s

विदेश छोडी गाउँमा नेता

जयबहादुर रोकाया

हिमालपारिको बस्तीमा यतिखेर ३९ वर्षीय छिरिङ पाल्ज्योर लामाले सिंगो गाविसको नेतृत्व सम्हालेका छन् । गाउँवासीको अनुरोधमा नेतृत्व सम्हाल्न उनी ताइवानको रोजगारी छोडेर गत वर्ष मात्र गाउँ र्फकेका हुन् ।

सरकारले २०५९ मा कार्यकाल सकिएपछि स्थानीय निर्वाचन गर्न नसके पनि उत्तरी चीनको सीमा जोडिएको हिमालपारिको लिमी गाविसले कहिल्यै जनप्रतिनिधिविहीन बन्नुपरेको छैन । सरकारले मान्यता देओस्/नदेओस्, छिरिङ गाविसका अध्यक्ष हुन् । 'अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडामा वडाध्यक्ष चुनिएको छ,' गाविस सचिव धर्मराज रोकायाले भने । सरकारले निर्वाचन गरेको समयमा पनि निर्विरोध चुनाव हुने यो गाविसमा २०५८ पछि पनि पाँचवर्षे पदावधि सकिएपछि पनि निर्विरोध निर्वाचन भएको हो । तीन गाउँको बस्ती भएको यो गाविसमा गाउँपिच्छे पालैपालो अध्यक्ष पद दिने गरिएको छ । छिरिङपाल्ज्योर अध्यक्ष हुनुपूर्व हल्जी गाउँका टसी लाक्पा तामाङ अध्यक्ष थिए । उपाध्यक्षमा भने हल्जी गाउँकै ३३ वर्षीय तन्डुपा तामाङ छन् । गाविसमा यिनकै खटनपटनमा काम हुने गरेको छ । बैठकमा सहभागी भएबापत भत्ता वा पारिश्रमिकको व्यवस्था छैन । बैठकमा उपस्थित नभए उल्टै जरिवाना तिर्नुपर्छ । गाविसको नियमित बैठक हुने भएकाले उपस्थित नहुने प्रतिनिधिले प्रतिबैठक पाँच सय जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ । 'गाविसमा हुने आम्दानी-खर्चको हिसाबकिताब बैठकमा समेत देखाएर पारदर्शी बनाइन्छ,' अध्यक्ष लामाले भने, 'जनताको अध्यक्ष हुनु चानचुने होइन, धेरै जिम्मेवारी छन् ।' अहिले अध्यक्ष भएका लामा स्याम्जोर लामाका नाति हुन् । उनी पञ्चायत कालमा तत्कालीन जिल्ला पञ्चायतका सदस्य थिए । त्यतिखेर लिमीका बासिन्दा उनलाई राजासरह मान्थे ।

कसैले सोध्यो भने हाम्रो राजा हो भन्थे । किनभने, उनी आफ्नो गाउँको समस्या र विकासका लागि काठमाडौंसम्म धाउँथे । 'तत्कालीन मन्त्री समेतलाई भेटेर समस्या दर्साउने हिम्मत राख्ने उनै थिए,' गाविस सचिव रोकायाले भने, उनको कार्यकालपछि कसैले पनि सदरमुकाममा समेत दरिलो पहुँच देखाउन सकेका छैनन् ।' रोकायाका अनुसार ६० वर्ष नाघेपछि आर्थिक, राजनीतिक र सामाजिक अधिकार खोसिने आन्तरिक नियम छ । त्यसपछि घरमा भएका बाँकीमध्येको जेठो पुरुष घरमुली हुन्छ । यहाँ महिलालाई भने घरमुली हुने अधिकार छैन । यही नियमको पालना गर्ने क्रममा स्यामजोरको उमेर ६० वर्ष काटेपछि उनका छोरा राङडोल लामा घरमुली बने । उनको उमेर पनि ६० वर्ष नाघेकाले नाति छिरिङपाल्ज्योर लामालाई घरमुली बनाउन विदेशबाट गाउँमा बोलाएका हुन् । घरमुली बन्न घरमा पुगेको समयमा गाउँमा पनि चुनाव भएकाले उनैलाई सबैले अध्यक्ष बनाएको छिरिङले बताए ।

'गाउँमा आइपर्ने काम गर्नुका साथै आवश्यक पर्दा बैठक गरी छलफल गर्ने र सचिवसँगको समन्वयमा योजना छनोट गरी विकास निर्माणका काम गरिन्छ,' उनले भने ।

'१२ वर्षसम्म ताइवानमा बसेँ,' त्यहाँ कम्प्युटरसम्बन्धी काम गरेको बताउँदै लामाले भने, 'समुदायको नियमअनुसार बुवाको उमेर ६० वर्ष नाघेपछि घरमुली सम्हाल्न बोलाएकाले आएको थिएँ । घरमुली मात्रै होइन, गाउँकै मुली बन्नुपर्‍यो ।' लिमीका तीनै गाउँका बासिन्दाले रोजेकाले आफूले हार्न नसकेर पद स्विकारेको उनले बताए । 

लामा बस्ती भएको यो गाउँमा पढे-लेखेका बिरलै छन् । गाउँमा रोजगारीका अवसर नभएको र व्यवसाय गर्ने अवसर पनि नभएकाले पढेलेखेका युवा सहरमै बस्ने गरेका छन् । सरकारी ऐन-कानुन यो गाविसमा निष्क्रिय झैं छ । यहाँ परम्परागत समुदायिक नियम र कानुन छ । यी नियम-कानुन प्रत्येक वर्षको मंसिर महिनामा सामूहिक बैठक बसेर सच्याउने वा थपघट गर्ने चलन छ । गाउँको प्रशासनिक वा समाजिक क्रियाकलाप यिनै दस्ताबेजले चलेका छन् । 'हामीले गाउँको यिनै नियमभित्र बसेर काम गर्नुपर्छ,' सचिव रोकायाले भने, 'सरकारी नियम-कानुन त कागजमा मात्र मिलाउने हो ।

Published on: 6 February 2013 | Kantipur

Back to list

;