s

भिजिट भिसालाई सहज बनाउने तयारी, केही दिनभित्रै नयाँ कार्यविधि लागू हुने

भिजिट भिसाको झन्झटिलो प्रक्रियाले बिचौलियाको सेटिङ बढेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले यसलाई सहज बनाउने तयारी गरेको छ । भिजिट भिसामा विदेश जानेलाई हाल लागू गरिएको १७बुँदे मापदण्डलाई खारेज गरी केही दिनमै नयाँ कार्यविधि लागू गर्न लागिएको छ ।

नयाँ कार्यविधिलाई टुंगो लगाउन बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बैठक बसेको छ । श्रममन्त्री शरत्सिंह भण्डारी, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीबीच भएको छलफलमा अहिलेको प्रावधानले समस्या बढाएको निष्कर्ष निकालिएको छ । भिजिट भिसाको विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संगठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृहले खुकुलो मापदण्ड बनाई यसमा सुधारको प्रयास गरेको छ ।

अध्यागमन विभागले १७बुँदे खारेज गरी सातबुँदे कार्यविधि लागू गर्ने प्रस्ताव गरेको छ । भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्डको प्रस्ताव गरिएको अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन गरी गृह मन्त्रालयले केही दिनभित्रै स्वीकृत गरी कार्यान्वयन गर्न लागेको छ ।

अध्यागमन र एयरलाइन्सका कर्मचारीसँग सेटिङ गरी हजारौँ नेपालीलाई खाडी देशमा पुर्‍याइएको हालैको प्रहरी अनुसन्धानमा खुलेको छ । दिनमा दुई सयभन्दा धेरै वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जाने र अध्यागमनमा प्रतिव्यक्ति औसतमा ५० हजार रुपैयाँ घुस लेनदेन हुने गरेको अनुसन्धानले देखाएको छ । जसमा अध्यागमन अधिकृत नरवीर खड्कासमेत पक्राउ परेका छन् । अध्यागमनमा काम गरेका अधिकृत ताराबहादुर कुँवर फरार छन् भने अन्य केही कर्मचारीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । संगठित रूपमै अध्यागमनमा बिचौलियाले सेटिङ मिलाएको प्रहरीको दाबी छ ।

दुई वर्षअघि पनि भिजिट भिसामा मानवतस्करी भएको खुलेपछि गृह मन्त्रालयले एक अध्ययन कार्यदल बनाएको थियो । सोही कार्यदलको सिफारिसमा २७ फागुन ०७८ देखि १७बुँदे मापदण्ड बनाएर लागू गरेको थियो । नयाँ कार्यविधि नबनेसम्मका लागि भनेर अस्थायी रूपमा सो मापदण्ड लागू गरिएको थियो । तर, अहिलेसम्म स्वार्थी समूहको चलखेलले नयाँ कार्यविधि बन्न सकेको छैन । सोही १७बुँदेलाई आधार बनाएर अध्यागमनले काम गर्दै आएको छ ।

जसमा १२ कक्षा अध्ययन गरेका र वार्षिक ५ लाख आय भएकालाई भिजिट भिसामा जान दिइने उल्लेख छ । सोही कारण नक्कली शैक्षिक प्रमाणपत्र तथा बैंक स्टेटमेन्ट बनाएर मानवतस्करी मौलाएको हो । यो प्रावधानका कारण भिजिट भिसामा विदेश जानेले बिचौलिया समूहलाई मोटो रकम बुझाउनुपरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

नक्कली भिसामा श्रम स्वीकृति एकै दिन ५७ जना विमानस्थलबाट फर्काइए

खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ । नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन् ।

मंगलबार नक्कली भिसामा कुवेत जान लागेका केही महिलालाई अध्यागमन विभागले फर्काइदिएको छ । उनीहरूको भिसा नै नक्कली रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए । ‘वैैदेशिक रोजगार कार्यालयका साथीहरूसँग नक्कली भिसा हेर्ने सिस्टम नभएर पनि यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘यस विषयमा हामीले छानबिनका लागि पत्राचार गरेका छौँ ।’ यसमा मेनपावर कम्पनीको समेत मिलेमतो देखिएको छ । खाडी देशमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध भएकाले यसरी नक्कली श्रम भिसामा पठाई मानवतस्करी हुने गरेको हो ।

अध्यागमनले मंगलबार मात्र खाडी जान लागेका ५७ जनालाई फर्काइदिएको छ । प्रहरीले अध्यागमन अधिकृतसहितका गिरोहलाई पक्राउ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या पनि घटेको छ ।

Published on: 12 January 2024 | Naya Patrika

Link

Back to list

;