s

भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ १२ लाख धरौटीमा रिहा

मलेसियाका जानेहरूको भिसा प्रकृया मिलाइदिने कम्पनी भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत ललितपुरको आदेशमा  १२ लाख धरौटी बुझाएर थुनामुक्त भएका छन्।
 
गतसाता जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छुटेलगत्तै पक्राउ परेका उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा अर्को ठगी मुद्दा दायर भएको भन्दै प्रहरीले लगत्तै पक्राउ गरेको थियो। मंगलबार ललितपुर अदालतका न्यायाधीश  धनसिंह महराको इजलासले १२ लाख धरौटीमा छोड्ने आदेश दिएपछि उनी उक्त धरौटी बुझाएर थुनामुक्त भएका हुन्। आदेश भए लगत्तै श्रेष्ठले अदालतले मागेको धरौटी १२ लाख तुरून्तै बुझाएर छुटिसकेको स्रेस्तेदार चन्द्र प्रकाश तिवारीले सेतोपाटीलाई जानकारी दिए।
 
श्रेष्ठले २ करोड भन्दा बढी रकम ठगी गरेको भन्दै ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दायर गरेको थियो। वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ३ अर्ब ठगी गरेको अभियोगमा काठमाडौं सरकारी वकिल कार्यालयले भने श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दर्ता गराएको थियो।
 
उक्त मुद्दामा भने काठमाडौं जिल्ला अदालतले १० लाख धरौटी मागेको थियो। केही समयअघि प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो।
 
त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।
 
Published on: 19 June 2018 | Setopati

Back to list

;