s

भिसाबिना मरिसस जान लागेकालाई रोक

वैदेशिक रोजगारीमा जाने क्रममा देखिएको बेथिती र अव्यवस्थापनलाई अनुगमन एवं कारबाही गर्न गठित द्रुत कार्यदलले शनिबार राति मरिसस जान लागेका १७ जना नेपालीलाई त्रिभुवन विमानस्थलबाट फिर्ता गराएको छ ।

अध्यागमन विभागका महानिर्देशक सुरेश अधिकारीका अनुसार जेट एयरको विमानबाट दिल्ली हुँदै मरिसस जान लागेका उनीहरूको राहदानीमा भिसा लागेको थिएन । 'हामीलाई मरिससमा अन-अराइभल भिसा दिने भनेर लैजान लागिएको हो, अरू कुरा थाहा भएन,' वैदेशिक रोजगारीमा हिँडेका ती कामदारले भने, 'यसअघि पनि हाम्रा साथीभाइहरू त्यहाँ गइसकेका छन् ।'

काठमाडौंको जस्मिन ओभरसिजबाट कागजात मिलाएर उड्न लागेका उनीहरूलाई वैदेशिक रोजगार विभागले श्रम स्टिकर भने लगाएको छ । महानिर्देशक अधिकारीका अनुसार यो प्रकरणमा 'एयरपोर्ट सेटिङ' (कागजात मिलान गर्ने उपाय) समेत भएकाले यसमा छानबिन अघि बढिसकेको छ । उनका अनुसार विगत केही सातामा यसैगरी भिसाविहीन अवस्थामा ५२ नेपाली मरिसस गैसकेको सूचनासमेत पाइएको छ । अन्तर्राष्ट्रिय उड्डयन संगठनको प्रावधान र अध्यागमनको जानकारीमा मरिससमा नेपालीले 'अन-अराइभल भिसा' पाउने गरेका छैनन् । शनिबार अपराह्नको एयरपोर्ट अनुगमनमा परराष्ट्रका सहसचिव नारायणदेव पन्तसहित वैदेशिक रोजगार विभाग, प्रहरी अनुसन्धान ब्युरोका प्रतिनिधिहरू समेत थिए । वैदेशिक रोजगारीमा जाने क्रममा देखिएको बेथिती र अव्यवस्थापनलाई अनुगमन एवं कारबाही गर्न गठित द्रुत कार्यदल (र्‍यापिड एक्सन टास्कफोर्स) ले आइतबार पनि एयरपोर्टमा अनुगमन गर्ने भएको छ ।

Published on: 27 August 2012 | Kantipur

Back to list

;