s

भोट खसाल्न विदेशबाट गाउँ फर्किँदै

दामोदर भण्डारी
रोजगारीका लागि भारत गएका नेपाली तिहार मनाउन र संविधानसभा निर्वाचनमा भोट खसाल्न धमाधम घर फर्कन थालेका छन्।
मध्यपश्चिमको सीमावर्ती नाका रुपैडिहाबाट दैनिक सयौं नेपाली घर फर्किरहेका छन्।

कामका लागि भारतको हिमाञ्‍चल गएका जाजरकोटका एक सयभन्दा बढी बासिन्दा शुक्रबार नेपालगन्ज भित्रिएका छन्। उनीहरूमध्ये अधिकांशले तिहार मनाउन र भोट हाल्न घर फर्किएको बताए।

जाजरकोट जक्तिपुर-९ का खगेन्द्र विक पहिलोपटक भोट हाल्न आफू नेपाल फर्किएको बताउँछन्। ‘मलाई पहिलोपटक भोट हाल्दा कस्तो अनुभव हुन्छ भन्ने खुलदुली लागेको छ’, उनले भने, ‘तिहार पनि मनाउने र भोट पनि हाल्ने हो। आफूले पाएको अधिकार त त्यसै छाड्नु भएन नि। त्यसपछि फेरि उतै फर्कन्छु।’

खगेन्द्रसँगै जाजरकोट भुर-५ गिमाका हीरालाल टमाटा चुनाउ लक्षित गरेरै आफू घर फर्किएको बताउँछन्। ‘भारतबाट अलि पछि फर्किने थियौं। नेताहरूले पनि गाउँबाट फोन गरे। तिहार पनि मनाइन्छ, भोट पनि हाल्न पाइन्छ भनेर हिँड्यौं’, उनले भने।

समूहसमूह बनाएर आफूहरू एक सय १० जना फर्किएको र अरू पनि भोट हाल्नैका लागि फर्किने तयारीमा रहेको हीरालालले सुनाए। ‘यसपालि राम्रो व्यक्ति हेरेर भोट हाल्ने सोचाइमा छु’, उनले भने।

हीरालाल भोट हालेर कामका लागि फेरि भारत नै जाने बताउँछन्। ‘उता कमाइ ठिकठिकै छ’, उनी भन्छन्, ‘संविधान बनेर नेपाल शान्त भइदिए हामी गरिबले नेपालमै काम पाउँथ्यौं कि?’

घर फर्किने समूहमा रहेका ६३ वर्षीय नरेन्द्र विकले भोट हाल्न छुट्ला भनेर आफू फर्किएको बताए। ‘सबै चुनाउमा भोट हाल्दै आएको छु। यो चुनाउमा किन छुटाउने नि’, लत्ताकपडाको भारी बोकेका नरेन्द्रले भने, ‘उम्मेदवारले पनि गाउँबाट चुनाउमा भोट हाल्न आइपुग भनेर फोन गरे। हामी सबै सल्लाह गरेर फर्किएका हौं।’

नरेन्द्र भोट माग्‍न आउने नेताहरूसँग युवा जनशक्तिलाई नेपालमै रोजगारीको व्यवस्था गर्न माग गर्ने सोचाइमा छन्। ‘आफ्नै देशमा रोजगारी गर्ने उपयुक्त ठाउँ छैन। उता निकै सास्ती खेपेर मजदुरी गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसैले भोट माग्न आउने नेताहरूलाई नेपालमै रोजगारीको व्यवस्था मिलाउन आग्रह गर्छु।’

Published on: 2 November 2013 | Annapurna Post

Back to list

;