s

भिजिट भिसामा मानव तस्करी

नवराज मैनाली

 

भिजिट भिसाबाट रोजगारीका लागि खाडी देश जान लागेका २६ नेपाली महिला १० महिनादेखि श्रीलंकाको जेलमा थुनिएका छन् । ३६ जना श्रीलंकामा पक्राउ परेकोमा १० जनाको भने उद्धार भएको छ ।

दलालको पछि लागेर उनीहरू भारत हुँदै श्रीलंकाबाट कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमान जान खोजेका थिए । कोरोना महामारीका कारण कुवेतमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनीहरू श्रीलंकामै अलपत्र परेका थिए । मानव तस्करी गिरोहमा आबद्ध श्रीलंकन नागरिकले नै उनीहरूलाई बन्धक बनाएर आफ्नो घरमा राखेका थिए । उनीहरूको १२ दिनको भिसा सकिएको थाहा पाएपछि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । अध्यागमनसम्बन्धी कसुर र झगडा गरेको अभियोगमा त्यहाँको प्रहरीले उनीहरूलाई थुनामा राखेको हो ।

त्यसरी थुनामा परेकामध्ये १० जनालाई हालै उद्धार गरिएको छ । जेलबाट छुटेकालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो । ‘अन्यको हकमा मुद्दा टुंगो नलागी नेपाल ल्याउन सम्भव भएन,’ महिला मन्त्रालयका उपसचिव गोमा ढकाल पौडेल भन्छिन्, ‘हामीले त्यहाँको नेपाली दूतावाससँग समन्वय गरिरहेका छौँ ।’ ३६ जनामध्ये ३० जना एकपटक तथा अन्य ६ जना पछि गएका थिए । नेपाल र भारतबाट भिजिट भिसामा खाडी देश जान कडाइ भएकाले मानव तस्कर समूहले उनीहरूलाई श्रीलंका हुँदै कुवेत लैजान खोजेको थियो । नेपाल फर्किएकामध्ये तीनजनाले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । अन्यले जाहेरी दिन मानेका छैनन् । फर्किएकालाई माइती नेपाल र शक्ति समूहले सहयोग गरिराखेको छ ।

अन्तर्राष्ट्रिय गिरोह

भिजिट भिसामा श्रीलंका हुँदै मानव तस्करीमा कम्तीमा चार देशमा एजेन्टहरू रहेको प्रहरीले जनाएको छ । नेपालबाट मान्छे खोज्ने, भारतमा लगेर राख्ने र श्रीलंका पठाउने, श्रीलंकामा राख्ने र त्यहाँबाट कुवेत, ओमान तथा संयुक्त अरब इमिरेट्स पठाउने छुट्टा–छुट्टै समूह छन् । गिरोहका नाइकेहरू भने युएईमा रहेको अनुसन्धानमा देखिन्छ । पीडितहरूलाई सहयोग गरिरहेको शक्ति समूहका अधिवक्ता दिलीप कोइरालाका अनुसार उनीहरूको शक्तिशाली समूह छ । ‘विश्वासमा पार्न केही दलालले समूहमा आफ्नै आफन्तलाई समेत राख्ने गरेको देखिन्छ,’ उनले भने, ‘निकै संगठित तरिकाले उनीहरूले धन्दा चलाइरहेका छन् ।’ धेरैजसोलाई उनीहरूले बाँकेको नाकाबाट भारत लैजाने गरेको अनुसन्धानमा देखिएको छ । नयाँदिल्लीस्थित विमानस्थलबाट तेस्रो देश जान नेपालीलाई ‘नो अब्जेक्सन लेटर’ चाहिन्छ । त्यही कारण उनीहरूलाई मुम्बईको एयरपोर्टबाट श्रीलंका पठाइएको थियो ।  

