s

भिजिट भिसामा मानव तस्करी

लिला श्रेष्ठ

काठमाडौँ — विदेश जान एक पैसा पनि खर्च हुँदैन । राहदानी बनाउनेदेखि गन्तव्य मुलुकमा नपुगुन्जेल एजेन्टले नै व्यवस्था गर्छन् । काठमाडौंमा बस्ने खानेको पनि चिन्ता लिनु पर्दैन ।

एकैपल्ट आफूलाई चाहिने सामान बोकेर विमानस्थल पुगे हुन्छ । यस्तै प्रलोभनमा परेकी सिन्धुपाल्चोक जलवीरेकी २९ वर्षीया सीता (नाम परिवर्तन) साना परिवारसँग बिदा भएर खादा, फूलमाला लगाएर गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् ।

एजेन्टले दुबई जाने भिसासहित आवश्यक कागजात विमानस्थलमै ल्याएर छाडिदिए । भित्र छिर्ने बेला प्रहरीले केरकार गर्‍यो, गन्तव्य मुलुक सोध्यो । एजेन्टसँग भएको कुराकानीकै आधारमा उनले एक महिनाका लागि दुबई भ्रमणमा निस्किएको बताइन् । ‘ढाँट्ने कुरा थिएन, घरायसी कामका लागि कुवेत जाने भनें, कागजात नमिलेको भनेर प्रहरीले राहदानी लिएर मलाई फिर्ता पठाइदिनुभयो,’ उनले भनिन्, ‘त्यो दिन मजस्ता धेरै दिदीबहिनीलाई यसरी नै फकाईएको थियो ।’

यसअघि उनी भिजिट भिसामै दुबई हुँदै कुवेत पुगेर घरायसी कामदारमा दुई वर्ष बिताएर फर्किएकी थिइन् । ‘मासिक ३० हजार कमाइ हुन्थ्यो, १८ घण्टाभन्दा बढी काम गर्दा बिरामी परेर फर्किएकी हुँ,’ उनले भनिन् ।

उनले भनिन्, ‘बाध्यताले पुनः खाडी जान खोजेकी थिएँ, अहिले विदेश छिर्न गाह्रो रैछ ।’ १५ वर्षकै उमेरमा उनले प्रेम विवाह गरिन् । दुई सन्तान भएपछि खर्च धान्न गाह्रो भयो । ‘कमाइको पैसा श्रीमान्ले मदिरामा खर्च गर्न थाल्नुभयो, परिवारलाई बेवास्ता मात्रै होइन कुटपिट गर्न थाल्नुभयो,’ उनले भनिन्, ‘यातना खप्न नसकेर छोराछोरी लिएर घरबाट निस्किएर माइतीघर फर्कें ।’ अब खाडी नजाने बरु ज्यामी काम गरेरै भए पनि छोराछोरीलाई पढाउने उनको योजना छ । सीताले विद्यालयको औपचारिक शिक्षा लिन पाइनन् । चिनेजानेकै व्यक्तिमार्फत मासिक ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभनमा पर्दा उनी फस्न पुगिन् ।

गोरखा चुमनुव्री गाउँपालिका–३ सिर्दिबासकी ३३ वर्षीया सविता (नाम परिवर्तन) पनि उनीजस्तै गरी बुधबार विमानस्थल पुगिन् । तर प्रहरीले राहदानी राखेर फिर्ता पठायो । ‘रहरले खाडी पस्न खोजेको होइन, हामी जस्तो गरिबको बाध्यता सरकारले बुझ्दैन, जस्तोसुकै अप्ठ्यारो परिस्थिति पनि झेल्छु भनेरै हिँडेको थिएँ,’ उनले भनिन्, ‘श्रीमान्लाई ब्लड क्यान्सर छ, उहाँको उपचार र छोराछोरीको पढाइ खर्चका लागि केही वर्ष कुवेतमा काम गर्ने सोचले हिँडेको एयरपोर्टबाटै फर्किनुपर्‍यो ।’ अन्न फल्ने खेतबारी पहिरोले लगेको र अँधियाको कमाइले दुई महिना पनि खान नपुग्ने उनले सुनाइन् ।

सवितासँगै गोरखा धार्चे गाउँपालिका–३ उहियाकी सरिता (नाम परिवर्तन) पनि भिजिट भिसामा दुबई हुँदै कुवेतको गन्तव्यका लागि विमानस्थलसम्म पुगेकी थिइन् । उनलाई पनि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरीले आवश्यक प्रक्रिया नपुर्‍याई विदेश जाँदा भोग्नुपर्ने कष्ट तथा जोखिमबारे परामर्श दिँदै फर्काइदिए । सविता र सरिता एकै एजेन्टको सम्पर्कबाट दुबई हुँदै घरेलु कामका लागि कुवेत जानका लागि विमानस्थल पुगेका थिए ।

