s

विदेश जानेक्रममा ठगिएका १२ युवाले लिए क्षतिपूर्ति

वैदेशिक रोजगारीका सिलसिलामा ठगीमा परेका खोटाङका १० सहित १२ युवाले क्षतिपूर्ति पाएका छन्। दुई वर्षको अवधिमा मेनपावर कम्पनी र एजेण्टको ठगीमा परी बिभिन्न देशमा पुगेर स्वदेश फिर्ता भएका जिल्लाका १० तथा सुनसरी र गोरखाका एक/एक युवाले क्षतिपूर्ति पाएको सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्र खोटाङले जनाएको छ।

सुचना केन्द्रका अनुसार वैदेसिक रोजगारीका सिलसिलामा ठगीमा परी ओमन पुगेर फर्किएका रतन्छा–६ का प्रकाश राई,  मलेसिया पुगेका बुईपा–६ का सागर राई, नेर्पा–४ का तोयानाथ बास्तोला, दिक्तेल–३ का राजकुमार पाण्डे, टेम्मा–९ का प्रदीप खत्री, डाँडागाउँका अस्विन सिँग्देलले क्षतिपूर्ति पाएका हुन्। यस्तै, कतार पुगेर फिर्ता भएका नुनथला–९ का हर्क तामाङ, बाक्सिला–५ का नवराज तामाङ, नुनथला–९ का ताराकुमार तामाङ, बाक्सिला–५ का मित्रकुमार तामाङले क्षतिपूर्ति लिएको सुचना केन्द्रका निमित्त कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिए। 
सूचना केन्द्रको पहलमा अलपत्र अवस्थाबाट उद्दार गरेर स्वदेश फर्काइएका उनीहरुले निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल्स फोरमको कानूनी परामर्श र सहयोगमा मेनपावर कम्पनी तथा एजेन्टबाट क्षतिपूर्ति लिएका हुन्। खोटाङका १० जनासहित मलेसिया पुगेर फर्किएका सुनसरी झुम्काका राजन खत्री र कतारबाट फर्किएका गोरखा मनोकामना–१ का सन्तोष परियारले पनि क्षतिपूर्ति लिएका छन्। ठगिएका युवाले प्रतिव्यक्ति ४५ हजारदेखि ८० हजारसम्मका दरले कुल १० लाख ६७ हजार पाएका छन्। ठगीमा परी खाडी मुलुक पुगेर अलपत्र परेको अवस्थामा उनीहरुलाई सुचना केन्द्रको पहलमा स्वदेश फर्काइएको थियो।

 

खोटाङका आठ मृतक परिवारले पनि...

२०६८ साल असोज यता विभिन्न देशमा ज्यान गुमाएका खोटाङका ८ मृतक परिवारले पनि राहत रकम पाएको परियोजनाले जनाएको छ। साउदी अरबमा ज्यान गुमाएका नेर्पा–८ मनबहादुर कामी, सप्तेश्वर–७ का जीवन राई, अर्खौले–१ का नरबहादुर पुरी, बाँझेच्यानडाँडा–५ का खड्गबहादुर गुरुङ, खार्मी–९ का रामनाथ राई, मलेसियामा ज्यान गुमाएका खिदिमा–६ का सिंहराज राई, राजापानी–७ का कमलकुमार राई तथा कतारमा ज्यान गुमाएका बाँझेच्यानडाँडा–२ का दिलीप भुजेलको परिवारले क्षतीपूर्ती लिएको परियोजनाका खोटाङ संयोजक भक्त राईले जानकारी दिए। उनीहरुले बैदेसिक रोजगार प्रबर्धन बोर्डबाट १ लाख ५० हजार तथा बीमा कम्पनीबाट बाँकी रकम गरी प्रतिपरिवार कम्तीमा ६ लाख ५० हजारदेखि ८ लाखसम्म राहत पाएका छन्। 
यस्तै, यस अवधिमा जिल्लाका ११ जनाको उद्दार तथा गैर–कानूनीरुपमा काम गर्दै आएका जिल्लाका पाँच युवालाई वैधानिकता प्रदान गर्न सहयोग पुर्‍याएको परियोजनाले जनाएको छ। दुई वर्षको अवधिमा अलपत्र, ठगी, मृत्यु लगायतका प्रकृतिका १०७ वटा मुद्दा दर्ता भएको जनाइएको छ।

Published on: 13 December 2013 | Nagarik

Back to list

;