s

विदेशको कमाइले बाख्रापालन

गिरुप्रसाद भण्डारी

विदेशमा लामो समय कमाएको रकम ल्याएर यहाँका एक युवाले गाउँमै बाख्रा पालन व्यवसायमा लगानी गरेका छन् ।
स्थानीय जातका एक सय बाख्राबाट व्यवसाय सुरु गरेका रम्दी २ तिग्राका ३२ वषर्ीय नारायणप्रसाद आचार्यले पाँच सय बाख्रा पाल्न सक्ने पूर्वाधार तयार पारेका छन् । भौतिक पूर्वाधार निर्माण, घाँस रोप्न जग्गा खरिद गरी झन्डै ३० लाख रुपैयाँ खर्च भएको उनले बताए । उनले विदेशमा कमाएको पैसा सबै बाख्रापालनमा लगाएका हुन् ।
 
'अहिले ५० लाखको योजना बनाएको छु,' आचार्यले भने, 'विदेशमा मात्र बसेर हुँदोरहेनछ । आफ्नै गाउँको स्रोत साधन प्रयोग गरेर आम्दानी गर्न सकिने देखेर लगानी गरेको हुँ । कतारमा ७ वर्ष रोजगारीमा बिताएका आचार्यले घर फर्केर ठूलो लगानीमा व्यवस्थित खोर निर्माण गरी बाख्रा पाल्न थालेका हुन् । 'सुरुमा बाख्रा पाल्न लागेको देखेर सबैले खिसी गरे,' आचार्यले भने, 'अहिले सबैले स्याबासी दिन्छन् ।'
 
भालुवाङ-प्यूठान मोटरबाटोको रम्दी बजारदेखि नजिकै आचार्यले सुरु गरेको बाख्रा र्फम हेर्न धेरै जना आउन थालेका छन् । नयाँ व्यवसाय गर्ने सोचमा रहेका गाउँका युवा सल्लाह लिन आउन थालेको उनले बताए । पहिले आफ्नै एक बिघा जग्गामा चरन क्षेत्र बनाएका थिए । यस वर्ष तीन बिघा खरयान किनेर चरन विस्तार गरेका छन् । आधुनिक खोर, साना पाठापाठीका लागि तारजाली गरेर खुला चरन क्षेत्र, पानीका लागि ट्यांकी लगायतका भौतिक पूर्वाधार निर्माण गरेका छन् । 'सधैं दसंै-तिहारमा खसी, बोका अभाव हुन्छ,' आचार्यले भने, 'त्यसलाई पूरा गर्न यही व्यवसाय रोजेको हुँ । उनले जिल्लामा व्यावसायिक बाख्रापालन कसैले नगरेकाले प्रतिस्पर्धा नभएको बताए ।
 
उनले बाख्रा चराउन र घाँस काट्ने काममा तीन जना स्थानीयलाई रोजगारी दिएका छन् । जिल्लाको विभिन्न क्षेत्रबाट स्थानीय जातकै बाख्रा खरिद गरेर व्यवसाय थालेका उनले नश्ल सुधार गर्न उन्नत जातको बोको बाहिरबाट ल्याएको बताए ।
 
Published on: 19 August 2012 | Kantipur

Back to list

;