s

भिजिट भिसामा दुबई पठाउने भन्दै सामाजिक सञ्जालको पेजमा राख्थे, पूर्वप्रहरीदेखि सेनासम्म 'टार्गेट ग्रुप'

प्रहरीले ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपालबाट दुबई पठाएर ठगी गरेको आरोपमा पाँच जनालाई नेपालको विभिन्न स्थानबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

पक्राउ पर्नेमा लम्जुङ राईनास नगरपालिका-३ का ४७ वर्षीय मधुबिलास बाँस्कोटा, सोलुखुम्बु दूधकुण्ड नगरपालिका-८ का ५४ वर्षीय होमबहादुर खड्का र कागेश्वरी मनोहरा नगरपालिका-७ का ३५ वर्षीया रंजना ढकाल प्याकुरेल छन्।

यस्तै, रूपन्देही देवदह नगरपालिका-५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा नगरपालिका-७ का ४० वर्षीय सन्तोष प्याकुरेल पनि छन्।

अहिले पक्राउ परेका व्यक्तिहरू विभिन्न भूमिकामा काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक थापाले बताए।

‘होमबहादुर वैदेशिक रोजगारमा जाने व्यक्तिको खोजी गर्ने मध्येका मुख्य योजनाकार हुन्। उनी पीडितहरूको कागजात संकलन गर्ने र अन्तर्वार्ताका लागि तयारी गराउने गर्दा रहेछन्,’ प्रहरी उपरीक्षक थापाले भने, ‘त्यस्तै रन्जनाले आर्थिक कारोबार हेर्ने गरेको खुलेको छ।’

यस्तै राजु, मधुबिलास र सन्तोष वैदेशिक रोजगारमा जाने व्यक्तिको खोजी गर्ने र सो कार्यबाट कमिसन लिने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए।

‘अहिले जम्मा ५ जनामात्र पक्राउ परेका छन्,’ प्रहरी उपरीक्षक थापाले भने, ‘मुख्य प्रतिवादी कोमलराज उपाध्याय फरार छन्।’

कोमलराज उपाध्याय दुबईस्थित त्रिनेत्रा म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीका संचालक हुन्। उनी यस गिरोहका मुख्य प्रतिवादी भएको प्रहरी उपरीक्षक थापाले बताए।

‘उपाध्याय विदेशमा नै लुकेर बसेका छन्,’ उनले भने, ‘उनको खोजी कार्य भइरहेको छ।’यस ठगी गर्ने गिरोहमा ३१ जना संलग्न रहेको उनले बताए।

दुबईमा रहेको कन्सल्टेन्सीले आर्मस गार्डमा ५ सय जनाको भ्याकेन्सी खुलेको भन्दै पीडितहरूलाई तीन हजार दिरामसम्म तलब पाउने भन्दै ठगी गरेको प्रहरी उपरीक्षक थापाले बताए।

उनीहरूले पीडितलाई नेपालबाट भिजिट भिसामा दुबई पठाएर काम लगाउने भन्दै ठगी गरेको पाइएको छ।

त्यस गिरोह समूहले पीडितसँग प्रतिव्यक्ति ३ लाख ५० हजार देखि ८ लाख रुपैयाँसम्म ठगी गरेको आरोप छ।

‘उनीहरूले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाएर विज्ञापन राख्ने गर्छन्,’ उनले भने, ‘सोही सामाजिक सञ्जालको पेजमा मोबाइल नम्बर राख्दै जान चाहनेले सम्पर्क गर्नु भन्ने जस्ता भ्रामक सूचना प्रवाह गर्ने गर्दा रहेछन्।’

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित विभिन्न संस्थाहरूको सहयोग तथा सहकार्यमा पीडित व्यक्तिहरू नेपाल फिर्ता ल्याइएको छ।

ब्युरोका अनुसार ७६ जना पीडितबाट जम्मा दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी गरेको आरोप छ। पीडितको संख्या अझ धेरै हुन सक्ने उनको आशंका छ।

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडिबसेका र सर्वसाधारण व्यक्तिहरूलाई समेत विभिन्न समयमा भिजिट भिसामा दुबई पुर्‍याएर बिचल्ली बनाउने गरेका छन्।

सो कार्यपश्चात् उनीहरू फरार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

‘अहिलेसम्म ७६ जना पीडित व्यक्तिहरूले ४५ वटा जाहेरी दर्ता गर्नुभएको छ,’ उनले भने, ‘यस्ता पीडित अझ धेरै हुनुपर्छ। हामीले अन्य यस्तै पीडित भए सम्पर्कमा आउन पनि आग्रह गरेका छौं।’

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ।

Published on: 31 May 2022 | Setopati

Link

Back to list

;