s

भिजिट भिसाको सेटिङ : नौ कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

अध्यागमन कार्यालयको मिलेमतोमा संगठित रूपमा भएको भिजिट भिसासम्बन्धी ‘सेटिङ’को प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ । नौ अध्यागमन कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । १० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

फरारमध्ये आठजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयका अध्यागमन अधिकृत छन् । प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्का र अन्य नौ बिचौलियालाई पक्राउ गरिसकेको छ । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी पनि प्रहरी थुनामा छन् ।

अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन् । ९ माघमा अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेकाउपर अनुसन्धान पूरा गरी लिखत किर्ते तथा संगठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको परिसरका प्रहरी नायब उपरीक्षक(डिएसपी) अंगुर जिसीले बताए ।

त्यस्तै, सिनामंगलको बाल्टिन इन होटेलका सञ्चालक केदारबहादुर खड्का पनि गिरोहमा संलग्न रहेको खुलेको छ । बाराकी कौशिला मगर, सोलुखुम्बुकी लक्ष्मी राई, सिन्धुलीकी रीता दमाईँविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेकोमा उनीहरू फरार छन् ।

थुनामा रहेका अधिकृत खड्काको बयान र उनको मोबाइल परीक्षणबाट थप व्यक्तिको संलग्नता खुलेको हो । सुरुमा आफूलाई अधिकृत ताराबहादुर कुँवरले सेटिङ गिरोहसँग आबद्ध गराइदिएको र सबै कर्मचारी मिलेरै सेटिङ चल्दै आएको उनले बयान दिएको प्रहरी स्रोत बताउँछ । प्रहरीले खड्कालाई दुई लाख नगदसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धानको क्रममा अध्यागमन डेस्कमा जोसुकै भए पनि सेटिङ चल्ने पुष्टि भएको प्रहरीले जनाएको छ । जसले अध्यागमनमा संगठित रूपमै सेटिङ चल्दै आएको प्रहरी निष्कर्ष छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा दुई महिनाअघि प्रारम्भिक छानबिन गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । अनुसन्धानको क्रममा कर्मचारीलाई प्रतिवादी नबनाउन प्रहरीमाथि दबाब र प्रभाव थियो । गृह मन्त्रालयमा अध्यागमनका अधिकारीलाई नै राखेर प्रहरीले ब्रिफिङ गरेपछि अनुसन्धान अघि बढेको हो । त्यसविरुद्ध कर्मचारीले भने कामसमेत रोकेर विरोध गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनयता बढेको प्रहरी र अध्यागमन टकरावको एउटा कारण पनि यही भएको स्रोत बताउँछ । प्रहरीले प्रतिवादी बनाउन सिफारिस गरे पनि सरकारी वकिलमार्फत कर्मचारीलाई जोगाउन अझै प्रयास जारी छ ।

Published on: 29 January 2024 | Naya Patrika

Link

Back to list

;