s

विमल निभाका जुत्ता

देवेन्द्र भट्टराई

 'धेरै दिनपश्चात् मलाई

स्मरण भयो बाबुराम भट्टराईको

कुन्नि, कहाँ छन् अहिले उनी

र यहाँ म आफ्नो

चुँडिएको चप्पलको फित्ता

सिलाउन खोजिरहेछु यस बखत ।'

एकाएक नसोचेको बात भयो । चप्पलको फित्ता होइन, जुत्ताका तलुवा पक्लक्कै उक्किए । त्यो पनि अरूको होइन, जुत्ता-चप्पलका कविता लेख्ने उनै कवि विमल निभाका ।

हाल क्यानडावासी छोराले अमेरिका भ्रमणका बेला दुई वर्षअघि किनिदिएको 'बेन्टले ब्रान्ड'को जुत्ता कतारको तातोमा आएपछि खराउझैं बन्यो, त्यसपछि कवि निभा एकाएक 'चिन्तक' बनेर निस्किए । पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद हुँदै माक्र्सवादसम्मका बहस र रस्साकस्सी यही जुत्ता प्रकरणबाटै सुरु भयो । साथमा थिए, आफ्नै आँखाको लयमा तिखा बात गरिरहने- खगेन्द्र संग्रौला । उनी वचनपिच्छे तड्पाइरहन्थे, 'जसको जुत्तामा तलुवा नै छैन, त्यसले किन अनेक कुरा गरिरहनु ?' अनि बहस सुरु हुन्थ्यो ।

'यो अमेरिकालाई कतारले दिएको चुनौती हो, बुझ्नुभो ?' निभाको चर्को अड्कल हुन्थ्यो । 'यो जुत्ता पुँजीवादी, साम्राज्यवादीका लागि मात्रै बनिएको हुनुपर्छ । कतारी ४५ डिग्रीको तातो पनि नखेप्ने जुत्ता बनाउने कम्पनी के कम्पनी ?' फेरि संग्रौला वाणी सुनियो । 'होइन, बेन्टले कम्पनीलाई के थाहा- न्युयोर्कको ब्रुकलिनमा जुत्ता किनेर कोही विमल निभा नामको ग्राहक कतारको घाँसेमैदानमा टहल्न जान्छ भनेर ?' अर्को प्रतिवाद थियो ।

२०० औं भानु जयन्तीको निम्तो मान्न कतार पुगेका दुई लेखक आफ्नो परिपक्व उमेरमा पनि एक प्रकारको 'ताजगी' देखाइरहेका थिए । ६२ वषर्ीय निभा र ६७ वषर्ीय संग्रौला अझै पनि 'हम किसिसे कम नहीं' भन्दै सहानिया, जमेलिया, समाल, अलखोरको तातोमा बत्तिरहेका देखिन्थे ।

बेन्टले जुत्ताको तलुवा अझ खुस्किँदो क्रममा थियो । शुक्रबारे छुट्टीको मौका पारेर असार २८ मा मनाइन लागेको भानु जयन्तीमा जुत्ताको तलुवा खुस्किएका अतिथि कविलाई कसरी उपस्थित गराउने ? आयोजकका काँधमा नसोचेको तनाव र जिम्मेवारी आइपर्‍यो । सहानिया मरुभूमिबाट फिरेपछि बिहीबार साँझ कवि निभालाई नेसनलको मनामा सेन्टर लगियो र, खरिद भयो- लोकल ब्रान्डका जुत्ता ।

'एउटा कविले आफ्ना कविता वाचन गर्नुअघि एडभान्समा पारिश्रमिक पाएजत्तिकै भएको छ,' निभाको चेहरा अनि मात्रै अलिक चम्केको देखिन्थ्यो । यतिले मात्रै जुत्ता प्रकरण टुङ्गएिको थिएन । तलुवा उक्किएका जुत्ता यतैकतै मिल्काउने कि भन्ने प्रस्ताव आइरहेको थियो । 'हामी १० रुपैयाँ मुठाको रायो साग पनि ९ रुपैयाँमा देऊ न है भन्ने वर्गका मान्छे हौं, यसकारण यो तलुवा उक्किएको जुत्ता टाँसटुस गरेर म घरै लैजान्छु,' फेरि निभाको मधुरो बोली सुनियो । त्यसपछि नेसनल एरियामा मोची खोज्दै १० रियालमा बेन्टले ब्रान्ड जुत्ताका दुवै तलुवा टाँसियो, अनि मात्रै निभाको अनुहारमा अर्कै 'निभा' देखियो ।

