s

भिजिट भिसामा मानव तस्करी भएको आशंकामा गृहद्वारा छानबिन सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै ठूलो संख्यामा युवा–युवती भिजिट भिसाबाट खाडी देशमा गएको पाइएपछि छानबिन सुरु गरिएको हो । 

गृह मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा अध्यागमन विभागका निर्देशक चुणा न्यौपानेलगायत सदस्य छन् । मानव तस्करी गिरोहसँगै मिलेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा सहजै जान दिएको सूचनाका आधारमा छानबिन थालिएको मन्त्रालय स्रोतले जनाएको छ । 

‘खासगरी रातिको उडानमार्फत ठूलो संख्यामा नेपाली युएई र कतार गएको देखियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रारम्भिक छानबिनमा केही कर्मचारीको मिलेमतो देखिएको छ ।’ अध्यागमन विभागले सेटिङमा संलग्न भएको आशंकामा केही कर्मचारीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइसकेको छ ।

स्रोतका अनुसार विमानस्थलस्थित अध्यागमन प्रमुख गौलोचन सैँजूलाई समेत छानबिनको दायरामा ल्याइएको छ । गैंजूले भने अध्यागमनबाट कुनै गल्ती नभएको दाबी गरे । ‘तोकेको कागजपत्र देखाएपछि हामीले जान दिनैप¥यो,’ उनले भने, ‘शंकास्पद लागेकालाई हामीले दैनिक रूपमा फर्काइरहेका पनि छौँ ।’

गृह स्रोतका अनुसार सेटिङकै कारण अध्यागमन र प्रहरीबीच समेत विवाद भएको थियो । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीको सबै विवरण संकलन गरिसकेको छ । खासगरी दुबईमा ठूलो संख्यामा नेपाली गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको छ ।

भिजिट भिसामा मानव तस्करी गरिरहेको आशंकामा वैदेशिक रोजगार विभागले पनि शुक्रबार केही मेनपावर कम्पनीमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

Published on: 5 December 2020 | Nayapatrika

Link

Back to list

;