s

भिजिट भिसामा मानव तस्करी

विभिन्न ‘म्यानपावर कन्सल्टेन्सी’ले नक्कली कागजात बनाई अध्यागमन विभाग र एयरलाइन्सका कर्मचारीको सहयोगबाट मानव तस्करी गर्दै आएको रहस्य खुलेको छ।

उपत्यका प्रहरी अनुसन्धान कार्यालयले अध्यागमन विभागमा कार्यरत अधिकृत र नेपाल वायु सेवा निगममा कार्यरत छैटौं तहका अधिकृतलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

प्रहरीले भिजिट भिसामार्फत मानव तस्करी गरेको विषयमा अनुसन्धान गरेर ३२ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाकै बयानका आधारमा अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का र निगममा कार्यरत छैटौं तहका अधिकृत होमनाथ पोखरेल पक्राउ परेपछि सरकारी कर्मचारीकै संलग्नतामा नक्कली कागजात र भिजिट भिसामा सोझासाझा नागरिकलाई विदेश पठाउने गरेको खुलेको हो।

बुधबार अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरूलाई पक्राउ गरेको जानकारी दिँदै थप अनुसन्धान भइरहेको बताए। ‘हामीले केही सरकारी कर्मचारी पनि पक्राउ गरेका छौँ। पक्राउ पर्ने ३२ जना छन्। उनीहरूमाथि अनुसन्धान जारी छ,’ राठौरले भने।

उनका अनुसार एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयमा सेटिङ गरी भिजिट भिसामा युवालाई विदेश पठाउन सहयोग गरेका थिए। रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा विदेश पठाउने गरिएको प्रहरीको भनाइ छ। त्यसरी मिलेमतोमा उनीहरूलाई विदेश पठाएबापत खनालबाट मात्रै २० लाख रूपैयाँ पोखरेलले लिएको जनाइएको छ।

Published on: 14 December 2023 | Nagarik

Link

Back to list

;