s

भीएलएन सञ्चालकलाई अदालतले धरौटीमा छाड्यो, प्रहरीले फेरि समात्यो

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न  आदेश दिएको छ । तर, प्रहरीले फेरि पक्राउ गरेको छ ।
 
बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, त्यसलगत्तै उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा उनी सम्बन्धित अर्को उजुरी अनुसन्धानको क्रममा भएकाले पक्राउ गरिएको बताए ।
 
‘ललितपुर प्रहरीबाट आएको पत्र अनुरुप उनलाई ललितपुर प्रहरी समक्ष बुझाइनेछ’, पोखरेलले अनलाइनखबरसँग भने । प्रहरीले गत ७ जेठमा भीएलएनको कार्यालयमा छापा मारेर सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
 
वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।
 
उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्‍याउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।
 
Published on: 13 June 2018 | Onlinekhabar

Back to list

;