s

भिएलएनका श्रेष्ठलाई ५ वर्ष कैद र २ अर्ब ८६ करोड बिगो दाबी

सरकारले भिएलएन र वान स्टप सेन्टरका नाममा कामदारसँग करीब ३ अर्ब रुपैयाँ ठगी गर्ने रामप्रसाद श्रेष्ठविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीसँग २ खर्ब ८६ करोड १५ लाख बिगो र सो बराबर जरिवाना दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले सोमबारै आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
 
श्रेष्ठको कम्पनी मलेसिया भिएलएनले प्रतिकामदार ३ हजार २ सय रुपैयाँ र वन स्टप सेन्टरले २ हजार ८ सय रुपैयाँका दरले कामदारसँग ठगी गर्दै आएको अभियोगपत्रमा उल्लेख छ । त्यसमा १३ प्रतिशत भ्याट र मलेसिया दूतावासलाई बुझाउनुपर्ने ७ सय रुपैयाँसमेत प्रतिकामदार उनले ७ हजार ४ सय ८० रुपैयाँ उठाउँदै आएका थिए । उनले नेपाल सरकारको अनुमति र स्वीकृतिविना रकम लिई लाखौँ कामदार एवं व्यक्तिहरूलाई ठगी गरेको स्पष्ट देखिन आएको अभियोगपत्रमा उल्लेख छ ।
 
वन स्टप सेन्टर १ मे २०१६ देखि सुरु भएकोमा त्यसपछि २ लाख ७ हजार ४१४ जना कामदार मलेसिया गएका छन् । मलेसिया भिएलएन नेपाल २५ भदौ २०७० मा दर्ता भएकोमा त्यसयता ६ लाख ९ हजार ८ सय ७९ जना कामदार मलेसिया गएका छन् । त्यस्तै, कामदारबाहेक पर्यटकसमेतको भिसा प्रोसेसिङबापत भिएलएन र वन स्टप सेन्टरले ठगी गरेको पनि अभियोगपत्रमा उल्लेख छ ।
 
श्रेष्ठले भिएलएन चार्जबापत २ अर्ब २० करोड ५३ लाख २२ हजार चार सय चौसट्टी रुपैयाँ र वान स्टप सेन्टर चार्जबापत ६५ करोड ६२ लाख ५७ हजार ८ सय ९६ रुपैयाँ गरी कुल २ अर्ब ८६ करोड १५ लाख ८० हजार ३ सय ६० नेपाल सरकारको अनुमति तथा स्वीकृतिविना गैरकानुनी ढंगले खाई मासी ठगी गरेको पुष्टि हुन आएको प्रतिवेदनमा उल्लेख छ ।
 
यसरी ठगी गर्ने श्रेष्ठविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नं. मा परिभाषित ४ नं. बमोजिम कसुर अपराधमा २ अर्ब ८६ करोड १५ लाख बिगो कायम गरी महलको ४ नं. बमोजिम ५ बर्ष कैद सजाय पनि माग गरिएको छ । यो बिगो सरकारलाई भराई जरिवानासमेत माग गरिएको छ । श्रेष्ठले मलेसियाली दूतावासको अनुमतिमा यो काम गरेको भने पनि मलेसिया सरकारसँग यससम्बन्धी सम्झौता भएको नदेखिएको अभियोगपत्रमा उल्लेख छ ।
 
उक्त कम्पनीको उद्देश्यविपरीत भिसाका लागि मलेसिया जाने कामदारको राहदानी संकलन गरी नेपालस्थित मलेसियन दूतावासमा पठाउने प्रयोजनार्थ वान स्टप सेन्टर खडा गरी प्रतिकामदार २ हजार ८ सय र थप भ्याट असुल गर्ने गरेको र मलेसिया जाने कामदारको अनलाइन सफ्टवयरमार्फत भिसा प्रोसेसिङ गर्ने प्रयोजनका लागि मलेसिया भिएलएन नेपाल प्रालि नामक संस्था खडा गरी सो संस्थाले यसबापत प्रतिकामदार ३ हजार २ सय तथा थप मूल्य अभिवृद्धि करसहित अवैध तरिकाले असुल गरेको देखिन्छ । प्रहरीले ६ जेठमा श्रेष्ठसहित अन्य ४८ जनालाई पक्राउ गरेको थियो ।
 
Published on: 12 June 2018 | Naya Patrika

Back to list

;