s

वेटर काम भनेर काठमाडौंमै बालिकाहरूलाई यौन व्यवसायमा

एक साताअघि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको टोखा नगरपालिका-९ मा रहेको खाजाघरबाट बालिकाको उद्धार गर्‍यो।

बालिकालाई वेटर भनेर राख्ने र यौन व्यवसायमा लगाउने सूचना प्रहरीले पाएको थियो। सूचनाअनुसार वैशाख १८ गते साँझ पुगेको प्रहरीले बालिकालाई उद्धार गरी होटल सञ्चालकलाई पक्राउ गर्‍यो।

ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार त्यतिबेला होटलमा खाजा खान जाने ग्राहकले नै प्रहरीलाई सूचना दिएका थिए। अनुसन्धानका क्रममा ती बालिकालाई गत कात्तिक महिनादेखि त्यसरी नै काममा लगाएको प्रहरीले फेला पारेको थियो।

पक्राउ परेका होटलका सञ्चालक दार्चुलाको व्यास गाउँपालिका-६ घर भई टोखा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाहीको हरिवन नगरपालिका-२ की ३७ वर्षीया कान्छीमाया घिसिङ ब्युरोको हिरासतमा छन्।

उनीहरूविरूद्ध मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए।

उद्धार गरिएको बालिकालाई एक संस्थाको रेखदेखमा राखिएको छ।

त्यसअघि वैशाख २ मा ब्युरोले चाबहिलको फ्रेन्डसिप ब्युटी एण्ड स्पाबाट बालिकाको उद्धार गरेको थियो। त्यहाँबाट ओमकुमारी पुन र पुजा लेवालाई पक्राउ गरेको थियो।

ब्युरोको अनुसन्धानबाट बालिकालाई ओमकुमारीले नवलपरासीस्थित आफ्नो रेस्टुरेन्टबाट काठमाडौं ल्याएको खुलेको छ।

सुरूमा नवलपरासीस्थित आफ्नो रेस्टुरेन्टमा बालिकालाई यौन व्यवसायमा राखेपछि काठमाडौं ल्याएर चाबहिलको स्पामा ल्याएर यौन व्यवसायमा लगाइएको खुलेको एसपी मिश्रले बताए।

'बालिकालाई ग्राहकको अनुरोधमा अन्य गेस्ट हाउसमा राइड शेयरिङ एपको प्रयोग गरी पठाउने गरेको समेत पायौं,' उनले भने।

हाल दुबै सञ्चालक ब्युरोको हिरासतमा छन्।

गत चैत १८ गते काठमाडौं नगरपालिका-१६ मा लाफा नाम गरेको खाजाघरबाट पनि १३ वर्षीया बालिकालाई ब्युरोको टोलीले उद्धार गरेको थियो।

बालिकालाई खाजाघर सञ्चालक २३ वर्षीय नवीनकुमार मगरले डर धम्की र प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको खुलेको थियो।

गोप्य सूचनाका आधारमा छापा मार्दा प्रहरीले फागुनदेखि यौन व्यवसायमा लगाइएको बालिकाको उद्धार गरी नवीनकुमारलाई पक्राउ गरेको थियो।

‍२०८० मंसिर १४ गते नयाँ बसपार्क तथा कलंकीमा रहेका विभिन्न होटल तथा गेस्ट हाउसहरूमा एकसाथ तीन जना बालिकालाई प्रहरीले उद्धार गरेको थियो।

ती बालिकालाई धागो काट्ने, घरहरूमा बच्चा हेर्ने तथा होटलमा सरसफाइको काममा लगाइदिने भनेर जबरजस्ती यौन व्यवसायमा लगाएको प्रहरी अनुसन्धानमा खुलेको थियो।

त्यतिबेला तनहुँ घर भई टोखा नगरपालिका-२ बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पूजा राना पक्राउ परेकी थिइन्।

उनले नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेस्ट हाउस सञ्चालन गर्दै बालिकालाई यौन व्यवसायमा लगाउने गरेको पाइएको थियो।