रेगिस्तानी भूमि कतारमा संग्रौलाको यो दोस्रो भ्रमण थियो, कवि निभाको पहिलो । चार वर्षअघि यता आउँदा 'कवि भनेका यो दुनियाँकै दुःखी जीवात हुन्, गजल भनेको जंगली झारको लहरो मात्रै हो' भन्न आँट गर्ने लेखक संग्रौलाले यसपटक ज्यान जोगाउने हिसाबमा थोरै बोलीवचन सच्याए । 'हो, नेपाली समाजमा एकदमै विरोधाभास र अन्तरविरोध छ, तर नेपाली समाज एकदमै सहनशील र क्षमाशील पनि छ । मेरा पुराना कुराहरूमा मैले पक्कै क्षमा पाएँ हुँला भन्ठानेको छु,' संग्रौला सच्याइँ थियो । 

लेखन र जीवन दुवैमा व्यंग्य रुचाउने संग्रौलाले 'सरी' भने पनि आफ्नो घुमाउरो शैली भने भुलेनन् । 'हामीले हाम्रो जीवनबाट, प्रकृति र इतिहासबाट कविता/गजल लेख्ने कच्चा सामग्री बटुल्न सकिन्छ । यसमा प्रशोधन ल्याएर, परिमार्जन थपेर मात्रै सिर्जना असली बन्न सक्छ । तर यहाँ त सिंगासिंगै रूख बोकेर हिँड्ने गरिन्छ, अनि भनिन्छ— मेरो हलो यही हो,' आदिकवि भानु समारोहमा उनी भनिरहेका थिए, 'एउटा रूखबाट हलो बनाउन जति चरण र प्रक्रियाबाट गुज्रनुपर्छ, त्यति नै चरण कविता/गजल लेखनमा पार गर्नुपर्ने हुन्छ । फेरि साहित्य विधाको चटनी मात्रै हो गजल, चटनी भनेको खाना खाँदा धेरै चाहिने चिज होइन । यो चटक्क हुनुपर्छ, तिखो हुनुपर्छ । तर यहाँ -कतारमा) भने थालमा भातभन्दा बढी चटनी राखिएको भान पर्छ ।'

कविहरूको जन्जालबाट उम्केको भोलिपल्ट खगेन्द्र र विमल मरुभूमिको अनन्त यात्रामा थिए । समाल मरुभूमि पुग्दा ५९ वर्षे वीरबहादुर बूढाले ऊँटको दही जमाएर राखेका छन् । करिम इफ्तारको अघिल्लो साँझ अरबी मालिकले ल्याइदिएको खसीको सिकार पनि उनी भुट्दै रहेछन् । जीवनका १२ वर्षहरू यही मरुभूमिको तातोमा 'न एयरकन्डिसन, न चिसो पानी' उनले दिनरात बिताएका छन् । दाङ घर भएका वीरबहादुर हरेक वाक्य बोलेपिच्छे हाँस्थे, रमाउँथे । साहसिक रोविन्सन क्रुसोजस्ता अलौकिक यी पात्रको दुःख र पीडाको पहाड अर्कै थियो । यिनले पनि संग्रौला र निभालाई गतिलो 'विम्ब' झैं जवाफ दिए, 'म रुन थाल्ने हो भने यो मरुभूमिमा राप्ती नदी बग्न सुरु हुन्छ । रोएर जीवन चल्दैन क्यारे ।'

१२ वर्षअघि एजेन्टको भरमा कतार आएका उनी जब मेडिकल-फेल निस्किए, त्यहींबाट भागेर यो मरुभूमि आइपुगे । त्यसपछिको संघर्ष, गाउँले साहुको ऋण तिर्न बहाएको पसिनाको मोल र बिस्तारै रूखो मरुभूमि पनि प्यारो लाग्न थालेको नशालु कुराको वृत्तान्त निकै लामो थियो ।

