s

विदेश जाने ७.८४ प्रतिशतले बढे

 
चालू आर्थिक वर्षको ६ महिनामा कामको खोजीमा एक लाख ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ हजारभन्दा बढी हो। गत वर्षको यही अवधिमा जम्मा एक लाख ५८ हजार युवा बिदेसिएका थिए। यो वृद्धिदर ७.८४ प्रतिशत हो।
आन्तरिक बजारमा रोजगारीका नयाँ अवसर सिर्जना हुन नसकेपछि बिदेसिनेको संख्या बर्सेनि बढ्दो क्रममा छ। चालू आर्थिक वर्षको तथ्यांक अध्ययन गर्दा गत वर्षको तुलनामा दुईवटा महिनामा बाहेक बाँकी सबै महिनामा बिदेसिनेको संख्या बढेको छ। गत वर्ष भदौ र असोजमा यस वर्षभन्दा बढी कामदार गएका थिए।
वैदेशिक रोजगार विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार गत पुस महिनामा मात्र काम गर्न विदेश जानेको संख्या ५० हजार पुगेको छ। यसमा पुरु षको संख्या ४६ हजारभन्दा बढी छ। महिला कामदार भने यो महिना जम्मा तीन हजार एक सय ५० जनामात्र गएका छन्। एउटै महिनामा ५० हजारभन्दा बढी काम गर्न विदेश जाने तथ्यांकले आन्तरिक बजारमा बेरोजगारीको समस्या थप चुलिँदो रहेको पुष्टि हुन्छ।
देशगत आधारमा यसपटक पनि मलेसिया जानेकै संख्या सबैभन्दा धेरै छ। विगत लामो समयदेखि संख्याका आधारमा मलेसिया नेपाली कामदारको पहिलो रोजाइमा पर्दै आएको छ। यो महिना बिदेसिएका ५० हजारजनामध्ये मलेसियामा मात्रै १८ हजार आठ सय ७४ जना गएका छन्। दोस्रो र तेस्रो स्थान क्रमश: कतार र साउदी अरबले लिएका छन्। मलेसियामा बहुराष्ट्रिय कम्पनी स्थापना हुने क्रम बढेको छ।
यसबाहेक मलेसियाले सन् २०२१ सम्म आफूलाई विकसित मुलुकको दर्जामा पुर्‍याउने तयारीका साथ विकास निर्माणका काम द्रुत गतिमा अघि बढाइरहेको छ। यो मुलुकमा भौतिक पूर्वाधार, सूचनाप्रविधि, पर्यटन तथा उद्योगधन्दाको व्विस्तार र सुधारका काम भइरहेको विभिन्न समाचार संस्थाले जनाएका छन्। पूर्वाधार विस्तार र उद्योगधन्दामा विदेशी कामदारको माग बढ्दो छ। नेपाली म्यानपावर कम्पनीले समेत मलेसिया कामदार पठाउनेतर्फ निकै पहल गरेका छन्। खाडी मुलुकको तुलनामा मलेसियाको सामाजिक अवस्था केही खुकुलो रहेकाले नेपालीको पहिलो रोजाइमा यही मुलुक परेको हो।
बिदेसिने युवाको संख्या बढे पनि काम गर्ने गुणस्तर भने बढ्न सकेको छैन। काम गर्न विदेश जानेमध्ये करिब ८० प्रतिशत अदक्ष कामदार हुने गरेका छन्। कामदार विदेश पठाउनुअघि अनिवार्य प्राविधिक तालिम लिनुपर्ने व्यवस्था गर्न अर्थविद् र रोजगार क्षेत्रका विज्ञले सुझाउ दिने गरेका छन्। संख्या बढेको अनुपातमा मुलुक भित्रिने रेमिट्यान्सको मात्रा बढ्न सकेको छैन।
नेपाली कामदार जाने मुलुकको संख्यासमेत बढेको छैन। सरकारले एक सय नौवटा देशमा कामदार पठाउन पाउने व्यवस्था गरे पनि ९० प्रतिशतभन्दा बढी कामदारको गन्तव्य मलेसिया र खाडी मुलुक हुने गरेको छ।
विदेसिने कामदारको संख्या, गत आवसँग चालु आवको तुलनात्मक तथ्यांक
आव             साउन                 भदौ         असोज           कात्तिक             मंसिर                     पुस
२०६९/७०    ३२६८५        २७०९८     ३८००५       २५६१७           ३४९४७             ४०८६४
२०७०/७१    ४५९३७       २४२१४     २७०२९       ३१९४९            ४१६३४              ५००३२
पुसमा सबैभन्दा बढी कामदार गएका पाँच मुलुक
मुलुक                          संख्या
मलेसिया                      १८८७४
कतार                          १२८३६
साउदी अरब                   ८४९८
यूएई                           ५३१७
कुवेत                          २५६३
स्रोत : वैदेशिक रोजगार विभाग
 
Published on: 2 February 2014 | Annapurna Post

Back to list

;