s

भिसा अवधि सकिएका नेपालीलाई युएईले वैधानिक रूपमै रहन दिने

कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रूपमा फैलिरहेको सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई)ले भिसा अवधि सकिएका नेपालीलाई वैधानिक रूपमै रहन दिने भएको छ ।

युएईमा रहेका नेपालीको निर्धारित उडान रद्द भएको र अवधि सकिएको गुनासा आइरहेकाले युएईस्थित नेपाली दूतावासले युएईका सम्बन्धित निकायहरूसँग समन्वय गरेपछि युएईले वैधानिक रूपमा रहन दिने निर्णय गरेको हो ।

नेपाल र युएई सरकारले जारी गरेका सूचना तथा जानकारीहरू पालना गरी आफूलाई सुरक्षित राख्न र अरूलाई पनि सुरक्षित रहन सहयोग गर्न दूतावासले आग्रहसमेत गरेको छ । त्यस्तै दुवै देशले हाल यात्रुबाहक हवाई उडानहरू बन्द गरेकाले जो जहाँ छन् त्यहीँ सुरक्षित रहन आग्रह पनि गरेको छ ।

युएई सरकारले सार्वजनिक पार्कहरू, सामुद्रिक तटहरू, सपिङ मलहरू बन्द गरेकाले यस्ता स्थानहरूमा अनावश्यक रूपमा नजान दूतावासले आग्रह गरेको छ । त्यस्तै, युएई सरकारले कोभिड–१९ बारे गलत सूचना प्रवाह गर्नेलाई सजायको व्यवस्था गरेकाले सामाजिक सञ्जाललगायतका सञ्चारमाध्यमको प्रयोग गर्दा सावधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।

आफू र आफ्ना साथीहरूलाई कोरोना संक्रमणको शंका लागेमा युएई सरकारले तोकेको स्वास्थ्य जाँच केन्द्रहरूमा गई स्वास्थ्य जाँच गराउन र अन्य केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न सक्ने पनि दूतावासले जनाएको छ ।

Published on: 25 March 2020 | Nayapatrika

Link

Back to list

;