेको थियो,' विभागका महानिर्देशक वसन्तराज गौतमले कान्तिपुरसँग भने, 'यो अपराध लुकाएर लुक्ने कुरा होइन । म अब विभागमा के कस्ता सुधार गर्न सकिन्छ भनेर अध्ययन गर्दैछु ।'
 
Published on: 1 January 2013 | Kantipur

Back to list

;