यस्ता घटनाक्रम काठमाडौंमा बढ्दो रहेको एसपी मिश्रले बताए।

बालिकालाई खाजाघर तथा होटलहरूमा यौन व्यवसायमा लगाइएको सूचना दिनदिनै जसो आउँछन्। विश्वस्त स्रोत र सुराकीबाट आएको सूचनालाई प्रहरीले तत्काल अपरेसन चलाउने र अन्य सूचनामा थप बुझेर फलोअप गर्ने एसपी मिश्रले बताए।

'आएका उजुरीहरूमध्ये प्रमाणसहित भेटिने गरेर बालिकालाई उद्धार गर्छौं,' उनले भने, 'प्रमाणसहित फेला पारिएन भने पक्राउ परेका व्यवसायीहरू सहजै छुट्छन्। त्यसैले एक-दुई महिनादेखि एक वर्षसम्म कुरेर व्यवसायीलाई प्रमाणसहित पक्राउ गरिन्छ।'

उनका अनुसार काठमाडौंका सामान्य खाजा पसलदेखि गेस्ट हाउसमा वेटरका नाममा बालिकालाई राखेर यौन व्यवसाय चलाउँछन्।

कतिले त यौन व्यवसायका लागि छुट्टै कोठासमेत बनाएका छन्। उनीहरूले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका, कम पढेलेखेका र आर्थिक अभावका कारण सहर पसेका, काठमाडौंमा बस्ने-खाने टुंगो नभएका, आफन्त नभएका बालिकालाई प्रयोग गर्छन्।

त्यस्ता बालिकाहरूलाई खानबस्न दिने, पढाइदिने वा अन्य कुरामा फकाउने, नमानेमा डरत्रास देखाएर यौन व्यवसायमा लगाउने गरेको एसपी मिश्र बताउँछन्।

उनका अनुसार व्यवसायीले यौन व्यवसायमा बालिका मात्र नभई युवती तथा महिलाहरूलाई समेत प्रयोग गर्ने गरेका छन्। १८ वर्षभन्दा माथिका युवती तथा महिला भने व्यवसायीहरूविरूद्ध उजुरी दिन तथा कारबाही अगाडि बढाउन सघाउँदैनन्।

उनीहरूलाई उद्धार गरेपछि स्व:इच्छाले गरेको वा नगरेको बयान दिन्छन्। त्यसैले उनीहरूले प्रहरीलाई वास्तविकता बताउने नगरेको एसपी मिश्रले जानकारी दिए।

तर बालिकाको हकमा भने त्यस्तो हुँदैन।

उनीहरूले स्व:इच्छाले गरेको भए पनि त्यसमा उनीहरूको सहमति भएको मानिँदैन। त्यसैले बालिका प्रयोग गरिएका खाजाघर तथा होटल सञ्चालकलाई पक्राउ गर्ने गरिएको छ।

'बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएमा त्यसलाई मानव बेचबिखन नै मानिन्छ,' उनले भने, 'त्यसैले पक्राउ परेका व्यवसायीलाई मानव बेचबिखनको मुद्दा चलाइन्छ।'

मानव बेचबिखन तथा ‌ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ‌ओसारपसार गरेको मानिने भनिएको छ।

त्यस्तै, उपदफा २ को (ख) मा ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ, जालसाझ गरी जबरजस्ती गरी, डरधम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने उल्लेख गरिएको छ।

एसपी मिश्रका अनुसार उद्धार गरिसकेपछि बालिकाले प्रायः झुट बोल्दैनन्। उनीहरू प्रहरीलाई वास्तविक बताउँछन्।उनीहरूसँगको कुराकानीमा अधिकांशले सुरूमा पढाइदिने, खान-बस्न दिने बहानामा वेटर बनाएको र जबरजस्ती यौन व्यवसायमा लगाएको बताएका छन्। बस्न-खान दिन्छु भने विश्वास लागेर काममा लागेको उनीहरू बताउँछन्।

बालिकाहरूको आफन्त नहुने र काठमाडौंमा बस्ने खाने टुंगो नहुँदा यस्तो काम गर्न बाध्य हुनुपरेको बताएका छन्। प्रहरीले ती बालिकाहरूलाई सुरक्षित आवासमा राखेको छ।

