s

भिजिट भिसाको नाममा बेचबिखन, आफन्तबाटै बेचिन्छन् धेरै

मुकुन्द गैरे, दृश्य– मनोजरत्न शाही

काठमाडौं, चैत्र १० गते । भिजिट भिसाको नाममा नेपाली ठगिने घटना बढ्दै गएको तथ्याङ्क बाहिर आएको छ ।प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान व्यूरोले भिजिट भिसामा लगेर दलालहरुले विदेशमा नेपालीलाई अलपत्र पार्ने गरेको घटना बढेको बताएको हो । मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता अनुरागकुमार द्विबेदीका अनुसार भिजिट भिसा लगाएर विभिन्न मुलुक लैजान खोज्ने वा पैसा लिएर बीच बाटोमै अलपत्र पार्ने गरेको उजुरी आउने गरेको बताउनुभयो ।

यस्ता किसिमका गिरोहमाथि निगरानी बढाए पनि मानव तस्करी धन्दा नरोकिएको उहाँ बताउनुहुन्छ । नेपालको विमानस्थलमा कडाइ हुँदा भारतको नाका हुँदै अन्य तेस्रो मुलुकमा महिला पु–याउने गरेको उजुरी आउने गरेको उहाँ बताउनुहुन्छ । नेपालबाट भारत जाने ठाउँमा २४० चेकपोष्ट भए पनि झुक्काएर अन्य कुनै माध्यम प्रयोग गरेर छिर्ने गरेको पाइएको छ । प्रहरीले चेकजाँचलाई कडाइ नै गरे पनि खुल्ला सिमाना भएको कारण पूर्णरुपमा रोक्न नसकिएको अनुसन्धान व्यूरोको भनाइ छ । 

धेरै महिला बाहिरको मान्छेबाट भन्दा पनि नजिकको आफन्तबाटै ठगिनेदेखि बेचिने गरेको अनुसन्धान व्यूरोको अनुसन्धानले देखाउँछ । धेरै महिला आफ्नो आर्थिकस्थिति कमजोर भएकै कारण उनीहरुमाथि फाईदा लिन त्यस्ता गिरोह लाग्ने गरेको उहाँ बताउनुहुन्छ । गरिबी, रोजगारका अवसर कम हुनु, घरेलु हिंसाका कारण मानव बेचबिखनका मुख्य कारण रहेको व्यूरोको भनाइ छ । त्यसैगरी, जताततै आपराधिक संजालको दलदलको अवस्था रहेकोमा महिलाको सचेतनामा कमी हुनाका कारण ठगिने गरेको व्यूरोको ठहर छ । धेरै लोभलालचका साथ युरोप र अमेरिका छिर्न खोज्नाले पनि सजिलै ठगिने गरिएका छन् । 

दलालले आकर्षक लोभ देखाएर अवैधानिक रुपमा भारतमा समेत लगेर अलपत्र पार्ने र पैसा लिएर फरार हुने घटना बढेको प्रहरीको ठम्याइछ । दलालहरु महिलालाई मलेसिया, कुवेत, लेबनान, साउदी अरब, ओमान, युरोप, दक्षिण अफ्रिकालगायत देशमा लगेर अलपत्र र सस्तो मूल्यमा श्रम शोषणदेखि यौन शोषण गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएकोे उहाँ बताउनुहुन्छ । 

यसैगरी, कोरोनाको महामारीकाबीच पनि महिलाको उद्वार गरिएको अनुसन्धान व्यूरोको तथ्याङ्कले देखाउँछ । भारत, कुवेत, कीर्गिस्तान, इराक, लिबिया, ग्रीस, केन्या, इन्डोनेसिया, मालवि, म्यानमारलगायत मुलुकबाट उद्वार गरिएको छ । व्यूरोका अनुसार आ.व २०७५ देखि ०७७/०७८ फागुनसम्म मानव बेचबिखनमा संलग्नको आरोपमा ४८२ जना अभियुक्तलाई मुद्दा दायर गरेको छ । सो अवधिमा ६३७ जनालाई मानव बेचबिखनमा संलग्नको आरोपमा पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा ४५१ पुरुष रहेकोमा १८६ जना महिला रहेका छन् भने ३२८ पुरुष र १०१ जना महिला आरोपित फरार रहेको व्यूरोले जानकारी दिएको छ । तीन वर्षको अवधिमा ६४४ जना महिला र पुरुष पीडित रहेका छन् । पुरुष भन्दा महिला बढी संख्यामा पिडित रहेको पाइएको छ । सो अवधिमा पाँच सय ५७ जना महिला पीडित रहेको पाइएको छ भने ८७ जना पुरुष ठगिएको पाइएको व्यूरोको भनाइ छ । यो आर्थिक वर्षको फागुन महिनासम्म १२४ जना पीडित रहेको व्यूरोले बताएको छ ।

Published on: 24 March 2021 | Gorkhapatra

Link

Back to list

;