s

भिजिट भिसा सेटिङ प्रकरण: अध्यागमनका ८ अधिकृतविरूद्ध पक्राउ पुर्जी जारी

सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहसम्बन्धी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ।

नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालयदेखि वायु सेवा निगम र प्रहरीलाई पनि पक्राउ गरेको थियो।

अनुसन्धानपछि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो। केही दिन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ।

अहिले प्रहरीले १० जनालाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा प्रहरीले अध्यागमनका अधिकृतसहित ११ जनालाई सूचीमा राखेको छ। जसमा ८ जना अध्यागमन अधिकृत छन्।

परिसरको हिरासतमा ट्राभल एजेन्सीका सञ्चालक, नेपाल वायु सेवा निगमका कर्मचारी र अध्यागमन अधिकृत छन्। अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो।

उनीसँगै प्रहरीले वायुसेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेल पनि पक्राउ गरेको थियो।

अध्यागमन अधिकृत खड्‍कामाथि सोधपुछ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अन्य अधिकृतको समेत मिलेमतो रहेको खुलेको थियो। ‘नरवीरले यसमा म मात्रै होइन अन्य थुप्रैको संलग्नता छ भनेपछि अधिकृतहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको हो,’ प्रहरी स्रोतले भन्यो।

अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। पछिल्लो समय नरवीरको नेतृत्वमा उक्त काम भइरहेको स्रोत बताउँछ।

यद्यपि तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवरले भने नरवीरभन्दा अगाडि देखि सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने काम चलिरहेको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ। ‘ताराबहादुरले काम गरिरहेका थिए। उनको गृहमा सरूवा भएपछि नरवीर गए, उनले नै यसलाई निरन्तरता दिए,’ प्रहरी स्रोतले भन्यो।

अहिले पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना बिचौलियाहरू छन्, उनीहरू पनि फरार छन्। विमानस्थलमा कार्यरत अधिकृतहरूले भिजिट भिसामा विदेश पठाउनको लागि प्रति व्यक्ति ४४ देखि ५५ हजारसम्म लिने गरेको अनुसन्धानबाट खुलेको थियो।

कागजपत्रदेखि होटल मिलाएबापत् ट्राभल कम्पनी र कन्सल्टेन्सीले एक जनाबाट १० देखि १५ हजार, निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो।

यसमा संलग्न रहेका एक जना प्रहरीलाई कार्यालयले यसअघि नै पक्राउ गरिसकेको थियो।

गत असोजमा विदेश जान खोजेका धेरै जनाका कागजातहरू नक्कली रहेको खुलेको थियो। नक्कली कागजातहरू बरामद गरी अनुसन्धानका लागि विमानस्थल प्रहरीमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएको थियो।

सुरूमा असोज १७ गते १५१३ वटा कागजातहरू बरामद भई कार्यालयमा पठाएको थियो। त्यसपछि पनि पटकपटक नक्कली कागजातहरू बरामद हुन थालेपछि अनुसन्धान अघि बढाएको थियो।

कार्यालयका डिएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान अघि बढाएको थियो। जसक्रममा अध्यागमन अधिकृत समेतको मिलेमतो खुलेको हो।

Published on: 29 January 2024 | Setopati

Link

Back to list

;