s

ह्‍वात्तै घटे कतार जाने कामदार

उत्तम काप्री
 
वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ । तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो ।
 
रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन् । पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो । केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए । कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो ।
 
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि आठ हजार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या अहिलो महिनाको तुलनामा चार हजारभन्दा बढीले कम हो । यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो । कार्यालयका अनुसार जुन ५ भन्दाअघि सरदर दैनिक चार सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थे । रमजानका कारण पनि केही घटेको हुन सक्ने कार्यालयका प्रमुख तेजेराज पाण्डेको अनुमान छ । अरब देशमा रमजानको महिना पूरै जस्तो काम ठप्प हुन्छ । कार्यालयका अनुसार पछिल्लो एक महिनामा कतारबाट नयाँ माग आउन सकेको छैन । सबै पुरानो मागमा युवा अहिले कतार गइरहेका छन् ।
 
मलेसिया, दुबई र साउदी अरबमा आएको आर्थिक संकट तथा आन्तरिक समस्याका कारण नेपाली रोजगारीको अवसर गुमाउन पुगेको थिए । कतारले सन् २०२२ मा सञ्चालन हुने विश्वकप फुटबलको तयारीसँगै निमार्णमा तीव्रता दिँदा रोजगारीको अवसरका बढेको थियो । नेपालबाट अहिलेसम्म १२ लाखभन्दा बढी युवाले कतार जान अन्तिम श्रम स्वीकृत लिइसकेका छन् । पाँच लाखभन्दा बढी युवा अहिले कतारमा काम गरिरहेका छन् ।
 
चालू आर्थिक वर्षको १० महिनामै एक लाख २० हजार जति युवा कतार पुगिसेका छन् । कतारको रोजगारीमा कस्तो समस्या आउने हो भनेर कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स वृद्धिदर घटेका बेला कतारको समस्याले तत्काल रेमिटेन्समा असर नगरे पनि दीर्घकालीन रूपमा भने असर गर्ने अर्थविद् बताउँछन् । कतारले भने आफ्नो देशमा आप्रावासी कामदारलाई कुनै समस्या नआउने बताइरहेको छ ।
 
कतारमा खाडी मुलुकले संयुक्त रूपमा लगाएको नाकाबन्दीसँगै मुस्लिमको रमजान पर्वले समेत कामदारको संख्यामा गिरावट आएको छ । त्यसमा पनि स्थानीय तहको निर्वाचन, म्यानपावर व्यसायीको चुनाव र खेती किसानीको समयले पनि कतार तथा समग्र रोजगारीका जानेको संख्याका गिरावट आएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल बताउनुहुन्छ ।
 
‘नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौं म्यानपावर पनि पर्ख र हेरको अवस्थामा छन', ढकाल भन्नुहुन्छ, ‘ रोजगारदाता कम्पनी पनि विकसित घटनाक्रम हेरेर मात्रै कामदार माग गर्ने सोचमा छन् ।' कतारको रोजगारी संकट सिर्जना भएको अवस्थामा पूरै गल्फका देशमा समस्या आउने ढकाल बताउनुहुन्छ । सरकारले कि नेपालमै स्वरोजगारीको अवसर सिर्जना गराउनुपर्छ नभए नयाँ गन्तव्य मुलुकको खोजीमा ध्यानदिनुपर्ने ढकालको भनाइ छ ।
 
तर, तत्काल आत्तिहाल्नुपर्ने अवस्था नरहेको कूटनीतिक नियोगका अधिकारी बताउँछन् । तत्काल केही सामान्य असर देखिए पनि बिस्तारै महँगी बढ्दै जाने र सामानको अभाव हुन थाल्नेछ । खर्च बढ्ने भएकाले कतारबाट आउने रेमिटेन्स घट्नसक्ने अनुमान छ । नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रो योजना र सन् २०२२ को विश्वकप फुटबलका लागि आठवटा स्टेडियम कतारमा बनिरहेका छन् । सानो देश भएपनि कतार आर्थिक रूपमा बलियो राष्ट्र हो । सानो राष्ट्रमाथि ठूलो राष्ट्रले आफ्नो प्रभुत्व देखाउन खोजको प्रध्यापक डा.सूर्यनाथ मिश्र बताउनुहुन्छ । उडान बन्द गरे पनि यी राष्ट्रले आयातनिर्यात बन्द गर्न सक्दैनन् । गल्फ फेडेरेसनले समेत वार्तामा बोलाइसेको अवस्थामा छिट्टै समस्या समाधान निस्कने मिश्रको भनाइ छ ।
 
लामो सयमसम्म समस्या समाधान नभएको अवस्थामा नेपाली कामदारमा केही समस्या आउला तर अहिले नै आत्तिनुपर्ने अवस्था नभएको मि श्र बताउनुहुन्छ । विगत दुई वर्षदेखि मलेसिया, साउदी अरब र दुबईले नेपाली कामदारको माग घटाएपछि कतार जानेको संख्या बढेको हो । सात राष्ट्रको कूटनीतिक सम्बन्ध अन्त्यको निर्णयले नेपालीले पाउँदै आएको रोजगारी गुम्ने खतरा बढेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तमाङ बताउनुहुन्छ ।
 
Published on: 26 June 2017 | Annapurna Post

Back to list

;