s

भिजिट भिसामा विदेश : एकै दिन विमानस्थलबाट ४५ जना फर्काइए

शंकास्पद कागजपत्र बोकेर भिजिट भिसामा विदेश जान लागेका ४५ जनालाई एकै दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । मंगलबार ३० जना महिला र १५ जना पुरुषलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट फर्काएको हो ।

मानव बेचबिखनको जोखिममा देखिएकाहरूलाई फर्काएको ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए । फर्काइएकामध्ये धेरैजसो संयुक्त अरब इमिरेट्स, कुवेत र ओमान जान लागेका छन् ।

ती देशको कुन ठाउँमा जाने, कहाँ बस्नेजस्ता सामान्य विषयमा पनि उनीहरूलाई जानकारी थिएन । भिजिट भिसामा मानव तस्करी गर्ने समूहले त्यसरी खाडीमा पठाउन खोजेको प्रहरी आशंका छ ।

यसरी भिजिट भिसामा जान खोज्नेमध्ये कतिपयसँग नक्कली श्रम स्वीकृतिसमेत फेलापर्ने गरेको छ । तर, पीडितहरूले एजेन्टविरुद्ध उजुरी नदिने गरेका कारण प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । पीडितले उजुरी नदिई मानव बेचबिखन मुद्दामा अनुसन्धान गर्न नमिल्ने प्रावधान छ ।

जेठमा मात्र ब्युरोले भिजिट भिसामा जान लागेका नौ सय ४० जनालाई विमानस्थलबाट फर्काइसकेको छ । जसमा पाँच सय ४८ जना महिला छन् । खाडी देशमा घरेलु कामदारका रूपमा महिलालाई प्रतिबन्ध भएकाले उनीहरूलाई भिजिट भिसामा लगेर त्यहाँ काममा लगाउने गरिन्छ ।

काममा लगाउनुअघि उनीहरूको त्यहाँ बेचबिखन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । त्यसरी बेचिएर समस्यामा परेका महिलाको पटक–पटक उद्धार हुँदै आएको छ ।

भिजिट भिसामा हुने मानव बेचबिखन रोक्नकै लागि आफूहरूले शंकास्पदहरूलाई पहिले नै रोक्दै आएको ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् । खाडी मात्र नभई सर्बियाजस्ता देशमा समेत कतिपय महिला भिजिट भिसामा जान खोज्ने क्रममा रोकिएका छन् ।

विगतमा भएका कतिपय छानबिनमा एयरलाइन्स र अध्यागमन कर्मचारीकै मिलेमतोमा समेत भिजिट भिसामा मानवतस्करी हुँदै आएको भेटिएको थियो । गृह मन्त्रालयले नै गरेको छानबिनमा यस्तो पुष्टि भए पनि कर्मचारीमाथि भने कारबाही हुन सकेन ।

अहिले पनि अध्यागमनमा भिजिट भिसाको लाइन चलिरहेको स्रोत बताउँछ । ‘यहाँ दरबन्दीभन्दा धेरै कर्मचारी कार्यरत छन्,’ अध्यागमनका एक कर्मचारी भन्छन्, ‘सायद केही आकर्षण भएरै यसरी धेरै पावर लगाएर आएको हुनुपर्छ ।’

पोर्चुगलमा मानवतस्करी, १७ जना बेलारुसमा अलपत्र

मानवतस्करीमा संलग्न समूहले १७ जना नेपालीलाई पोर्चुगलमा पु¥याएर अलपत्र बनाएको छ । दुबईबाट रसिया हुँदै बेलारुस पुगेका उनीहरूले उद्धारका लागि आग्रह गरेका छन् । पोर्चुगल पठाउने नाममा मानवतस्करीका घटना बढेको प्रहरी अधिकारी बताउँछन् ।

पोर्चुगलमा आप्रवासीलाई सहज नियम भएकाले अवैध बाटोबाट त्यहाँ लैजाने भन्दै ठगी र मानवतस्करी हुने गरेको छ । पछिल्लो समय रुस हुँदै पोर्चुगल पठाउने धन्दा बढेको र धेरैजना बाटोमै अलपत्र पर्ने गरेको प्रहरीले जनाएको छ ।

Published on: 15 June 2023 | Naya Patrika

Link

Back to list

;