s

विदेशी भूमिमा मृत्यु

विदेशी भूमिमा श्रम गर्न गएका हाम्रा नेपाली श्रमिकहरूको व्यवसायजन्य सुरक्षा नहुँदा मृत्यु भएका दुःखद् खबर बेलाबखत आइरहन्छन् । अहिले सन् २०१२ को अन्त्यसँगै यो वर्षभरि मलेसिया र खाडी मुलुकमा ज्यान गुमाएका नेपाली श्रमिकको एकमुष्ट तथ्यांक सार्वजनिक भएको छ । तथ्यांकअनुसार, गएको एक वर्षमा खाडी मुलुक र मलेसियामा कार्यरत ८ सय ३४ नेपाली श्रमिकको ज्यान गएको छ । यो तथ्यांकले वैदेशिक रोजगारका लागि गएका नेपाली श्रमिकको जीवन सुरक्षाबारे डरलाग्दो तस्बिर देखाएको छ । श्रम गर्ने ऊर्जाशील युवा उमेरमा यति धेरै संख्यामा नेपाली श्रमिकहरूको मृत्यु हुनुलाई के स्वाभाविक रूपमा लिन सकिन्छ ? कमाउन भनेर विदेश गएका हाम्रा श्रमिकहरू किन विदेशी भूमिमा देहत्याग गर्दै छन् ? गम्भीर समीक्षा हुनु आवश्यक छ ।

मेलेसिया र खाडी मुलुकमा भएका धेरैजसो मृत्यु मुख्यतः कार्यस्थल, ट्राफिक दुर्घटना, आत्महत्याका कारण हुने गरेका छन् । साउदी र कतारमा सुतेको सुत्यै मृत्यु भएका घटना धेरै छन् । साउदीमा जानेको संख्या पनि अन्यत्रभन्दा अधिक छ र सुतेको सुत्यै हुनेलाई डाक्टरहरूले रिपोर्टमा ँनेचुरल डेथ’ र कतारमा ँहृदयाघात’ भनेर उल्लेख गरिदिने गरेका छन् । जानकारहरू आवश्यकताअनुसार पानी नपिएका कारण हृदयाघात हुने प्रवृत्ति बढी भएको एकथरी ठम्याइ छ भने त्यहीं कार्यरत चिकित्सकहरू खानपान, नियमित स्वास्थ्य जाँच, आवश्यकताभन्दा एउटै कोठामा बढी कामदार राखिँदा पनि निरोगी मृत्युदर बढिरहेको बताउँछन् । मृत्युको अर्को कारण, नेपालभन्दा भिन्दै मौसम पनि हो । खाडीमा गर्मीको समयमा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेको पाइएको छ । यसरी गर्मी याममा मृत्युदर उच्च हुनु भनेको अपेय पदार्थको सेवन र मौसम अनुकूल नहुनु हो । यसबाहेक कार्यस्थलमै जोखिमपूर्ण काम गरेका कारण पनि मृत्यु हुने गरेको छ ।

कतिपय श्रमिक अधिक जोखिमपूर्ण श्रम गर्नुपर्दा पनि मृत्युवरण गर्नुपरेको छ । यस्ता अनेक कारणको खोजी गर्दै विदेशी भूमिमा उच्चदरमा भइरहेको मृत्युलाई न्यून र नियन्त्रण गर्न आवश्यक उपायको खोजी सरकार र ऊ मातहतको वैदेशिक रोजगारका निकायहरूले गर्नु अपरिहार्य छ । हामीले के बिर्सन हुन्न भने विदशी भूमिका अल्पायुमै मृत्युवरण गरिरहेको नेपाली श्रमिक भनेको युवावर्ग हो । त्यो युवावर्ग जसले नेपाली अर्थतन्त्रमा पनि महत्त्वपूर्ण भरथेग गर्ने विदेशी रेमिट्यान्स भित्र्याइरहेको छ । त्यो युवावर्ग, जो देश निर्माणका लागि आवश्यक र महत्त्वपूर्ण मानवीय स्रोत हो । यहाँ स्वास्थ्य परीक्षण गरेर निरोगी सावित भएको व्यक्ति विदेशी भूमिमा काम गर्न गएपछि त्यहाँको समग्र वातावरण अनुकूल नभएर अनाहकमा विदेशी भूमिमा जीवन समाप्त हुनु भनको राष्ट्रिय क्षति हो । निश्चय पनि मृत्यु मानवजीवनको नियमित नियति हो । कसैले पनि मृत्युलाई जित्न सक्दैन ।

तर वैदेशिक रोजगारका लागि विदेश गएर श्रम गर्दागर्दै मृत्यु भोग्न बाध्य कयौंका मृत्यु स्वाभाविक र नियमति होइन । उनीहरूको मृत्यु हुनुमा वैदेशिक रोजगारका लागि नेपाली श्रमिकको आपूर्ति गर्ने व्यवसायीहरूको पनि कहीं न कहीं त्रुटि छ । कयौं नेपाली श्रमिकलाई विदेशमा काम गर्न जाँदै छु भन्ने थाहा हुन्छ तर के काम गर्न जाँदै छु अथवा कुन कम्पनीमा कस्तो श्रम गर्नुपर्ने हो ? त्यो केही जानकारी हुँदैन र रोजगारी व्यवसायीले पनि त्यसबारे उसलाई अवगत गराएको हुँदैन । जब कि कुनै पनि कामदार आपूर्ति गर्दा उसलाई उसको काम, कम्पनीबारे मात्रै जानकारी होइन, कामका विषयमा आवश्यक तालिम पनि दिनुपर्ने हुन्छ । कामका बारेमा खानेबस्ने उचित प्रबन्ध गर्ने, मौसमको जानकारी दिने, आवश्यक तालिम दिएर कामबारे अभ्यस्त बनाउने आदि नगरी सिधै काममा जानुपर्दा कतिपय नेपाली श्रमिकको जीवन जोखिममा पर्ने गरेको छ । तसर्थ, नेपाली श्रमिकको जीवन सुरक्षाका सवालमा सरकार, व्यवसायी र सबै सरोकारवाला गम्भीर हुनु आवश्यक छ ।

Published on: 13 January 2013 | Kantipur

Back to list

;