s

विदेशबाट वर्षमा आउँछन् हजार नेपालीका लास

रोशन खड्का

सुन्दर भविष्य बनाउन भन्दै खाडी र मलेसिया पुग्ने नेपालीले उतै ज्यान गुमाउने घटना झन् बढेका छन् । पछिल्लो एक वर्षमा खाडी र मलेसियामा नौ सय ७८ नेपाली मजदुरले ज्यान गुमाएका छन् । 

खाडी देशमा अधिकांश कामदारको मृत्यु सडक दुर्घटना, आत्महत्या र दीर्घरोगका कारण हुने गरेको श्रम मन्त्रालयले जनाएको छ । अचानक अत्यन्तै तातो वातावरणमा गएर काम गर्नुपर्ने तथा गाउँबाट काठमाडौं आएर सीधै अत्याधुनिक ट्राफिक पद्धति भएको देशमा गएर बाटो काट्नुपर्ने कारणले नेपाली विदेशमा अकालमा ज्यान गुमाउनुपरेको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी कार्यकारी निर्देशक गिरिजा शर्माले विभिन्न कारणले वैदेशिक रोजगारीमा गएकाको मृत्यु भइरहेको बताइन् । 'हामीलाई आएको सूचनाअनुसार अधिकांश कामदारको दीर्घरोग र दुर्घटनाबाट मृत्यु भएको छ, केहीले आत्महत्या पनि गरेको हामीले जानकारी पाएका छौँ,' उनले भनिन् । 

रोजगारीका लागि बर्सेनि करिब चार लाख नेपाली युवा कोरिया, मलेसिया र अरबका विभिन्न मुलुकमा जाने गरेका छन् । कामदार पठाउन श्रम मन्त्रालयबाट यस वर्ष मात्रै तीन लाख ८४ हजार ६ सय ६५ जनालाई श्रम स्वीकृति दिइएको छ । वैध रूपमा जानेबाहेक केही कामदार नेपालबाट सीधै र भारत हुँदै नक्कली कागजपत्रका आधारमा पनि जाने गरेका छन् । 
गएका कामदारमध्ये केहीको उतै मृत्यु हुने गरेको छ । परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर शाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०६८/६९ मा मलेसियामा चार सय पाँचजना, साउदी अरेबियामा दुई सय ९४ जना, बहराइनमा ११ जना, संयुक्त अरब इमिरेट्समा ९३ जना, ओमानमा १० जना, कतारमा एक सय ५६ जना र दक्षिण कोरियामा नौजना गरी नौ सय ७८ जनाले ज्यान गुमाएका छन् । खाडी मुलुकमा धेरै नेपाली अवैध ढंगले बसेकाले मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने अनुमान सरकारको छ । 

परराष्ट्रको कन्सुलर शाखाका प्रमुख दिलीप पौडेलले सरकारले यो वर्ष विदेशमा मृत्यु भएका करिब हजार नेपालीको शव नेपाल ल्याइसकेको जानकारी दिए । 'हामीले यस वर्षमा करिब हजारको हारहारीमा शवहरू नेपाल ल्याउनुका साथै मृत्यु हुनेहरूको परिवारलाई पनि क्षतिपूर्ति उपलब्ध गराएका छौँ,' पौडेलले नयाँ पत्रिकासँग भने ।

परराष्ट्र स्रोतले दिएको जानकारीअनुसार कतिपय नेपाली अवैध तरिकाले गएको र कतिपयले करार अवधि बढाएर अवैध तरिकाले काम गर्ने गरेकाले पनि त्यहाँ रहने र अकालमा गुमाउनेको यकिन संख्या दूतावाससँग पनि छैन । जसले गर्दा कतिपय शवबारे दूतावासलाई ढिलो खबर हुने गरेको र त्यसको डकुमेन्ट बनाएर शव ल्याउनसमेत समस्या भएको दूतावासका कर्मचारीको गुनासो छ । वैधानिक रूपमा गएकाको मृत्यु भएमा सम्बन्धित कम्पनीले नै क्षतिपूर्ति दिनुका साथै शव ल्याउने खर्च पनि दिनुपर्छ । 

विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक सहायता उपलब्ध गराउँछ । बोर्डले रोजगारीका क्रममा विदेश गएका प्रत्येक कामदारबाट एक हजार रुपैयाँका दरले उठाउने गरेको छ । 

बोर्डले जम्मा गरेको कोषबाट मृतकका परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने व्यवस्था छ । कोषले अलपत्र परेकाहरूको उद्धार गर्नुका साथै अवैध ढंगले बसेर मृत्यु भएकाहरूको शव ल्याउन पनि आर्थिक सहयोग गर्छ । 

वैदेशिक रोजगारीका क्रममा साउदी गएका कामदारको मृत्यु भएपछि शव ल्याउने क्रममा भने अप्ठेरो हुने गरेको छ । मलेसिया, कतार, ओमानलगायतका अन्य खाडी मुलुकबाट शव नेपाल ल्याउन १५ दिनसम्म लाग्ने भए पनि साउदीबाट भने कम्तीमा दुई महिना लाग्ने गरेको छ । 

साउदीमा त्यहाँको सरकारको कानुनअनुसार नै डकुमेन्ट बनाउने प्रक्रिया लामो भएकाले पनि शव छिटो ल्याउन नसकिएको परराष्ट्र स्रोतले जानकारी दियो । परराष्ट्रका एक अधिकारीले भने, 'साउदीमा वैध, अवैध जुन तरिकाले गएको भए पनि शव ल्याउन कठिनाइ छ, उनीहरूको नीतिअनुसार डकुमेन्ट बनाउन समय लाग्छ ।' 
परराष्ट्रको कन्सुलर शाखाका प्रमुख दिलीप पौडेलले पनि साउदी अरबबाट शव ल्याउन समस्या भएको बताए । 'अरबबाट शव ल्याउन अन्य मुलुकको भन्दा बढी समय लाग्छ, तर हामी छिटोभन्दा छिटो शव ल्याउनका लागि प्रयत्न गछौर्ँ,' उनले भने ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले दिएको जानकारीअनुसार खाडी मुलुकमा अहिले हजारौँ नेपाली अवैध ढंगले बसिरहेका छन् । 'अवैध रूपमा गएको र करार अवधि थप गरेर बसेकाहरूको पनि संख्या धेरै छ,' बोर्डकी कार्यकारी निर्देशक शर्माले नयँा पत्रिकासँग भनिन् ।

एक वर्षमा कुन देशमा

कतिको मृत्यु ?

मिलेसियामा चार सय पाँचजना
सिाउदी अरेबियामा दुई सय ९४ जना
कितारमा एक सय ५६ जना 
सिंयुक्त अरब इमिरेट्समा ९३ जना 
बिहराइनमा ११ जना
अिोमानमा १० जना
दिक्षिण कोरियामा नौजना

Published on: 22 August 2012 | Naya Patrika

Back to list

;