s

भिजिट भिसामा विदेश जाँदा श्रम तथा रोजगारको प्रलोभनमा नपर्नू: गृह मन्त्रालय

गृह मन्त्रालयले भ्रमण भिसाको प्रयोग गरी विदेश गएर श्रम तथा रोजगारको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।

बुधबार मन्त्रालयका सहसचिव तथा प्रवक्‍ता फणिन्द्रमणी पोखरेलले विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो।

‘भिजिट भिसामा विदेशमा जानेहरूले पर्यटकको रूपमा मात्र प्रयोग गर्नुहुन र विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न यस मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइहरू भोगिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ। भिजिट भिसामा विदेश गएर काम गर्ने गरेको हुँदा अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयको भनाई छ।

‘भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ,’ मन्त्रालयले भनेको छ।

यसरी समस्यामा परेका मानिसहरूको उद्धार गरी फिर्ता ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत कुनै कानुनी आधार नरहेको हुँदा त्यस्ता व्यक्तिहरू झन् कठिनाइमा पर्ने मन्त्रालयले बताएको छ।

त्यसैले विदेशमा रोजगारीका लागि जाँदा सम्बन्धित निकायबाट कानुन बमोजिम श्रम स्वीकृत लगायत प्रक्रिया पूरा गरेरमात्रै जान अनुरोध गरेको छ।

Published on: 28 July 2022 | Setopati

Link

Back to list

;