s

भिजिट भिसामा टकराव : अध्यागमन अनुमति दिने, प्रहरी रोक्ने

नवराज मैनाली

इराकबाट उद्धार गरिएकी एक महिलालाई मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी अधिकारी केही दिनअघि प्रश्न सोध्दै थिए, ‘तिमी कसरी इराक पुग्यौ ?’ उनको जवाफ सुनेपछि प्रहरी अधिकारी स्तब्ध भए । विमानस्थलस्थित अध्यागमन कार्यालयकै मिलेमतोमा उनी खाडी देश हुँदै इराक पुगेकी थिइन् ।

‘अध्यागमनका कर्मचारीले कति पढेकी छ्यौ भनेर सोधे, मैले एसएलसी फेल भनिदिएँ,’ उनको जवाफ उद्धृत गर्दै प्रहरी अधिकारीले भने, ‘थप केही नसोधी मलाई जान दिइयो, अलि राम्रोसँग मलाई सोधपुछ गरेको भए म त्यहीँ रोकिन्थेँ, यति धेरै दुःख त पाउन्नथेँ होला ।’ मानव तस्करीमा संलग्न गिरोहले उनलाई ओमान हुँदै इराक पुर्‍याएको थियो । महिनौँ कष्टकर जीवन बिताएपछि उनको उद्धार गरिएको थियो ।

सामान्य लेखपढसमेत गर्न नजान्ने उनी घुम्ने (भिजिट) भिसामा ओमान पुगेकी थिइन् । सुरुमा ओमानमै काम लगाउने भनेर उनलाई त्यहाँ लगिएको थियो । त्यहाँ स्वास्थ्य जाँच गर्न लगाउँदा छातीमा समस्या देखिएको र इराकमा गए मात्र काम गर्न मिल्ने भन्दै बहाना बनाएर त्यहाँ लगिएको थियो । नेपाल फर्किएपछि ती महिला आफूलाई भिजिट भिसामा ओमान हुँदै इराक पुर्‍याउने गिरोहमाथि कारबाहीको माग गरेर प्रहरीमा पुगेकी छिन् । घटनामा अध्यागमन कर्मचारीको पनि अप्रत्यक्ष मिलेमतो देखिएको छ ।

भिजिट भिसामा खाडीलगायत विभिन्न देश गएका धेरै व्यक्ति यसरी नै बेचिएका छन् । धेरैजसो अध्यागमन कार्यालयको सेटिङमै जाने गरेका छन् । भिजिट भिसामा अध्यागमनमा सेटिङ बढेको र त्यसले मानवतस्करीलाई प्रश्रय दिएको भन्दै प्रहरीले विमानस्थलमै विशेष टोली खटाएर निगरानी गर्न थालेको छ । तर, अध्यागमन कर्मचारीको जोड भने अहिले पनि धेरैलाई पठाउने नै छ । जसकारण अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको विषयलाई लिएर गृह मन्त्रालयअन्तर्गतका दुई निकाय अध्यागमन र प्रहरीबीच द्वन्द्व बढेको छ । अध्यागमनका कर्मचारी जसरी पनि भिजिट भिसामा जान अनुमति दिनेतर्फ अग्रसर हुने, तर प्रहरीले शंकास्पद व्यक्तिलाई रोकेपछि तीन महिनायता दुई निकायबीच टकराव बढेको छ ।

पछिल्लो तीन महिनामा प्रहरीले सेटिङमा खाडी देश तथा मलेसिया जान लागेका करिब ६ सय जनालाई विमानस्थलबाट फर्काएको छ । उनीहरूमाथि छानबिन गर्न भिजिट भिसामा संलग्न गिरोहले अध्यागमनमा सेटिङ मिलाएर विदेश लैजान खोजेको पाइएको छ । तर, गिरोहका सदस्य भने अहिलेसम्म पक्राउ परेका छैनन् ।
पछिल्ला केही दिनयता दैनिकजसो मानव बेचबिखन अनुसन्धान ब्युरो र विमानस्थल प्रहरीले शंकास्पद व्यक्तिलाई रोक्दै आएका छन् । कतिपयलाई अध्यागमनले प्रस्थान अनुमित दिइसकेको अवस्थामा समेत प्रहरीले रोकेको छ । भिजिट भिसामा मानव तस्करी हुन लागेको सूचनाका आधारमा आफूहरूले रोक्दै आएको ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए । ‘हालसम्म हामीले करिब ६ सय जनालाई विमानस्थलबाट फर्काएका छौँ,’ उनी भन्छन्, ‘भिजिट भिसामा गएका धेरैजना समस्यामा परेपछि हामीले विमानस्थलमा विशेष टोली खटाएका छौँ ।’

