s

वैदेशिक रोजगारमा महिला

आधा आकाश ढाकेका महिला पनि शिक्षा, स्वास्थ्य, राजनीतिक तथा सामाजिक जागरणमा समाहित छन्। उनीहरूमा आएको सचेतनाका कारण चुलाचौकोदेखि देशको जिम्मेवारीमा मात्र सीमित नरहेर परदेशसम्म पुगेर शिक्षा र अर्थोपार्जन गरी परिवार र समाजलाई टेवा दिन थालेका छन्।

राज्यले छोरीलाई समान शिक्षाको लागि बिगुल फुके पनि वैकल्पिक आयआर्जन र स्वावलम्बनको उचित व्यवस्था नभएकाले अधिकांश महिला पछि परेका छन्। महिला बिदेसिने विभिन्न कारणमध्ये यो पनि एउटा हो। उनीहरू उचित अवसरको खोजीका लागि पर्देसिएका हुन्। कतिपय महिला उच्‍च शिक्षाका लागि बाहिरिएका छन् भने कतिपय मजबुरीका लागि।

मुलुकको राजनीतिक अस्थिरताका कारण देश भयावह स्थितिमा छ। दसवर्षे ‘जनयुद्ध’ कालदेखि धेरै महिला विक्षिप्‍त छन्। बेरोजगारका कारण घरपरिवारमा बेमेल छ। देशको राजनीतिक अस्थिरता, बेरोजगार समस्या, अशान्ति, असुरक्षाको मारमा घरपरिवारको खस्कँदो आर्थिक अवस्था सुधार्न र सन्ततिको भविष्य सुनिश्चित गर्ने अभिप्रायले पर्देसिन बाध्य छन्। महिलाहरू कोही लहलहैमा लागेर र कोही अरूलाई विश्वास गरिहाल्ने बानीले पर्देसिएर नारकीय जीवन जिउन बाध्य छन्। सम्बधित गन्तव्य र त्यहाँ पुगेपछिका आफ्ना काम कर्तव्यका सम्बन्धमा आवश्यक चेतनाको कमीका कारण अनावश्यक कष्ट भोग्दै आएका छन्। अधिकांश नेपाली महिलाले खाडी मुलुकमा मात्र होइन, अन्य देशमा समेत विभिन्न कठिनाइ झेल्नुपरेको छ। खास गरेर दलालको झूटो खेलमा परेर टर्की वा पूर्वी युरोपियन मुलुकको बाटो गरी युरोप छिर्न होस् वा महिनौंको कठिन र जोखिमपूर्ण यात्रा पार गरी अनधिकृत रूपमा अमेरिका प्रवेश गर्न खोज्दा केही महिलाले अनाहकमा दु:ख बेहोर्नुपरेको छ। चेतनाको अभावमा ती महिलाले यस्तो दु:ख बेहोर्नुपरेको हो।

आवश्यक ज्ञान र चेतनाकै कमीका कारण महिलाले खाडी मुलुकमा दैनिक १४ देखि १९ घन्टासम्म काममा जोतिनुपरेको छ। साथै उनीहरूमाथि रोजगारदाताले यौनशोषण गरेका उदाहरण पनि छन्। विशेषगरी त्यस कामलाई अस्वीकार गर्दा महिला चरम यातना खेप्न विवश हुन्छन्। सुखद दाम्पत्य जीवनको लोभमा सामाजिक रूपमै बहिष्कृत कोरियाली पुरुषसँगवैवाहिक सम्बन्ध राखेर कोरिया गएका र पछि आफ्नै पति तथा कोरियाली परिवारबाट पिटाइ खाने, घर निकाला हुनुपर्ने वा कोठाभित्र थुनिएर दैनिक यातना भोग्‍नेलगायतका घटना भएका समाचार पनि सार्वजनिक भएका छन्।

शिक्षा प्राप्ति र अवसरको खोजीका लागि महिला आफैं पनि सचेत र जागरुक हुनुपर्छ। सकेसम्म स्वदेशमै आयआर्जनका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ। यदि त्यो सम्भव नभएमा बिदेसिनुको अर्को विकल्प रहँदैन तर गैरकानुनी ढंगले विदेश गएर बिचल्लीमा पर्नु र कामको प्रकृति नबुझी पैसा कमाइन्छ भन्ने भ्रममा परेर नारकीय जीवन बिताउनुपर्ने कामलाई परिवारदेखि राज्यस्तरबाट निरुत्साहित गरिनुपर्छ। विभिन्न देशमा स्थापना भएका संघसंस्था अनि एनआरएनका महिला प्रतिनिधिले पनि सम्बन्धित देशको महिलाको समस्या हेरेर समाधानको बाटो खोजिनुपर्छ।

महिलाले घरबाट बाहिर पाइला राख्नासाथ हजारौं सबाल निस्किन थाल्छन्। उनीहरूले अनेकौं लाच्छाना सहनुपर्ने हुन्छ। छोराले कमाएर ल्याएकोमा कुनै प्रश्न उठ्दैन। तर छोरीबुहारीको कमाइमा अनेक शंका गरिने परिपाटीको अन्त्य हुन सकेको छैन। महिलाले केही गर्छु भनेर घरबाहिर निस्कँदा परिवारप्रतिको माया र मोहले उसलाई सधैं पिरोलिरहेको हुन्छ। ज्यानको बाजी लगाएर लक्ष्यमा पुग्न महिलाले विभिन्न चुनौती सामना गरेको पाइन्छ। उनीहरूले गरेका यस्ता स्वावलम्बी कामले विदेश जाँदा वा केही नयाँ नौलो काम गर्न थाल्दा पोथी बसेको राम्रो हुँदैन, महिला घरबाहिर जाँदा घर बिग्रन्छ भन्ने जस्ता रुढिवादी धारणा विस्तारै मिथ्या बनाउन मद्दत पनि पुगेको आभास हुन थालेको छ।

आजका महिलाले राम्रो अवसर पाए स्वदेश वा विदेश होस्, राम्रो काम गर्छन्। उनीहरूको लगनशीलताले समाजमा नौलो जागरणको उत्साह थपिएको छ। उनीहरूलाई अघि बढ्न सबैले होस्टेमा हैंसे गर्नुपर्छ।

- इजरायलको हाइफाबाट।

Published on: 16 August 2013 | Annapurna Post

Back to list

;