घुमफिरमा समाल नजिकै समुद्री तटमा भेटिए— चितवनका प्रदीप कुँवर । कतार लक्जरी ग्रुपले थालेको सामुदि्रक मोती उत्पादनको खेतीसहितका साहसिक कामका नेपाली म्यानेजर रहेछन् उनी । समुद्रसँगै जोडिएको प्रदीपको कटेजमा 'अन्तर्मनको यात्रा' देखि 'आफ्नै आँखाको लयमा' सम्मका पुस्तकहरू राखिएका थिए । 'मैले खगेन्द्र संग्रौलाको खरो कुरा धेरै पढेको छु, तपाईंको लेख पढेर अब त केही होला, कुनै परिवर्तन आउला भनेर धेरै पर्खिएको पनि छु,' प्रदीप निकै खरा रहेछन्, 'तर त्यस्तो परिवर्तन केही देखिनँ । तपाईं अझै खरो कुरा गरिरहनुभएको छ, लेखिरहनुभएको छ । यो सबै कसका लागि ?'

तिखो प्रश्नको तीर आफूतिर आएपछि सामु बसेका लेखक विमल र खगेन्द्र सुरुमा मौन देखिन्थे । केहीबेर सुस्ताएपछि घर, समाज र देश छाडेर 'आई लभ अरब-वल्र्ड' भन्दै यहाँ आएका प्रदीपलाई थुम्थुम्याउने सुरमा विमलले केही बोले, 'हेर्नुस्, हामी आदर्शमा बाँचेका मनुवा हौं । यो आदर्शको झोला बिसायौं भने हामी नै रहँदैनौं । तर मेरो एक्लो छोरा पनि यो अर्थहीन आदर्शमा आश्वस्त बन्न नसकेर अहिले हामीलाई छाडेर विदेश भासिएको छ । यो समयमा आएको हेरफेरको कुरा हो, सधैं के, किन/कसरीको जवाफ नपाइँदो रहेछ ।' पुस्तक पढेका भरमा संसार फेर्न हिँडेको आफ्नो पुस्ताले केही पाएन, बरु 'आदर्श र अडान' मात्रै पायो भन्ने निभाको कुरामा खगेन्द्र पनि एकमत देखिए ।

सामुमा खगेन्द्र र विमल देखेपछि जोकोही पनि बहस गर्न रुचाउँथ्यो । नेसनलमा श्रमिक मदन श्रीसदेखि घाँसे मैदानमा अर्का घाँसे-श्रमिक मुकुन्द दाहालसम्म 'अब मुलुक कता जाला ? प्रचण्डले के गर्लान् ? वैद्य बा किन बहुलाएका ?' भनेर प्रश्नहरू फ्याँकिरहेका हुन्थे । संग्रौला र निभा भने सकेसम्म मध्यमार्गी बनेर नेता रामचन्द्र पौडेलकै शैली -न यो न त्यो) मा जवाफ फर्काइरहेका हुन्थे ।

दुई लेखक अर्को एउटा मध्याह्नमा जुबेराको कृषि मजेरामा पुगे, थुम्कनाथ सिम्खडा खोज्दै । १४ वर्ष मरुभूमि खनीखोस्री गरेर चितवनका थुम्कनाथ घर फिरेछन् तर गोर्खाका राजन र दीपकहरूको भीड त्यहाँ अझै रहेछ । उनीहरू नाना -पदिना) र जाजिर -सलाद साग) टिपिरहेका थिए । जुबेराको क्याम्प वरपर १ सय जति नेपाली कृषि श्रमिक रहेछन् । अधिकांश गैरकानुनी हैसियतमा थिए । विक्षिप्तजस्ता लाग्ने चितवनका गंगे विश्वकर्मा त परैबाट डाँको छाड्दै आए र, भने, 'मेरी श्रीमतीको स्वर सुन्न मन छ, एकपटक तपाईंको फोनमा कुरा गराइदिनुस् न सर ।'

सहानिया छेउको अर्को मजरामा बुटवलका यमनाथ चापागाई खोज्दै लेखकहरू पुगे । यमनाथसँग पोखराका लाले, गोर्खाली विश्वसहितका एक दर्जन श्रमिक भेटिए । १२ वर्षदेखि घर नगइरहेका यमनाथले भेट्नासाथै नेपालको राजनीतिबारे सोधे, माओवादीका सपनाका कुरा सोधे, अन्तिममा मात्रै आफ्नो परिवारका बारे सुनाए । यो हूलमा धेरै भगौडा थिए, थोरै मात्रै पताकाधारी थिए । 'अनि तलब कति छ नि ?' कुनै लेखकले सोधिहेरे । दीनदुःखी श्रमिकको जवाफ कवितामा पो आयो—

