s

भिडियो कन्फ्रेन्समार्फत परराष्ट्रमन्त्री ज्ञवालीले बुझे विदेशमा रहेका नेपालीको अवस्था

अनलाइनखबर

१२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार विभिन्न देशमा रहेका नेपालीहरुको अवस्थाको जानकारी लिएका छन् ।

मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाका नेपाली नियोगका प्रमुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै मन्त्री ज्ञवालीले कोरोनाको संक्रमण र त्यहाँका नेपालीको अवस्थाको बारे जानकारी लिएका हुन् ।

भिडियो कन्फ्रेन्समार्फत उनले कोभिड-१९ सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, अर्थव्यवस्थामा पार्नसक्ने असर र नेपालीहरूको रोजगारीमा पर्ने प्रभावलगायतका विषयमा छलफल गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय रामेश्वर राय यादवको समेत उपस्थितिमा भएको भिडियो कन्फ्रेन्समा नियोग प्रमुखहरूले सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्‍याइरहेका नियमित र आकस्मिक सेवालगायतका बारेमा जानकारी गराएका थिए ।

मन्त्री नेपालले सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा जानकारी दिएका थिए ।

उनले नियोग प्रमुखहरूलाई सम्बन्धित देशका नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनीहरुको तलब तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउन आग्रह गरे ।

भिडियो कन्फ्रेन्समा श्रम, सामाजिक सुरक्षामन्त्री यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठारो परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले ठूलो भरोसा राखेका हुँदा स्थानीय सरकार एवम् रोजगारदातासँग समन्वय गरेर परिआउने समस्या र चुनौतीहरुको सामना गर्न आग्रह गरे।

छलफलमा परराष्ट्र सचिव श्री शंकरदास बैरागी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री विनोद के.सी. र परराष्ट्र मन्त्रालयका महाशाखा प्रमुखहरुको समेतको सहभागिता रहेको थियो ।

Published on: 25 March 2020 | Onlinekhabar

Link

Back to list

;