s

विभागद्वारा व्यवसायीहरुलाई ठगी रोक्न तालिम

वैदेशिक रोजगार विभागलले वैदेशिक रोजगार व्यवसायीहरुलाई पेसागत तथा व्यावसायिक रूपमा दक्ष बनाई ठगी नियन्त्रण गर्न तालिम दिई रहेको छ ।
 
वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गरे पनि त्यसको प्रभावकारिता कम भएको भन्दै रोजगारीमा पठाउने म्यानपावर व्यवसायका सञ्चालकहरुलाई नै तालिम दिने कार्यक्रम राखिएको विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए ।
 
चालु आर्थिक वर्ष ठूलो संख्यामा नयाँ म्यानपावर दर्ता भई नयाँ व्यवसायीहरु थपिएको कारण व्यवसायीलाई तालिम दिएर देखिएको ठगी नियन्त्रण गरी वैदेशिक रोजगारको जोखिम न्यूनीकरणको प्रयास गरिएको पनि विभागका सूचना अधिकारी रिजालले बताए ।
 
शुक्रबारदेखि शुरु भएको तालिममा विभागका महानिर्देशक भुवनप्रसाद आचार्य, वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका निर्देशक मोहन अधिकारी, विभागका निर्देशक एवं सूचना अधिकारी रिजाल, विभागको उजुरी तथा अनुसन्धान शाखाका निर्देशक रामकुमार थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ, कोषाध्यक्ष राधिका कटुवाल, सदस्य प्रितम थापा मगर लगायतले वैदेशिक रोजगारीमा देखिएका समस्या र ठगी नियन्त्रण लगायतका विषयमा व्यवसायीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।
 
विभागले तालिममा व्यवसायीहरुलाई सहभागी गराइदिन संघलाई समेत आग्रह गरेको थियो । तालिममा सहभागी नयाँ ईजाजतपत्रवाला व्यवसायीहरुले ऐन कानून सम्बन्धमा रहेको अनभिज्ञता हटाई कामगर्न सहज भएको बताए । तालिममा सहभागी प्रायः व्यवसायीहरुले म्यानपावर कम्पनीको धरौटी बृद्धिवारे चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरुले वैदेशिक रोजगार सम्बन्धमा सरकारको धारणा प्रष्ट भएमा आफूहरुलाई सहज हुने समेत धरणा राखेका छन् । तालिम सोमबारसम्म जारी रहने विभागका अधिकृत टंक चौलागाइले जानकारी दिए ।
 
Published on: 15 July 2018 | Madhyanha

Back to list

;