s

भिसा लागेका २ सय पासपोर्ट हराए

दिनेश रेग्मी

साउदी अरबका लागि भिसा लागेका करिब २ सय नेपाली कामदारका पासपोर्ट बंगलादेशबाट काठमाडौं नआउँदै हराएका छन् । हराएका यी पासपोर्ट बिक्री भएको हुनसक्ने पासपोर्ट हराएकामध्ये केही म्यानपावर व्यवसायीकै भनाइ छ । यसमा आधाभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छन् । मेमोरियल ओभरसिजका सञ्चालक लोकप्रसाद अर्यालले बंगलादेशबाट नेपाल ल्याउँदा दुई साताअघि ती पासपोर्ट हराएका हुन् । 'माघ २६ मा ढाकाबाट विमान बंगलादेशमा काठमाडौं आउँदा पासपोर्ट र ड्राइभिङ लाइसेन्स लगेजमा राखेको थिएँ, काठमाडौंमा पाइन' काठमाडौंबाट फेरि ढाका पुगिसकेका अर्यालले कान्तिपुरलाई फोनमा भने, 'विमानका कर्मचारीसँग कुरा गर्दा लस एन्ड फाउन्डमा खोज्न भन्छन्, भेटिँदैन ।'

उनले बंगलादेशको ढाकास्थित साउदी अरबको दूतावासबाट भिसालगाएका आफ्नासहित ९ म्यानपावर एजेन्सीका पासपोर्ट ल्याएका थिए । पासपोर्ट वल्ड वाइड इन्टरनेसनल, केएल इन्टरनेसनल, इक्वेडर, अलसमिट, नबिल, मेरिडियन एसोसिएट, अक्सफोर्ड र फ्रेन्डसीप म्यानवापरका छन् ।

अर्यालले पासपोर्ट हराएको जानकारी वैदेशिक रोजगार व्यवसायी संघबाहेक अन्यत्र गराएका छैनन् । 'संघलाई फ्याक्सबाट जानकारी गराइसकेको छु, वैदेशिक रोजगार विभागमा शुक्रबार र साउदी दूतावासमा आइतबार गराउँछु' उनले भने । अर्यालले एमआरपी र हस्तलिखित पासपोर्ट कति छन् भन्ने एकिन नभएको जनाउँदै सबै गरी १ सय १० जति भिसा लागेका पासपोर्ट, करिब २५ नलागेको र ६० जति ड्राइभिङ लाइसेन्स भएको अनुमान लगाए ।

ह्यान्डब्यागमा नराखेर किन लगेजमा राख्नुभयो भनी सोध्दा उनले पहिलेदेखि नै लगेजमा राखेर ल्याउने गरेको बताए । 'म होस् वा अरू सबैले लगेजमै राख्ने गर्छन्' उनले भने, 'पहिला हराउँदा त भेटिएको थियो, यसपालि भेटिएको छैन ।'

पासपोर्ट पठाउनेमध्येका एक व्यवसायीले हराएको पासपोर्टबाट आफ्ना २ र अर्को म्यानपावरबाट १ गरी ३ जना अरू नै कामदार साउदी पुगिसकेको जनाएको कान्तिपुरलाई बताए । 'सिस्टममा हेर्दा मेरोबाट २ जना र १ जना केएल इन्टरनेसनलबाट साउदी प्रवेश गरेको देखिन्छ,' ढाकामै रहेका वल्ड वाइड इन्टरनेसनका सञ्चालक पुष्ष भण्डारीले भने, 'हराएका पासपोर्ट बिक्री भइसकेको आशंका छ, ।' उनले आफूले पठाएका २१ पासपोर्ट हराएको जनाउँदै साउदी दूतावासलाई जानकारी दिइसकेको बताए । हाल साउदीमा रहेका केएल इन्टरनेसनलका सञ्चालक कमल सापकोटासँग फोन सम्पर्क गर्दा उपलब्ध हुन सकेनन् ।

भण्डारीका अनुसार हराएका पासपोर्टमध्ये करिब ६० प्रतिशत एमआरपी र बाँकी हस्तलिखित छन् । उनले नेपाली पासपोर्टको दुरुपयोग व्यापक बढेको जनाउँदै काठमाडौंमा गिरोह नै लागेको बताए । 'काठमाडौंको गौशाला, बागबजार, नयाँ बसपार्कतिर पासपोर्ट खरिद-बिक्री गर्ने बंगाली छ्यापछ्याप्ती भेटिन्छन्,' उनले भने । व्यवसायीहरूका अनुसार एउटा राहदानी बंगलादेशी दलालले डेढ लाख रुपैयाँमा नेपालीसँग किनेर कामदार (बंगलादेशी) लाई ६ लाख टाका (करिब साढे ६ लाख रुपैयाँ) मा बिक्री गरेको देखिन्छ । खाडीका देश साउदी, कतार, यूएई, ओमन, बहराइन, कुबेतमा नेपाली पासपोर्ट दुरुपायोग गर्दै अन्य देशका नागरिक जाने क्रम यसअघिदेखि नै छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले बंगलादेशीले नेपाली पासपोर्ट दुरुपयोग गर्दै आएको सुनाउँदै यी बिक्री भइसकेको हुन सक्ने अनुमान लगाए । यसै साता बंगलादेशमा आफ्ना कामदारको भिसा लगाएर फर्केका तामाङले नेपाली पासपोर्ट खोसाखोस हुने गरेको समेत सुनाए । 'ढाकाबाट पासपोर्ट जोगाएर ल्याउन गाह्रो भइसकेको छ,' उनले भने, 'बंगालीले विदेशमा हाम्रा पासपोर्ट प्रयोग गरेर गल्ती गर्छन्, अनि हाम्रो बदनाम हुन्छ ।'

परारष्ट्र मन्त्रालय राहदानी विभागका कार्यवाहक प्रमुख यादव खनालले बंगलादेशबाट नेपाल ल्याउन लागेको राहदानी हराएको बारे जानकारी नआएको बताए । 'एकाध रूपमा हराएको जानकारी आउने गरे पनि यति ठूलो संख्यामा आएको छैन,' खनालले भने, 'यसमा केही नियत हुन पनि सक्छ, के कारणले कसरी हरायो यसको खोजी गर्नुपर्छ ।'

Published on: 22 February 2013 | Kantipur

Back to list

;