विगत दुई वर्षदेखि नै भिजिट भिसाको सेटिङका कारण विमानस्थलस्थित अध्यागमन कार्यालय बदनाम छ । भिजिट भिसामा खाडी गएका हजारौँ नेपाली अलपत्र परेपछि गत वर्ष गृह मन्त्रालयले यससम्बन्धी अध्ययन समितिसमेत गठन गरेको थियो, जसले भिजिट भिसाको मानवतस्करीमा विभिन्न समूह सक्रिय रहेको प्रतिवेदन दियो । तर, त्यसपछि पनि सेटिङ रोकिएको छैन । सेटिङमा संलग्न कर्मचारीमाथि कारबाहीसमेत हुन सकेको छैन । सेटिङमा संलग्न गिरोहको पहुँच माथिल्लो तहसम्म भएकाले कर्मचारी र गिरोहमाथि कारबाही हुन नसकेको स्रोत बताउँछ ।

गत ७ कात्तिकमा मात्र अध्यागमन अधिकृत सन्तोष सुवेदीले फरार अभियुक्त श्यामराज पाण्डेलाई भिजिट भिसामा जापान उडाउन खोजेको, तर कालोसूचीमा रहेको खुलेपछि भगाएको आरोपमा हाल छानबिन भइरहेको छ । अध्यागमनमा धेरैजसो कर्मचारी सोर्सफोर्सबाट जाने गरेका छन् । भिजिट भिसाको सेटिङकै कारण अध्यागमन बदनाम भइरहेको छ, जसकारण सयौँ नेपाली विदेशमा पुगेर बेचिने गरेका छन् । अध्यागमन कार्यालयका प्रमुख वासुदेव घिमिरे भने भिजिट भिसाका लागि तोकिएको मापदण्डविपरीत मिलेमतोमा कसैलाई जान दिइएको भेटिए कर्मचारीमाथि कारबाही हुने दाबी गर्छन् ।

गत वर्षको छानबिन समितिको सिफारिसमा सरकारले भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि बनाएको छ । जसमा खातामा न्यूनतम तीन लाख बचत हुनुपर्ने र भिजिट भिसामा जानेले विभागबाट अनलाइनमार्फत पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । त्यससम्बन्धी सफ्टवेयर बनाउने काम भइरहेको र त्यसपछि नयाँ कार्यविधि कार्यान्वयन गरिने अध्यागमन विभागका निर्देशक कमल पाण्डे बताउँछन् ।

भिजिट भिसामा अन्यत्र गएर अमेरिका छिर्न लागेका तीन नेपाली डुंगा पल्टेर बेपत्ता

मानवतस्करले अवैध बाटो हुँदै अमेरिका लैजान लागेका तीन नेपाली युवा उत्तर अमेरिकी देश पानामामा बेपत्ता भएका छन् । डुंगा पल्टिएर रुकुम मुसिकोटका रमेश गौतम, प्रदीप खत्री र प्युठानका काले गिरी बेपत्ता भएका हुन् । प्रहरीले सो घटनाको अनुसन्धान अघि बढाएको छ । निकारागुवाबाट पानामा जान लागेको डुंगा पल्टिएको हो । ‘अवैध बाटो हुँदै अमेरिका जान लाग्दा उनीहरू चढेको डुंगा पल्टिएर बेपत्ता भएको भन्ने सूचना पाएका छौँ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी दानबहादुर मल्लले भने, ‘हामीले परिवारसँग सम्पर्क गर्ने प्रयास गरी अनुसन्धान थालेका छौँ ।’ स्रोतका अनुसार मानवतस्करीमा संलग्न गिरोहले पीडितका परिवारलाई प्रहरीमा नजान दबाब र प्रभाव पारिरहेका छन् । मानव बेचबिखन मुद्दामा जाहेरी नपरी अनुसन्धान अघि बढाउन कठिन हुने प्रहरी अधिकारी बताउँछन् । दक्षिण अमेरिकी देशबाट पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला, मेक्सिको हुँदै महिनौँ लगाएर नेपालीको अमेरिकामा मानवतस्करी हुने गरेको छ । जंगल तथा समुद्रको बाटो ज्यानको जोखिम मोलेर यसरी हुने मानवतस्करीमा कतिपयले बाटैमा ज्यान गुमाउने गरेका छन् । स्रोतका अनुसार कतिपय अवस्थामा अमेरिका लैजान नसक्ने अवस्था आएपछि नियोजित रूपमा डुंगा पल्टाएरसमेत बेपत्ता बनाउने प्रवृत्ति छ । यसरी अवैध रूपमा अमेरिका लैजान ५० लाख रुपैयाँसम्म लेनदेन हुने गरेको प्रहरीको विगतका अनुसन्धानले देखाएका छन् ।

Published on: 7 November 2022 | Naya Patrika

Link

Back to list

;