'कतिपयका परिवार पनि छन्, उनीहरूलाई आफ्ना बालिकाले के गरिरहेका छन् भन्ने जानकारी हुँदैन रहेछ,' एसपी मिश्रले भने, 'अझै कतिपय व्यवसायीले बालिकाका घर परिवारलाई पैसा समेत पठाइदिएको भेट्यौं।'

उनका अनुसार व्यवसायीले पैसा पठाइदिएपछि ती बालिका बाध्य भएर त्यही साहुले भने बमोजिम काम गर्नुपरेको पनि देखियो। उनीहरूले पनि आफूमाथि भएको अत्याचारबारे बोल्न नसक्ने हुनाले डरले जे भन्यो त्यही काम गर्ने गरेको बालिकाहरूले प्रहरीलाई बताएका छन्।

चालु आर्थिक वर्षमा यस्तो व्यवसाय दोब्बर वृद्धि भएको ब्युरोको तथ्यांक छ।

नेपाल भित्रका खाजाघर तथा होटलमा चालु आर्थिक वर्ष २०८०/८१ मा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा १५ वटा मुद्दा दर्ता भएका छन्। जसमा पीडित १५ जना, प्रतिवादी २८ छन्। यसमा सात खाजाघरका र ६ होटलका सञ्चालक गरेर १४ जना पक्राउ परेको ब्युरोको तथ्यांक छ।

गत आर्थिक वर्ष २०७९/८० मा तीन वटा मात्र मुद्दा दर्ता भएको थियो। जसमा तीन जना पीडित थिए भने दस जना प्रतिवादी थिए। त्यसमा दुई रेस्टुरेन्ट र एक गेस्टहाउस गरी ६ जना सञ्चालक पक्राउ परेका थिए।

२०७८/७९ मा भने पाँच वटा मुद्दा दर्ता भएका छन्। त्यसमा पाँच पीडित र दस जना प्रतिवादी छन्। त्यसमा तीन खाजाघर र दुई रेस्टुरेन्टका सात जना सञ्चालक पक्राउ परेका थिए।

मानव बेचबिखन तथा ‌ओसार पसार नियन्त्रण ऐन २०६४ को परिच्छेद -४ को दफा १५ को उपदफा १ (क) मा मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना भनिएको छ।(ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई बेश्यावृत्तिमा लगाउनेलाई कसूरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ।

पक्राउ परेका व्यवसायी तथा प्रतिवादीहरूलाई सोही अनुसारको कानुनी कारबाही अगाडि बढाउने एसपी मिश्रले बताए।

केही वर्षअघिसम्म बाह्य देशमा पुर्‍याएर यौन व्यवसायमा लगाउनुलाई तथा किनबेच गर्नु मानव बेचबिखन भनिन्थ्यो। त्यो अहिले पनि छ। त्यो सँगसँगै नेपालभित्र बालिकाहरूलाई यौन व्यवसायमा लगाएर आफ्ना ग्राहक बढाउने खाजाघर तथा होटलको संख्या बढ्दो देखिन्छ।

'अहिले आन्तरिक मानव बेचबिखन पनि बढ्दो छ,' उनले भने, 'बाहिर लगेर बेच्ने ट्रेन्ड पनि फेरिएको छ। बाहिर देखाउने काम र गराउने काम फरक हुन्छन्।'

यस्ता घटना पहिलाको तुलनामा केही बढेको देखिन्छ। साथसाथै प्रहरीले पनि यस्ता घटनामा चासो राख्न थालेको छ। त्यसैले यस्ता घटना बाहिर आएका हुन्।

बालिकाहरूलाई उद्धार गर्नुको साथै त्यस्तो ठाउँमा नपठाउन वा बालिकालाई काम नगर्न जनचेतनाका कार्यक्रम चलाइएको छ। सर्वसाधारणले पनि यस्ता क्रियाकलाप भएको देखेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ।

'प्रहरी मात्र सक्रिय भएर हुँदैन। यसमा सर्वसाधारणले पनि साथ दिनुपर्छ,' उनले भने।

Published on: 9 May 2024 | Setopati

Link

Back to list

;