ब्युरोले गत वैशाखयता मात्र आवश्यक प्रक्रिया नपुर्‍याई भिजिट भिसामा दुबई हुँदै कुवेत, ओमनलगायत तेस्रो मुलुक जान लागेका १ हजार ६ सय ३२ जनाको राहदानी नियन्त्रणमा लिएर पछि फिर्ता गरेको छ । फागुन १ देखि २० गतेसम्म मात्र २ सय ४८ महिला र १ सय ३२ पुरुष गरी ३ सय ८० जना र माघमा १ सय ८६ महिला र ७२ पुरुष गरी २ सय ५८ जनाको राहदानी फिर्ता गरेको ब्युरोले जनाएको छ ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि महिला जान नपाउने व्यवस्था गरेको छ । तर, भिजिट भिसाको दुरुपयोग गर्दै एजेन्टले प्रतिबन्धित मुलुकमा घरेलु कामदारका लागि लैजाने क्रम रोकिएको छैन । मानव बेचबिखन तथा ओसारपसारमा पर्न सक्ने उच्च जोखिम रोक्न र न्यूनीकरणका लागि ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी अधिकारीले परामर्श दिँदै आएका छन् । ‘काम गर्नकै लागि जानुहुन्छ भने सरकारले तोकेको मापदण्ड पुर्‍याएर जानुस्, प्रक्रिया पुर्‍याउनुस् भनेर परामर्श दिने गरेका छौं,’ ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘एजेन्टले आर्थिक अवस्था न्यून भएका मान्छे खोज्ने, पासपोर्ट आफैं बनाइदिने, गाउँदेखि काठमाडौंसम्मको यातायात खर्चको व्यवस्था गर्ने, होटल खर्च दिने, एयरलाइन्सको टिकट, आतेजाते खर्चको व्यवस्था गरिदिन्छन्,’ उनले भने, ‘भिजिट भिसामा दुबई हुँदै कुवेत, ओमन, जोर्डनलगायत खाडी मुलुकमा घरेलु कामदार सप्लाई गर्ने पाइएको छ ।’ खाडी मुलुकमा बसेर एजेन्टको काम गर्ने व्यक्तिले नेपाली एजेन्टसँग सम्पर्क गरी नयाँ–नयाँ मान्छे खोज्न लगाउने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । विमानस्थलबाट फर्काइएका महिलाले राहदानी बनाउनेदेखि दुबई उडाउने तथा दुबईबाट कुवेतसम्म पुर्‍याउन एजेन्टले शुल्क नलिएको बताउँछन् । तर, घरेलु कामदार पठाएबापत प्रतिव्यक्ति ३० देखि ५० हजार रुपैयाँ कमिसन लिने गरेको अनुसन्धानमा खुलेको ब्युरो प्रमुख श्रेष्ठको भनाइ छ । ‘खासगरी खाडी मुलुक कुवेत, ओमनलगायत र त्यहाँबाट पनि सिरियालगायतका मुलुकमा घरेलु कामदारका रूपमा काम लगाउने पाइन्छ । त्यहाँ भाषा नजान्दा र सीपको कमजोरीका कारण यातना भोग्नुपर्ने, यौन शोषण, शारीरिक तथा मानसिक दबाब, श्रम शोषण र आर्थिक शोषणमा पर्ने देखिन्छ,’ उनले भने, ‘त्यस्ता पीडितले उद्धार गरिदिनुपर्‍यो भन्ने सूचना हामीकहाँ धेरै प्राप्त भएका छन्, उद्धारका लागि समन्वयात्मक भूमिका निर्वाह गर्दै उद्धार पनि गर्दै आएका छौं ।’

विदेशी एजेन्टले प्रतिव्यक्ति डेढदेखि २ लाख रुपैयाँसम्म पैसा पठाउने र त्यहाँको एजेन्टले मालिकसँग प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरेको घटनाक्रमले देखाएको ब्युरोले जानकारी दिएको छ । कुवेत, ओमन, साउदी, कतार, लेवनानलगायत मुलुकमा घरेलु कामदार लैजान पाइँदैन । गृह मन्त्रालयको ‘भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन’ अनुसार न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्ति भिजिट भिसाका लागि योग्य हुन्छन् । त्यस्ता व्यक्तिले न्यूनतम उच्च माध्यमिक तहको औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/व्यावसायिक सीप दक्षता हासिल गरेको र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो ज्ञान लिएको हुनुपर्छ । एकाघरको नातेदारका साथमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा भिजिट भिसामा जान पाइने प्रतिवेदनमा उल्लेख छ । यस्तै, गन्तव्य मुलुकमा रहेको नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका, सरकारी कामको सिलसिलामा जाने कर्मचारी/व्यक्ति, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्था एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संघसंस्थाका प्रतिनिधि/व्यावसायिक कम्पनी/फर्मका सञ्चालक/व्यवसायीलाई पनि भिजिट भिसामा जान रोक छैन ।

Published on: 7 March 2023 | Kantipur

Link

Back to list

;