s

भिजिट भिसामा थप कडाइ

तुलसी सुवेदी

 

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ।

काठमाडौं : भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। 

भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ। 

चप्पल लगाएर पनि भिजिटका नाममा विदेशमा गई बिचल्ली पर्ने गरेको देखिएकाले यस्तो प्रावधान राखिएको गृह मन्त्रालयका प्रवक्ता एवं कार्यदल संयोजक फणीन्द्रमणि पोखरेलले बताए। ‘जतिसक्दो छिटो कार्यविधि बनाएर भिजिटमा जानेमाथि कडाइ हुन्छ’, प्रवक्ता पोखरेलले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यागमन विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै कार्यविधि बनाउने भएका छन्। 

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ। वैदेशिक रोजगारमा श्रमस्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो। वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ। अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ। 

‘भिजिट भिसा व्यवस्थित गर्न यस्तो मापदण्ड ल्याएका हौं’, पोखरेलले भने, ‘मानव तस्करले उनीहरूलाई प्रयोग गरी नगद देखाउन पनि सक्छन्, चनाखो हुनुपर्छ।’ पैसा नभएको व्यक्ति भिजिटमा जानु उचित नहुने भएकाले कडाइ गरिएको उनले बताए। 

बैंक खातामा ५ लाख नगद चाहिने

वार्षिक आम्दानी

१० लाख हुनुपर्ने

होटल बुकिङ र हवाई टिकट दुईतर्फी आवश्यक

विदेश यात्राको अभिलेख भएकालाई कडाइ नगरिने

अंग्रेजी वा गन्तव्य मुलुकको भाषा जाने सहजै भिसा

स्थानीय तह तथा सामी परियोजनामार्फत वैदेशिक रोजगारबारे जनचेतना फैलाएर तस्करी रोक्न सकिने प्रतिवेदनमा उल्लेख छ। ‘भिजिटमा गएर श्रम गर्नु उचित हुँदैन। स्थानीय तह र सामी परियोजनामार्फत भन्न सक्नुपर्छ’, उनले भने। 

खाडी मुलुक र मलेसियामा टुर प्याकेजमा पठाउँदा ट्राभल एजेन्सीले फर्काउने प्रतिबद्धता लिनुपर्ने भएको छ। विदेश यात्राको अभिलेख भएकालाई भने कुनै कडाइ नगरिने भएको छ। न्यूनतम २ वर्षभन्दा बढी समय विदेशमा बसेका र अंग्रेजी वा गन्तव्य मुलुकको भाषा भएकाले भने सहजै भिसा पाउनेछन्। होटल बुकिङ भएको हुनुपर्ने र हवाई टिकटसमेत दुई तर्फी हुनुपर्ने व्यवस्था गरिएको छ।

भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागू गर्ने जनाइएको छ। श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउन पनि भनिएको छ। भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति–संस्थालाई कानुनी दायरामा ल्याई जिम्मेबार बनाउन कार्यदलको सुझाव छ। अध्यागमन विभागले शंकास्पद भ्रमण रद्द गरी अफलोड गर्दै आएको छ। माघ यता २ सयभन्दा बढी व्यक्तिलाई फर्काइएको छ। 

कार्यदलमा संस्कृति मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, अध्यागमन विभागका उपसचिव प्रकाशचन्द्र अधिकारी, र वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी सदस्य थिए।

Published on: 3 March 2022 | Annapurna Post

Link

Back to list

;