s

'भिजिट भिसामार्फत वैदेशिक रोजगारमा गएका युवा बेचबिखनमा परिरहेका छन्’

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार  पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो आग्रह गरेका हुन्।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ। यसकारण विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन्। जसले गर्दा उनीहरु एकातिर बेचबिखनमा परिरहेका छन् भने अर्कोतर्फ आर्थिक क्षति बेहोरिरहेका छन्। 

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन  देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए। यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट बञ्चितसमेत हुने उनले उल्लेख गरे।

त्यसैले, भिजिट भिसाको दुरुपयोग गर्ने प्रवृतिलाई समयमै नियन्त्रण गर्न नसके यसले विकराल रुप लिने उनले बताए।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए।  सरकारको कममजोरीले पनि भिजिट भिसामा जाने श्रमिकको संख्या बढेको उनको भनाई छ। 

‘नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ। कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,’ उनले भने, ‘कामदारलाई छिटो र सहज ढङ्ग खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ।’

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले भिजिट भिसामा जानकारहरु नै बढी जाने गरेको बताए।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिसामा नजान आग्रह गरे। ‘अहिले नेपालीहरुको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरुको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरुले दुःख पाउनु भएको छ ,’ उनले भने। 

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताए। 

‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ त्यो दलाल हो। आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो। र अर्को भारतको बाटोमार्फत पनि युवाहरु भिजिट भिसामा जाने गरेका छन्,’ कार्यक्रममा बोल्दै तामाङले भने।

भिजिट भिसामा दक्ष र शिक्षित युवाहरु नै गइरहेको समेत कार्यबाहक अध्यक्ष तामाङले उल्लेख गरे। 

आइएनजिओ र एनजिओहरुले पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने गरेको तर समस्या सुल्झाउन कुनै पहल नगरेको भन्दै उनले दुःख व्यक्त गरे । सबै ट्राभल तथा म्यानपावर व्यवसायीहरुलाई सरकारले कडाई गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्धत पुग्ने कार्यबाहक अध्यक्ष तामाङको भनाई छ । 

ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरुले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै उनले दुःख व्यक्त गरे। यस्तो समस्या आउन नदिन वैदेशिक रोजगारमा जाने व्यक्तिहरु सचेत हुनुपर्ने उनले बताए। 

‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ,’ उनले भने,‘सरकारको कर्मचारी संलग्न हुने हो भने यो समस्या सधै रहिरहन्छ ।’ पछिल्लो समय युरोपियन मुलुकहरुमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनको भनाई  छ।

मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा कसैले राम्रो काम पाउने र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि रहने बताए। 

अप्ठ्यारोमा परेकाहरु पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भट्टले उल्लेख गरे। ‘सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस्। यसरी जाँदा धेरै मानिसहरु बेचबिखनमा परेका छन,’  उनले भने। 

भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाई गर्नुपर्ने उनले बताए। म्यानपावरमार्फत गएका त्यति धेरै मानिसहरु समस्यामा परेका हुँदैनन् तर व्यक्तिगतमार्फत गएका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेका उजुरीहरु धेरै आएका छन्। 

भिजिट भिसाको दुरुपयोगका कारण मानिसहरु अप्ठ्यारोमा पर्ने गरेको भन्दै दुरुपयोग नगर्न उनले आग्रह गरे।

‘वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ। कुन उदेश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् त्यति भयो भने पछि समस्या पर्दा त्यो पैसा फिर्ता पाउन सहज हुन्छ,’ उनले भने।

भिजिट भिसामा जानेहरुले उजुरी दिने उजुरीको काम नसकिइ फेरि सोही प्रकृयामार्फत विदेश पुगिसकेको उनले बताए। 

जनचेतनाको अभावका कारण पनि युवाहरुले भिजिट भिसाको दुरुपयोग गरिरहेको उनले जिकिर गरे।

‘कसैले पिआर दिलाउँछु भनेर पनि पठाउने रहेछन्। आर्थिक वर्ष २०७७÷०७८ मा पिआर दिलाउँछु भनेर पठाइएका १३ जना मानिसहरुले ब्यूरोमा उजुरी गरेका थिए,’ उनले भने। 

श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताए। भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धीत सरोकारवालाहरु जानकार भए पनि कडाई गर्न नसकिएको उनले गुनासो गरे। 

‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुनपर्छ। साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आबश्यक छ,’ उनले भने।

Published on: 20 December 2021 | Setopati

Link

Back to list

;