s

वास्तविक श्रमिकलाई थाहा छैन श्रमिक महिला दिवस

अछाम : सदरमुकाम मंगलसेनको खुल्लामञ्चमा श्रमिक महिलाका बारेमा बृहत् आमसभामा महिला अधिकारसम्बन्धी प्रवचन चलिरहेको थियो। अन्तरपार्टी महिला सञ्जाल अछामले विभिन्न निकायको सहयोगमा शनिबार दिउँसो खुलामञ्चमा श्रमिक महिलाको हकअधिकारका लागि आमसभा गरिरहँदा त्यसको करिब दुई सय मिटर तल ४५ वर्षीया देवसरा सार्की ढुंगा ओसारपसार गरिरहेकी थिइन्।

शनिबार एक सय चार औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो भन्ने उनलाई थाहा थिएन। 'दिवस के हो, मलाई त थाहा छैन', गर्मीले निथु्रक्क भिजेको अनुहारको पसिना पुछ्दै उनले भनिन्, 'म त बिहानैदेखि काममा छु।' लामो समयदेखि मजदुरी गर्दै आएकी देवसराले मरिमेटी काम गरे पनि समयमै पैसा नपाउने गरेको पीडा सुनाइन्।

भारतमा नोकरी गर्ने पतिले कमाएको पैसाले छोराछोरी पाल्न नपुग्ने भएपछि आफूले दैनिक मजदुरी गरी खर्च जुटाउने गरेको देवसराले बताइन्। 'तीन छोरा र एक छोरी छन्। उनीहरूलाई खान, लगाउन तथा पढाइखर्च जुटाउन पतिको कमाइले मात्र पुग्दैन। त्यही भएर मजदुरी नगरी हुँदैन', देवसराले भनिन्, 'मलाई त यो दिवसका बारेमा थाहा नै छैन। थाहा भए पनि काम गर्न छोडेर कार्यक्रममा गए ठेकेदारले पैसा दिँदैन। त्यही भएर कामबाहेक अरू कुरा थाहा हुँदैन।'

देवसरासँगै मजदुरी गरिरहेकी मंगलसेन ३ की २१ वर्षीया सपना नेपालीलाई पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा थाहा छैन। घरको आर्थिक अवस्था कमजोर हुँदा ९ कक्षामै पढाइ छोडेर ज्यालामजदुरी गरी दैनिक तीन सय ज्याला लिने गरेकी सपनाले जुनसुकै दिवस भए पनि आफूले दिनभर काम नगरे गुजारा नचल्ने बताइन्। दिनभर गाह्रो काम गर्नुपर्ने भए पनि ज्याला थोरै भएको उनले सुनाइन्। दिनभर मजदुरी गर्दा पाँच सयसम्म ज्याला हुनुपर्ने माग उनको छ।

महिलाको हकअधिकार स्थापित भएको उपलक्ष्यमा हरेक वर्ष मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जसका लागि मनाइएको हो, तिनीहरूमध्ये अधिकांशलाई यसबारे थाहा छैन। केही महिलाले सार्वजनिक रूपमा कार्यक्रम मनाइरहँदा वास्तविक श्रमिक महिला भने सदरमुकाम मंगलसेनका विभिन्न ठाउँमा घर निर्माणदेखि गिट्टी कुट्ने काममा व्यस्त थिए।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सदरमुकाम मंगलसेनमा शनिबार र्‍याली निकालियो। र्‍यालीमा समान कामको समान ज्याला कायम गर, बालविवाह अन्त्य गरौं, लैंगिक विभेद अन्त्य गरौंजस्ता नारा लगाइएको थियो।

'नारी दिवसको पत्तै भएन'

शिवप्रसाद उप्रेती
आरुघाट : आरुघाट बजारसँगैको घरेलु चौरमा १०४ औं महिला श्रमिक दिवसको भव्य समारोह चल्दै थियो। स्थानीय जनप्रिय महिला समूहको संयोजनमा महिला विकास कार्यालयले आयोजना गरेको जिल्लास्तरीय कार्यक्रम भइरहे पनि मञ्चछेउमै बूढीगण्डकीकिनारमा श्रमिक महिला गिटी कुटिरहेका थिए।

'हामीलाई त कार्यक्रम छ भन्ने नै थाहा छैन', लापु ४ भिरकुनाकी ३५ वर्षीया काली गुरुङले भनिन्, 'यहाँ गिटी कुटे भरे छाक टार्ने पैसा आउँछ। त्यहाँ कार्यक्रममा गए क्यै न क्यै।' एक बोरा गिटीलाई ४० रुपैयाँमा बेच्ने गरेको उनले बताइन्। 'क्यै नभए नि दिनभरिमा आठदस बोरा गिटी कुटिन्छ', उनले भनिन्, 'एक बोराको ४० रुपैयाँ, एक ट्र्याक्टरको चार हजार रुपैयाँ।' यही कमाइबाट तीनजना केटाकेटीलाई भीमोदय उच्च माविमा पढाइरहेको उनले बताइन्।

सँगै काम गरिरहेकी केरौंजा ६ की माया गुरुङले पनि महिला श्रमिक दिवसको अर्थ बुझेकी छैनन्। 'खै कार्यक्रम रहेछ। हामीले त यहीं आएपछि सुनेको', गुरुङले भनिन्, 'कार्यक्रममा त कति सुकिलासुकिला मान्छे आउँछन्। हामी त्यहाँ गयो भने त सबै मिलेर हामीलाई नै हेर्लान् नि, कस्तो मैलोधैलो आइमाई भनेर।'

त्यस्ता कार्यक्रममा हिँडेर भरे चुलो नबल्ने चिन्ता उनलाई पनि छ। 'दिनभरि कार्यक्रममा बस्यो भने त भरे चुलोमा आगो बल्दैन', उनले गुनासो गरिन्, 'अरूले पढे, जागिर खाए। धेरै कुरा जानेका छन्। कार्यक्रम गर्दै हिँड्छन्। हाम्रो त काम गर्ने जिन्दगी। यताउता हिँड्यो भने खानै पाइँदैन।'

बूढीगण्डकीकिनारमा गिटी कुट्नेहरूमा महिला मात्रै छन्। घरका अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने गरेकाले बूढीगण्डकीकिनारमा महिलामात्रै गिटी कुट्ने गर्छन्। 'कसैका लोग्नेहरू विदेशमा छन्। कसैका घर बनाउने सिकर्मी र डकर्मी छन्। हामीचाहिँ यही काम गर्छौं', माया गुरुङले भनिन्। यही गिटी पनि गाविसले प्रतिबन्ध गरेकाले समस्या परेको उनीहरूको गुनासो छ।

'खै केके ठेक्कासेक्का मिलेको छैन रे भनेर बगरबाट झिक्न दिँदैनन्। अनि किनारबाट झाडीमा ल्याएर कुट्ने गरेको हो', उनले भनिन्। आरुघाटभन्दा माथिका मान्बु, लापु, गुम्दा, उहिया, कासीगाउँ, केरौंजालगायत गाउँबाट आरुघाटमा बसोबास गर्न आएका धेरै महिला बजारछेउमा टहरो बनाएर बस्ने गरेका छन्। उनीहरूमध्ये अधिकांश महिला बालबच्चा पढाउन दिनभर गिटी कुट्ने गर्छन्।

Published on: 9 March 2014 | Annapurna Post

Back to list

;