गिरोहका दुईजना पक्राउ

प्रहरीले श्रीलंका हुँदै नेपाली महिलालाई खाडी देशमा तस्करी गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकी कमला भेटवाल भनिने पाकिजा प्याकुरेल र बर्दियाका खेमबहादुर सुवेदी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । प्याकुरेलकी दिदी दुबईमा बसेर गिरोह चलाउँदै आएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

एक महिलालाई दुबईको ब्युटीपार्लरमा लगेर जागिर लगाइदिने भन्दै उनले श्रीलंकासम्म पु¥याएकी थिइन् । त्यसका लागि पीडितले एक लाख आठ हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यो पैसा तस्करी समूहले नै लिएको थियो । श्रीलंकाको निगम्बु जेलमा उनी नौ महिना बसेर फर्किएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुवेदीले पनि बर्दियाकी एक महिलालाई श्रीलंका पु¥याएका थिए । ‘यसरी श्रीलंका पु¥याउने गिरोह ठूलै देखिन्छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोकी एसएसपी दुर्गासिंह चन्द भन्छिन्, ‘दुईजना पक्राउ परिसकेका छन्, अन्यमाथि अनुसन्धान भइरहेको छ ।’ यसरी खाडी देश पु¥याइएका महिलाहरू बेचबिखनमा पर्ने गरेका छन् । न्यूनतम सुविधा दिएर उनीहरूलाई घरमै बन्धक बनाई शोषण हुने गरेका घटना विगतमा देखिएका छन् ।

लकडाउनकै अवधिमा समेत नेपालबाट भारतमा युवतीको तस्करी भएको खुलेको छ । भारतका कोठीमा पु¥याइएका केही महिलाले उद्धारका लागि आग्रह गरेका छन् । स्रोतका अनुसार नयाँदिल्लीका अपार्टमेन्टमा लगेर उनीहरूलाई बन्धक बनाई यौनधन्दामा लगाइएको छ । उनीहरूको उद्धारका लागि नेपाली दूतावासले पहल थालेको छ ।

बेलायत पठाउने भन्दै ६३ पूर्वसैनिकबाट पाँच करोड ठगी

सेक्युरिटीको जागिरमा बेलायत पठाउने भन्दै पूर्वसैनिकहरूसँग पाँच करोडभन्दा धेरै ठगी भएको छ । झापाकी सिर्जना अधिकारीलगायतले यसरी ठगी गरेका हुन् । वैदेशिक रोजगार विभागले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । अधिकारीसहित श्याम थापा र सन्तोष थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अधिकारीले तीनजुरे इम्ल्पोइमेन्ट सर्भिस नामक मेनपावरको आडमा ठगी गरेको पीडितहरूले बताएका छन् । मेनपावारकै कार्यालयमा बोलाएर आफूहरूसँग पैसा लिइएको पीडितमध्ये एक निराजन थापाले बताए । ‘उनीहरूलाई पक्राउ गर्न धेरै प्रहरी कार्यालय धायौँ,’ उनले भने, ‘सुरुमा प्रहरीले चासो दिएन, पछि पक्राउ पुर्जी जारी भएपछि उनीहरू भागे ।’ सो मेनपावरमाथि वैदेशिक रोजगार विभागले कारबाही थालेको छ ।

दुबईमा गएर तालिम लिने र त्यहाँबाट बेलायत पठाउने पूर्वसैनिकहरूसँग प्रतिव्यक्ति १० लाख रुपैयाँ लिइएको थियो । आफूहरूलाई भिजिट भिसामा दुबई पठाइएको र केही दिन तालिम दिएको जस्तो गरी अलपत्र पारिएको उनीहरूको भनाइ छ । केहीलाई दुबईमै कुटपिटसमेत भएको थियो । दुबईमा श्याम थापा र सन्तोष थापाले केही पीडितसँग थप पैसा लिएका थिए । नक्कली कम्पनी खडा गरी जब अफर लेटर दिएर झुक्याइएकोसमेत पीडितको भनाइ छ ।

Published on: 19 February 2021 | Nayapatrika

Link

Back to list

;