s

विभागमा श्रम स्वीकृति लिनेको चाप

रोेजगारीका लागि श्रम स्वीकृति लिन राजधानीको तीनकुनेस्थित वैदेशिक रोजगार विभागमा कामदारहरूको चाप थामिनसक्नु गरी बढेको छ ।

उनीहरूले समयमै काम हुन नसक्दा आफ्नो हवाई उडान समयसमेत गुमाउनुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

समयमै काम हुन नसक्दा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने कामदारहरू बिहान ३ बजेदेखि नै विभागमा लाइन लाग्न जाने गरेका छन् । ढिलो पुग्दा १ दिनमा हुने काम पनि २ दिन लाग्ने गरेको उनीहरूको गुनासो छ । 'बिहान ८ बजेदेखि लाइनमा बसेको थिएँ, भौचर भर्ने काम भयो तर श्रम स्वीकृति पाइनँ,' कतार जान लागेका भोजपुर नेपालेडाँडा ९ का तीर्थबहादुर खड्काले भने, 'फेरि अर्को दिन पनि दुःख पाउनुपर्ने भयो ।'

विभागभित्र रहेको एकमात्र बैंकको काउन्टरमा कल्याण कोषका लागि रकम तिर्दा ४ घन्टा लागेको र श्रम स्वीकृततर्फ लाइन झन् ठूलो भएकाले काम हुन नसकी फर्किनुपरेको उनले बताए । विभागले एउटै बैंकलाई रकम जम्मा गर्ने जिम्मा दिएको छ ।

विभागस्थित एभरेस्ट बैंकको एक्टेन्सन काउन्टरका अनुसार बिहीबारमात्र व्यक्तिगत १७ सय ८१ र संस्थागत १५ सय ५९ गरी ३३ सय ४० कामदारले कल्याण कोषका लागि बैंक भौचर भरेका छन् । कल्याण कोषका लागि हरेक कामदारले १ हजारका दरले रकम जम्मा गर्नुपर्ने निमयमानुसार बिहीबारमात्रै ३३ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ ।

महानिर्देशक फेरिए

महानिर्देशक विनोद केसी विभागबाट सरुवा भएपछि बिहीबारदेखि उक्त पद उपराष्ट्रपतिको कार्यालयका सहसचिव रवीन्द्रमोहन भट्टराईले सम्हालेका छन् । केसी शान्ति तथा पुनर्निर्माण मन्त्रालय सरुवा भएका छन् । विभागमा करिब २ महिनायता ५ निर्देशक पनि थपिएका छन् । अब विभागमा महानिर्देशक, ९ निर्देशक, काजका २ सहित ९९ कर्मचारी पुगेका छन् ।

नयाँ महानिर्देशक भट्टराईले श्रम स्वीकृत लिने कामदारको चाप अत्यधिक भएकाले शुक्रबारदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ बिहान र बेलुका २/२ घन्टा कार्यालय समय थपिने बताए । जसअनुसार विभाग बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुल्नेछ । 'चाडपर्व र चुनावले गर्दा कामदारको चाप बढ्यो, कर्मचारीले जति गर्दा पनि नभ्याएपछि दैनिक ४ घन्टा समय थप्दैछौं,' भट्टराईले भने, 'पहिला पेन्डिङ कामलाई सामान्य बनाएपछि कामदारलाई सहज बनाउने अरू उपायतर्फ लाग्छौं ।' विभागले दैनिक व्यक्तिगत र संस्थागत गरी ३ हजारभन्दा बढी कामदारलाई सेवा दिंदै आएको जनाएको छ ।

एजेन्टहरूले तोडफोड गरे

समयमै काम हुन नसकेको आरोप लगाउँदै केही म्यानपावर कम्पनीका एजेन्टले बिहीबार विभागको संस्थागत श्रम स्वीकृति शाखाको झ्यालका सिसा तोडफोड गरेका छन् । विभागले तोडफोडकारी कसैलाई पक्राउ गरेको छैन । 'अनुसन्धानका लागि प्रहरी परिचालन गरेका छौं,' विभागका एक अधिकारीले भने, 'पत्ता लगाएर कारबाही गर्छाैं ।' विभागमा यसअघि पटक-पटक तोडफोड हुँदा कोही पक्राउ परेका छैनन् ।

Published on: 29 November 2013 | Kantipur

Back to list

;