s

भिएलएन सञ्चालक राम श्रेष्ठलाई ललितपुर अदालतबाट सफाइ

ललितपुर जिल्ला अदालतले युवाहरुलाई रोजगारीका लागि मलेसिया पठाउने क्रममा ठगीको अभियोग लागेका भिएलएनका सञ्चालक राम श्रेष्ठलाई सफाइ दिएको छ । ललितपुर जिल्ला अदालतका श्रेष्तेदार चन्द्रप्रसाद तिवारीका अनुसार ठगीको अभियोग दावी नपुग्ने ठहर गर्दै न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले श्रेष्ठलाई सफाइ दिइएको हो । अर्कातिर त्यही प्रकृतिको अर्को मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि चलिरहेका बेला ललितपुरले श्रेष्ठलाई सफाइ दिएको हो । सरकार र राष्ट्रिय उपभोक्ता मञ्चले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले उच्च अदालत र काठमाडौं अदालतमा पनि मुद्दा चल्दाचल्दै ललितपुरबाट भएको सफाइ दिने निर्णय शंकास्पद रहेको भन्दै आश्चर्य प्रकट गरे । ‘हतार हतारमा मुद्दाको फैसला गरेको देखिन्छ, ‘उनले भने, ‘यसले अदालतको फैसलामा आंशका उब्जाएको छ ।’

तीन करोड ९६ लाख बिगोसहित श्रेष्ठको मुद्दा काठमाडौं अदालतमा विचाराधीन छ । मुल मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अवस्थामा ललितपुरले त्यही प्रकृतिको मुद्दामा अभियोग दाबी नपुगेको भन्दै भिएलएनका सञ्चालकलाई सफाइ दिएको हो । काठमाडौंले गत जेठमै श्रेष्ठलाई १० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो । उक्त धरौटी कम भएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । त्यही मुद्दामा श्रेष्ठले पनि १० लाख धरौटी बढी भएको भन्दै पुनरावेदन गरेका छन् । दुवै निवेदन हाल विचाराधीन अवस्थामा रहेका बेला ललितपुरले सन्देहास्पद फैसला गरेको हो ।

Published on: 12 December 2018 | Annapurna Post

Back to list

;