'यो मनमा व्यथैव्यथा छन् खोइ कसलाई भन्नु

५५० रियाल कमाउँछु खोइ कतिपटक गन्नु'

िि

दिुई वर्षअघि अभि सुवेदीले ऊँट यात्रा क्रममा आफ्नो जाइफल निकै तोडले दुःखेको अनुभव सुनाएका थिए । तर विमल-खगेन्द्र ऊँट मामलामा अचम्मैसँग पारङ्गत निस्किए । 'अभिले चढ्न जानेनछन्, ऊँटको हिँडाइसँगै शरीरको ताल पनि मिलाउनुपर्छ क्या,' खगेन्द्रले सुझाए । विगतका लेखकहरूले इच्छाएका र गरेका केही कर्महरू यसपाला खगेन्द्र- विमलले गर्न पाएनन् । यो मरुभूमिमा छत्रे थिएन, त्यही कारण गधा चढ्न असम्भव भयो । बेनबहादुर पनि थिएन, त्यही कारण लुमा र खजुरबोटे चाख्न पाएनन् । निरजंग पनि मलेसिया पुगेछन्, त्यसैले ऊँटको सिकार खोजेर ल्याउने अर्को कोही भएन । बरु इरानी मार्केटमा मस्तराम बनेर यी दुईले हुक्कापान गरे । यो मामलामा कवि निभा नातागत देखिए, संग्रौला भने अघिल्लो जुनीमा 'हुक्के पो थिए कि' झैं अब्बल देखा परे । त्यसपछि उनीहरूले आँखा छोपिएका बाज हेरे । पँखेटा काटिएका सुगा छोइहेरे । अनि ढुक्कुर, रूपी, जुरेली, काग, भँगेराका पिँजडाहरूमाझ तस्बिर खिचाए । सहानिया र समालका सडक छेउछाउमा खजुरका बोट छेउ तस्बिर खिचाए । ऊँटका लर्को र भेडाबाख्राका बीच तस्बिर खिचे ।  

आइतबार राति हिँड्ने बेलामा पनि लेखकद्वय अल्खोरमा साहित्यिक प्रवचन दिन पुगे । त्यही बिहान नेपाली दूतावासको कन्तबिजोग अवलोकन गर्न गए । तर यात्राका हरेक चरणमा लेखक संग्रौलाले हरिशंकर प्रसाईको 'प्रेमचन्दकी फटे जुत्ते'को सन्दर्भ निकालिरहे । सहयात्रु निभाको बेन्टले जुत्ताको तलुवा उक्किएपछि नयाँ जुत्ता हात परेको तोड पनि यो 'फटे जुत्ते' भित्र हुन सक्थ्यो । अल्खोरको कवि सत्संग सकेर सिधै भिलाजियो पुगेर संग्रौलालाई पनि नयाँ जुत्ता खरिद गरेपछि मात्रै 'फटे जुत्ते'को चियोचर्चो तुरिएको थियो ।

अस्थिर नेपाली राजनीति र यसैका कारण संस्थागत बन्न नसकेको परिपाटीमाझ दुइ बुज्रुक लेखकहरू खाडीका श्रमिकमाझ पुग्दा अस्वाभाविक प्रश्नहरू एक होइन, अनेक थिए । सबै प्रश्न सुन्न र एवंरीतले जवाफ दिन सम्भव थिएन । एउटा अर्को खरो भेलामा एक जिज्ञासुको प्रश्न थियो, 'उसो भए तपाईंहरूको जीवनको उपलब्धि के हो त ?'

'एउटा कवि र कम्युनिस्ट भएरै म ६२ वर्ष बाँचिसके, जीवनमा योभन्दा ठूलो उपलब्धिको कुरा के हुन सक्छ र ?' यसपाला भने कवि विमल निभा चर्को जवाफी बने । यो जवाफमा लेखक संग्रौलाको पनि सहमति झल्कन्थ्यो, उनी नजिकै बसेर फुकी ढल ज्यान हल्लाइरहेका थिए ।

Published on: 20 July 2013 | Kantipur

Back to list

;